काठमाडौँ । शनिबारदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरु भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का खेलहरू आईसीसीको आधिकारिक वेबसाइटमा निःशुल्क लाइभ भइरहेका छन् । तर नेपाली उपभोक्तासँग स्टाइक्स नेपाल नामक प्लेटफर्मले भने यसको लागि ३९९ रुपैयाँ शुल्क लिइरहेको छ ।
जब कि नेपाल समेत सहभागी यस प्रतियोगिताको लाइभ स्ट्रिमिङ आईसीसीले नेपाली कमेन्ट्रीसहित (नेपालको खेलमा) विभिन्न भाषामा निःशुल्क उपलब्ध गराएको छ ।
स्टाइक्स नेपालका प्रबन्ध निर्देशक शिशिर पछाईले सुरुमा आफूले कान्तिपुर टेलिभिजनबाट सब-लाइसेन्स लिएको बताए । सुरुमा यो समाचार तयार पार्दासम्म आईसीसीको वेबसाइटमा भने स्टाइक्स नेपालको नाम थिएन । सो प्रसङ्गमा पछाईले भनेका थिए, “हाम्रो नाम आईसीसीमा हुनुपर्ने हो, के भएर नराखिएको हो म बुझ्छु । स्ट्रिमिङ हामीले आईसीसीबाट पाउने हो । स्ट्रिमिङ खुद्रा आउँदैन । उताबाट राइट्सको स्ट्रिमिङ आउने हो ।”
आईसीसीले निःशुल्क देखाएको खेलका लागि शुल्क किन भन्ने प्रश्नमा पछाईले नेपालमा स्पोर्ट्स कन्टेन्ट स्थापित गर्ने प्रयास गरेको र आईसीसी टीभीको स्ट्रिमिङ गुणस्तरमा समस्या रहेको दाबी गरे । उनले आईसीसीले नेपालमा ‘को-एक्सक्लुसिभ राइट्स’ बेचेको पनि बताए । यद्यपि टेले परीक्षण गर्ने क्रममा आईसीसीटीभी (वेबसाइट)मा लाइभ हेर्न कुनै जटिलता नभएको र गुणस्तरमा पनि कुनै समस्या नरहेको पाइएको छ ।
पछाईले को-एक्सक्लुसिभ राइट पाएको दाबी गरे पनि आईसीसीले गत डिसेम्बरमा नेपालमा नन्-एक्सक्लुसिभ मिडिया राइट्सका लागि आशयपत्र माग गरेको थियो । कान्तिपुर टेलिभिजनले राखेको म्याच पोस्टरमा स्टाइक्स नेपाललाई डिजिटल स्ट्रिमिङ पार्टनरको रूपमा उल्लेख गरिएको छ । स्टाइक्स नेपालले नेपालमा डिजिटल राइट्स पाएको वा नपाएको यकिन गर्न र उक्त कम्पनीले उपभोक्ताबाट शुल्क उठाएको विषयमा आईसीसीबाट आधिकारिक प्रतिक्रिया लिने प्रयास समेत गरेको । यद्यपि यो सामग्री तयार पार्दासम्म आईसीसीको जवाफ प्राप्त भइसकेको छैन ।


समाचार


