नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ ।
प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनै पनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीहरुलाई नबोल्न निर्देशन दिएको हो।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए।
कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यक्ता नरहेको उनले बताए। जाँचबुझ समितिले घटनाको स्वतन्त्र र निष्पक्ष सत्यतथ्य बाहिर ल्याउने निरौलाले बताए।
प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ति र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचारबाहेक अरूलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न आग्रह गरे।
उनले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यो सत्य नरहेको बताए। सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आइतबार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको उनले बताए।
उनले भने, ‘सामाजिक सञ्जालमा आएका भिडियो फुटेजहरु हामीले पनि हेर्यौं । त्यसमा कुनै सत्यता छैन । जुन एउटा फेसबुकमा लाइभ भएको भिडियो देखिन्छ । त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ ।’
प्राधिकरणले घटना भइसकेपछि छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने उनले बताए।


समाचार


