पाकिस्तानका पूर्व राष्ट्रपति तथा सेनाप्रमुख परवेज मुशर्रफको आइतवार मृत्यु भएको छ ।
उनी एमीलोइडोसिस नामक एक दुर्लभ रोगबाट लामो समयदेखि पीडित थिए । ७९ वर्षको उमेरमा उनको देहावसान भएको हो ।
दुबईको एक अस्पतालमा उनको मृत्युु भएको पाकिस्तानका एक वरिष्ठ सुरक्षा अधिकारीले डन पत्रिकालाई बताए ।
मुशर्रफ लगभग नौ वर्षका लागि सेनाप्रमुख थिए भने सन् २००१ मा उनी पाकिस्तानका दशौं राष्ट्रपति बनेका थिए । निर्वाचित सरकारविरुद्ध कू गर्दै उनी राष्ट्रपति बनेका थिए । सन् २००८ सम्म उनी उक्त पदमा थिए ।
सन् २००७ मा संविधान निलम्बन गरेकोमा मुशर्रफलाई सन् २०१४ मा दोषी ठहर गरिएको थियो ।
सन् २०१९ मा एक विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय दिएको थियो ।
मुशर्रफ सन् २०१६ मा उपचारका लागि पाकिस्तानबाट दुबई पुगेका थिए । त्यसपछि उनी कहिल्यै पाकिस्तान फर्केनन् ।
सन् २००२ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा मुशर्रफ पाकिस्तानको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।


समाचार


