सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरलले देशको कला सँस्कृति बचाई राख्न नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोग एवं नेवा: देय् दबू सुर्खेतले आयोजना गरेको २० दिने नेवा: नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रमको समापनमा यस्तो बताउनुभएको हो । मन्त्री पोखरेलले काठमाडौं उपत्यका बाहिर पनि नेवार जातिहरु आफ्नो भाषा कला सँस्कृति बचाउन लागि परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “कर्णालीमा पनि नेवा: कला सँस्कृतिको उत्थानकालागि सक्दो सहयोग गर्ने हरदम तयार रहनेछु”

त्यस्तै कार्यक्रममा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका शाखा अधिकृत झलकप्रसाद कोइरालाले निर्देशनालयले दिएको सिमित बजेटमा पनि महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै वीरेन्द्रनगर नगरपालिका ७नं. वडा सदस्य यामनारायण आचार्यले कला सँस्कृतिको जगेर्ना गर्न वडा लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक सुदन मान मुनिकारले २० दिनमा सुर्खेतका नेवा: प्रशिक्षार्थीहरुले एकदमै लगाव दिएर प्रशिक्षण लिएको र प्रशिक्षार्थीको लगाव देखेर आफूमा गर्वको महशुस भएको बताउनुभयो ।
कार्यक्रममा नि.वर्तमान वडा सुरेश मानन्धर, नेवा: देय् दबूका केन्द्रीय उपाध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका का.वा. अध्यक्ष अशोक राजी, आदिवासी जनजाति महिला महासंघ सुर्खेतका अध्यक्ष वासना गुरुङ्गले आ-आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले कुमारी तथा लाँखे नृत्य र धिमे बाजा प्रस्तुत गरेका थिए भने दबूका सचिव बालकृष्ण श्रेष्ठले कार्यक्रमको संचालन गर्नुभएको थियो ।


समाचार


