काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ ।
महानगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा ‘अनावश्यक केरकार’ गरिएको उल्लेख गरेको छ ।
ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की
ट्राफिक प्रहरीले करिब ७ मिनेट उक्त सवारी साधनलाई रोकेर राखेको मेयर शाहको सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अबलम्ब नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।
मेयर शाहको सचिवालयले त्यस क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको आरोप पनि लगाएको छ । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो,’ शाहको सचिवालयले भनेको छ, ‘कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।’ उक्त घटनाबारे गृह प्रशासनले भ्रमक सूचना दिएको पनि शाहको सचिवालयको भनाइ छ ।
शनिबार साँझ भएको उक्त घटनापछि मेयर शाहले सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाको सवारी साधन आगामी दिनमा रोकिए ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर धम्कीपूर्ण भाषामा लेखेका थिए । जसको चौतर्फी विरोध भएको थियो । शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा भने उक्त अभिव्यक्ति किन आयो भन्नेबारे केही उल्लेख छैन ।


समाचार


