पछिल्लो समय चर्चामा रहेको घरबास (होमस्टे) हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास । उक्त घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
प्राकृतिकरूपमा विधिकिरणका कारण भकुण्डेले विदेशी पर्यटकलाई मोहनी लगाएको छ । घरबासमा पुगेका विदेशी पर्यटकले अर्गानिक खानाका परिकारसँगै हिमाल हेर्न पाउने भएपछि भकुण्डे पुग्ने जो कोही पर्यटकले घरबासको प्रशंसा गरेकै हुन्छन् ।
केही पर्यटक हेलिकप्टरमार्फत घरबासमा आएका छन् । तर पाँच वर्षदेखि नियमित रूपमा भकुण्डे आइरहने विदेशी पर्यटक भने विश्व भेगन अर्गनाइजेसनमा आबद्ध छन् । बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा अहिले यूकेका पाँच जना र अमेरिकाका एक गरी छ जना विदेशी पर्यटक पुगेका छन् ।
उनीहरूले यहाँबाट देखिने हिमालले मोहनी लगाएको प्रतिक्रिया दिएका छन् ।
विदेशी पर्यटक तीन दिन घरबासमै बस्नेछन् । उनीहरूको पहिलो रोजाइ हिमालको दृश्य परेको छ । बिहान उठ्नासाथ आँखै अघिका हिमाल देख्दै अर्गानिक साग, सिस्नु, कोदो र भट्टको परिकार खाँदा छुट्टै आनन्द आएको यूकेदेखि भकुण्डे घुम्न आएका म्यागीले प्रतिक्रिया दिए ।
‘भकुण्डेको तस्वीर र भिडियो देखेकै कारण यहाँ आएको थिएँ, पुराना घर स्वच्छ हरियाली वातावरणमा बसेर हिमाल हेर्दा निकै आनन्द लाग्यो,’ म्यागीले भने, ‘यस ठाउँमा आउने जो कोहीले यो रमाइलो पल बिर्सन सक्दैन होला ।’
विदेशी पाहुनाले घरबास सञ्चालकसँगै कोदो टिप्ने, साग केलाउने र अन्य घरायसी काममा समेत सघाउने गरेका छन् । घरबासमा विदेशी पर्यटकको आठौं समूह लिएर आएको पर्यटन व्यवसायी महादेव शर्माले बताए ।
शर्माले भेगन समूहमा आबद्ध विश्वका पर्यटक एकपटक भकुण्डे आउने चाहना व्यक्त गरेको बताए ।
उनले यहाँबाट देखिने हिमाल, सनराइज र सनसेट, हरियाली वातावरण र सिस्नो, ढिँडो र गुन्द्रुक लगायतको परिकारले पाहुनालाई मोहनी लगाउने गरेको जानकारी दिए । शर्माकै पहलमा भकुण्डेमा पाँच वर्ष अघिमात्रै विदेशी पर्यटक भित्रिएका थिए ।
बागलुङको भकुण्डे गाउँको अतिथि सत्कार होमस्टे रोजाइमा पर्नुको कारण यहाँको आतिथ्यता, कला संस्कृति र प्राकृतिक मनोरमको दृश्य रहेको अनुभव शर्माले सुनाए ।
उनले भकुण्डे आएको पाहुनालाई आगामी वर्षदेखि मुस्ताङसमेत लैजानेगरी समय थप गर्ने बताए । भकुण्डे जिल्ला सदरमुकामदेखि तीन घण्टाको पैदलमार्फत पुग्न सकिन्छ ।
अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले पछिल्लो समय स्वदेशी पर्यटक मात्रै नभएर अमेरिका, यूके, क्यानडा, जापान, चीन र कोरियाबाट विदेशी पर्यटक आउने गरेको बताए ।
उनीहरूले आफ्नो घरको आँगनबाट देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाले मोहनी लगाउने गरेको बताउने गरेको थापाको भनाइ छ ।
‘संस्थागत रूपमा महादेव शर्माको पहलमा यहाँ विदेशी आउन थाल्नुभयो, अन्य सङ्घ संस्थाबाट आउनुभएका विदेशी पर्यटकलाई समेत भकुण्डे घुमाउन ल्याउनुहुन्छ, अहिले घरबासमा स्वदेशी र विदेशी पर्यटक दुवैको आकर्षण छ, यहाँ अर्गानिक खानाको परिकार र प्राकृतिक दृश्य नै पहिलो रोजाइ हो,’ घरबास सञ्चालक थापाले भने, ‘भेगनमा आबद्ध पर्यटकले हामीलाई खान बनाउनेदेखि खेतबारीको काममा समेत सघाउन खोज्नुहुन्छ, उनीहरूले यहाँको कामको विषयमा जान्न खोज्नुहुन्छ, गाउँमा बसेर विदेशी पर्यटकलाई घरबासको माध्यमबाट स्वागत सत्कार गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो ।’
नेपालको खेतिपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतिपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुग्ने गरेको पाइन्छ ।
मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको समुदाय र विद्यालयलाई समेत विभिन्न सहयोग गदै समेत आएका छन् । बाह्य पर्यटकको मुख्य रोजाइमा हिमशृङखला, खानपान र कला–संस्कृति नै रहेको थापाले बताउनुभयो । घरबासमा एक रातमा ८० जना पर्यटक बस्ने व्यवस्था छ ।
घरबास सञ्चालकले गाउँमै उत्पादित आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो र गुन्द्रुकको स्वाद लिन पाइन्छ । २०७३ सालमा स्थापना भएको जिल्लाकै पहिलो अतिथि सत्कार घरबासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् ।
घरबास सञ्चालनमा आएसँगै यहाँका स्थानीयहरू खेतिपातीको कामसँगै आयआर्जनमा जोडिएका हुन् ।
भुकण्डेको शिरमा रहेको मूलाबारी भ्यूटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने अतिरिक्त माध्यमसमेत रहेका छन् ।


समाचार


