सामाजिक सञ्जाल प्रयोग गर्दा अपरिचित व्यक्तिमाथि अन्ध विश्वास गर्नु साच्चिकै घातक बन्न सक्छ । त्यसैको पछिल्लो उदाहरण हो, पाल्पा तानसेनकी २५ वर्षीया सुमना रेग्मी (नाम परिवर्तन) माथि बर्दियाका ३३ वर्षीय शिशिरकुमार वलीले गरेको घात ।
टिकटकको सामान्य फलोबाट सुरु भएको यो मामिला एउटा ‘स्क्यान्डल’को रूपमा अहिले पाल्पा जिल्ला अदालतको कठघरासम्म पुगेको छ । आजभन्दा करिब डेढ वर्षअघि सुमना तानसेनमा बसेर पढ्दै थिइन् । सोही समयमा Lahure_Solta123 नामक टिकटक ह्यान्डल चलाउने शिशिर कुमार वलीसँग उनको चिनजान भयो । शिशिरले आफूलाई यूकेको लाहुरेको रूपमा चिनाए ।

शिशिरले सुमनालाई आफ्नो लाहुरे पहिचानको धाक मात्र लगाएनन्, बरु उनलाई उज्ज्वल भविष्यको सपना समेत देखाए । उनले सुमनालाई अस्ट्रेलिया जानका लागि आयल्ट्स पढ्न आफूले मद्दत गर्ने आश्वासन दिए । अस्ट्रेलिया जाने सपना र शिशिरको ‘लाहुरे’ पेशाले उनीहरू बीच सामीप्ययता बढ्दै गयो ।
गएको वैशाख २०८२ मा शिशिरले सुमनालाई आफू परिवारसहित पाल्पा घुम्न आएको भन्दै भेट्न बोलाए । साथीको नाताले सुमना उनलाई भेट्न पाल्पा बसपार्क पुगिन् । तर, त्यहाँ शिशिर एक्लै थिए । उनले आफ्नो परिवार पछि आउने बहाना बनाउँदै सुमनाको कोठासम्म पुग्ने बहाना बनाए ।
बयान र अभियोग पत्रका अनुसार सोही समयमा उनीहरू बीच शारीरिक सम्बन्ध स्थापित भयो । शिशिरले सुमनालाई आफूले विवाह गर्ने पूर्ण भरोसा दिलाएका थिए । तर, त्यो विश्वास धेरै समय टिक्न सकेन ।
केही समयपछि सुमनाले थाहा पाइन् कि शिशिर कुनै यूकेको लाहुरे नभई केवल सामाजिक सञ्जालमा झुटा पहिचान बनाएर मानिसलाई प्रभाव पार्ने व्यक्ति थिए । उनले शिशिरलाई अमेरिका वा बेलायत कतैको लाहुरे नभएको पत्ता लगाएपछि उक्त सम्बन्ध तोड्ने निर्णय गरिन् । यमुनाले उनलाई सामाजिक सञ्जाल र मोबाइल फोनमा ‘ब्लक’ गरिन् ।
आफूलाई ब्लक गरेपछि शिशिर शान्त बस्नुको सट्टा प्रतिशोधमा उत्रिए । उनले सुमनाको चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न नक्कली (फेक) सामाजिक सञ्जाल अकाउन्ट खोले ।
प्रहरीको अनुसन्धान र अभियोग पत्रमा उल्लेख भए अनुसार शिशिरले फेसबुकमा Amuna Magar, Kumar Chettri, टिकटकमा @amuna.magar5, @lahure_solta123 र भाइबर तथा ईमोमा Manika Mgr नामबाट विभिन्न आईडी बनाएका थिए ।
उनले सम्बन्धमा छँदा खिचिएका अन्तरङ्ग फोटो र भिडिओ कलका क्रममा लिइएका स्क्रिनशट ती नक्कली आईडीहरूबाट सार्वजनिक गर्न थाले । उनले सुमनाका आफन्त र साथीभाइलाई ती अश्लील र संवेदनशील फोटोहरू पठाउने, फेसबुक स्टोरीमा राख्ने र चरित्र हत्या गरिदिने भन्दै धाकधम्की दिन थाले ।
सुमनाले बयानमा भनेकी छिन्, “उनले मलाई सामाजिक सञ्जालमा घृणा फैलाउने, अपमान गर्ने र चरित्र हत्या गरी समाजमा मुख देखाउन नसक्ने बनाउने कार्य गरे ।” शिशिरले समनालाई भिडिओ कलमा भित्री अङ्ग प्रदर्शन गर्न लगाएर त्यसको रेकर्डिङ समेत गरेको अभियोग पत्रमा उल्लेख छ ।
अति भएपछि सुमनाले जिल्ला प्रहरी कार्यालय, पाल्पामा जाहेरी दिइन् । प्रहरीले शिशिर कुमार वलीलाई बर्दियाबाट नियन्त्रणमा लियो । उनको साथबाट एउटा रेड्मी मोबाइल सेट र तीनवटा सिमकार्डहरू बरामद गरियो ।
प्रहरीले उक्त मोबाइल परीक्षणका लागि काठमाडौँस्थित डिजिटल फरेन्सिक ल्याबमा पठायो । ल्याबको रिपोर्टले शिशिरको मोबाइलमा ती सबै नक्कली आईडीहरू लग-इन रहेको, सुमनाका फोटोहरू मोबाइलमा सुरक्षित रहेको र विभिन्न मेसेजहरू पठाइएको पुष्टि गर्यो । शिशिर आफैँले पनि प्रहरी समक्ष बयान दिँदै आफूलाई ब्लक गरेपछि आवेशमा आएर ती फोटोहरू पोस्ट गरेको स्वीकार गरे ।
सरकारी वकिलको कार्यालयले शिशिरकुमार वली विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा गएको बिहीबार मुद्दा दायर गरेको छ । जसअनुसार वली विरुद्ध कम्प्युटर वा इन्टरनेटको माध्यमबाट सार्वजनिक नैतिकता वा शिष्टाचार विरुद्धका सामग्री प्रकाशन गरेको कसुरमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।
शिशिरले यसअघि पनि २०७९ सालमा बाँके जिल्लामा अभद्र व्यवहार मुद्दामा सजाय पाइसकेका उनलाई थप सजाय हुनुपर्ने मागदाबी गरिएको छ ।
साथै पीडित सुमना रेग्मीले आफ्नो चरित्र हत्या भएको र मानसिक यातना भोग्नुपरेको भन्दै उचित क्षतिपूर्तिको माग समेत गरेकी छिन्


समाचार


