इन्टरनेट सेवा प्रदायक तथा आईसीटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फन्डिङ कम्पनी फिनफन्डले १ करोड युरो लगानी गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफन्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरे ।
फिनफन्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने जनाइएको छ । फिनफन्डको लगानी नेपालको हरेक कुनालाई तीब्र, भरपर्दो र किफायति इन्टरनेट नेटवर्कमा जोड्ने लक्ष्यमा कोसेढुङ्गा सावित हुने वर्ल्डलिंकका अध्यक्ष अग्रवालले बताए ।
‘हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डेटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेगबीच देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं’, अग्रवालले भने ।
फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरूका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीब्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य कम्पनीले राखेको छ ।
डेटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको विस्तारले ग्राहकका साथै अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्ने कम्पनीको भनाइ छ ।
‘वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवा विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायति र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ’, फिनफन्डका वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले भने, ‘फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवा विस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौं ।’
‘नेपालमा झण्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् । शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता छ । यसका लागि विश्वस्तरीय डेटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ । फिनफन्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिंकलाई सहयोग गर्न तत्पर छ’, किल्पेलेइनले जोड दिए ।
कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोको उपस्थिति रहेको थियो ।
वर्ल्डलिंकले ५ हजार भन्दा बढी मानिसलाई रोजगारी प्रदान गरेको जनाएको छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी छ । ९ लाख भन्दा बढी घरपरिवारमा पहुँच प्रदान कम्पनीले नेपालका ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको जनाएको छ । वर्ल्डलिंक ठूलो विदेशी लगानी भित्र्याउने नेपालको इन्टरनेट सेवा प्रदायकमध्येको पहिलो कम्पनी रहेको जनाइएको छ ।
कम्पनीले यसअघि नै ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको छ । यसका साथै कम्पनीले एसियन– ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, ‘कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड’लगायतका अवार्ड प्राप्त गरेको छ ।


समाचार


