आफ्नो स्मार्टफोनको क्यामेरा सेन्सर प्रविधिका कारण कोरियाली ब्रान्ड सामसङ चर्चित छ । यही ब्रान्डले फरक-फरक क्यामेरा सेन्सरहरूमा काम गरिरहेको बाहिरिएको छ ।
प्रविधिसम्बन्धी विभिन्न विवरणकाे खुलासा गर्ने रेभगनस (@Tech_Reve) ले एक्स (ट्वीटर) मा एक पाेस्ट गर्दै सामसङले चार नयाँ क्यामेरा सेन्सरहरूमा काम गरिरहेको दाबी गरेका छन् । उनका अनुसार सामसङले ४४० एमपी एचयू वन, ३२० एमपी सेन्सर, ०.७ माइक्रोन पिक्सेल भएको २०० एमपी एचपी सेभेन र १.६ माइक्रो पिक्सेल भएको ५० एमपी आईसोसेल जीएन सिक्स सेन्सरमा काम गरिरहेको छ ।
स्मार्टफोनहरूमा ४४० एमपी प्रयोग भए क्यामेरा सेन्सर टेक्नोलोजीमा महत्त्वपूर्ण छलाङ हुने बताइएको छ । यद्यपि अहिलेसम्म यो सेन्सर स्मार्टफोन वा अन्य इन्डस्ट्रीमा प्रयोग हुन्छ भनेर निश्चित भने छैन । केही मिडियाले याे सेन्सर कार वा अन्य इन्डस्ट्रियल सामग्रीमा प्रयाेग हुनसक्ने भनेर लेखेका छन् ।
सामसङले यसअगाडि मानव आँखासँग मिल्ने रेजाेलुसन भएका सेन्सरहरू विकास गर्ने घोषणा गरेको थियो । अहिले विकास भइरहेको ४४० एमपी सेन्सरलाई त्यसैको रूपमा हेरिएको छ ।
रेभनगसले ३२० एमपी क्यामेरा सेन्सर ग्यालेक्सी एस२६ (Samsung Galaxy S26) वा योभन्दा हाई इन्ड फोनहरूमा प्रयोग हुनसक्ने बताएका छन् ।मिडियाटेकको डाइमेन्सिटी ९२०० चिपसेटले ३२० मेगापिक्सलको क्यामेरा सपोर्ट गर्ने तथ्यले पनि यो हाई रेजोलुसन सेन्सरको बजार बलियो भएको पुष्टि गर्छ । यसकारण चाँडै यो सेन्सर स्मार्टफोनमा हुने बताइएको छ।
२०० एमपी एचपी सेभेन क्यामेरा सेन्सर ग्यालेन्सी एस२३ अल्ट्राको २०० एमपी एचपी टू क्यामेरासँग मिल्दोजुल्दो देखिन्छ । तर यसमा पिक्सेल ठूलो भएको बताइन्छ ।
सामसङले बनाइरहेको ५० एमपी जीएन सिक्स सेन्सर सामसङको पहिलो एक इन्च क्यामेरा हुन सक्ने बताइएको छ । त्यस्तै क्यामेरा कम्पनी सोनीको एक इन्चको आईएमएक्स ९८९ सेन्सर ((IMX989)) समान पिक्सेल यसमा हुने बताइएको छ । यो सेन्सरले फोटो तथा भिडिओ खिच्न ‘लाइट क्याप्चर’, पृष्ठभूमि आदिमा सुधार गर्ने बताइएको छ ।


समाचार


