लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेतृत्व पाएको छ

करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेतृत्व पाएको छ । २०८० पुस २० गतेदेखि नेतृत्वविहीन रहेको बोर्डले सोमबार नयाँ नेतृत्व पाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय लिएसँगै बोर्डको नेतृत्वविहीनता टुंगिएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमाल बाहिरिएपछि नयाँ अध्यक्षका लागि झन्डै ११ महिना कुर्नुपर्‍यो ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबार डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो । सोमबार अध्यक्ष नियुक्त भएका श्रेष्ठ नेपाल विद्यु प्राधिकरणको सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

डा.प्रकाशशरण महत अर्थमन्त्री हुँदा खाली भएको बोर्ड अध्यक्ष त्यसपछिका अर्थमन्त्री वर्षमान पुनले समेत पूर्ति गर्न सकेका थिएनन् ।

प्रकाशशरण र वर्षमानले सकेनन्, विष्णुले टुंग्याए
कार्यकाल सकाएर २०८० पुस २० गते ​धितोपत्र बोर्डको अध्यक्षबाट रमेशकुमार हमाल बाहिरिए । बोर्ड नेतृत्वविहीन भएपछि २०८० माग ३ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महत हुँदा समितिले अध्यक्ष पदका लागि आवेदन माग गर्‍यो, जसमा १९ जनाले आवेदन दिए । समितिले १९ जनामध्ये ५ जनालाई छोटो सूचीमा (सर्टलिस्टमा) समावेश गर्‍यो । यसरी छोटो सूचीमा पर्नेहरूमा सन्तोषनारायण श्रेष्ठ, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं थिए।

छोटो सूची सार्वजनिक भएको केही समयपछि सरकार परिवर्तन भयो । र, फागुन २३ गते अर्थमन्त्रीका रूपमा वर्षमान पुन मन्त्रालय भित्रिए । अर्थमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै गर्दा पुनले बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया छिट्टै टुङ्गिने बताएका थिए । तर, पुनको कार्यकालमा सर्टलिस्टमा परेका आकांक्षीहरूको अन्तर्वार्ता नै दुई पटकसम्म सारियो ।

गत असार २ गते बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा रहेका पाँचै जनालाई अन्तर्वार्ताका लागि बोलाइयो । तर, अन्तर्वार्तामा दुई जना (सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ) मात्रै उपस्थित भए । समितिले पुन: असार ५ गते बाँकी तीन जना (डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं)लाई अन्तर्वार्ताका लागि बोलायो । त्यो दिन पनि उनीहरू अनुपस्थित भएपछि बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्न सकेन ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय माग्दै पत्र पठायो । महान्यायाधिवक्ता कार्यालयले ऐन अनुसार तीन जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने सुझाव दियो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ४ मा ‘उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नेछ’ भन्ने उल्लेख छ । सोही व्यवस्थालाई देखाउँदै महान्यायाधिवक्ता कार्यालयले तीन जनाकै नाम सिफारिस हुनुपर्ने राय समितिलाई दियो ।

त्यसपछि असार १४ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरिएको सूचना प्रकाशन गर्‍यो । पुरानो प्रक्रिया रद्द भएपछि सरकारले असार १७ गते नयाँ समिति गठन गर्‍यो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष श्रेष्ठकै संयोजकत्वमा समिति गठन गरेको थियो ।

यही बीचमा सरकार परिवर्तन भयो। गत असार ३१ गते अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले पुनरागमन गरे । अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेका पौडेलको प्राथमिकतामा सेबोन अध्यक्षको विषय पनि थियो । त्यसैले उनले समितिलाई यसबारे काम अघि बढाउन भने ।

सिफारिस समितिले गत असोज १८ गते बाँकी तीन जनाको अन्तर्वार्ता तय गरेपनि​ समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी बिरामी भएपछि त्यो दिन अन्तर्वार्ता हुन सकेन ।

सिफारिस समितिले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा बोलाएको थियो। आइतबार अन्तर्वार्ता सकेर समितिले तीन जनाको नाम सिफारिस गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउने निर्णय लियो । अन्तत: पौडेल अर्थमन्त्री भएको चार महिनापछि बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया टुंगियो ।


प्रकाशित : २०८१ मंसिर १०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप