लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतीय बजारमा नेपाली सिमेन्टको माग

आन्तरिक खपत घटिरहेका बेला सुपथ मूल्यमा गुणस्तरीय तयारी सिमेन्ट पाएपछि भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्न थालेको छ ।

भारतीय बजारको सिमेन्ट किन्नुभन्दा नेपालबाट लैजाँदा सस्तो र सहज भएपछि आकर्षण बढेको हो । यसले नेपाली सिमेन्ट निर्यातमा आशाका किरण देखाएको छ ।

सीमावर्ती जिल्लामै सञ्चालित लुम्बिनी प्रदेशका ठूला चार सिमेन्ट उद्योगले उत्साहजनक रूपमा सिमेन्ट भारत निर्यात गरिरहेका छन् ।

 

नेपाली बजारमा निर्माणको काम संकुचित भएर उत्पादन बढाउन नसकेका बेला भारतीय बजारको पूर्वाधार निर्माणमा नेपाली सिमेन्टले स्थान बनाएपछि उद्योगीले सन्तोषको सास फेरेका हुन् ।

दैनिक सिमेन्ट बोकेका ट्रक बेलहिया भन्सार कार्यालय सुनौली हुँदै भारतीय बजारतर्फ जाँदै गरेको देख्न सकिन्छ । अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव कार्कीले अहिले दैनिक २५० मेट्रिकटन सिमेन्ट भारत पठाउन थालेको बताए ।

‘२५० टन भन्दा ५ हजार बोरा हुन आउँछ,’ कार्की भन्छन्, ‘हाम्रो सिमेन्ट भारतको पटना, लखनउ, बनारस, गोरखपुर, महाराजगञ्ज र सिद्धार्थनगरमा गइरहेको छ । ‘रेट’ सस्तो र गुणस्तरीय भएपछि ठूला निर्माण कम्पनीदेखि घरायसी ग्राहकसम्मले नेपाली सिमेन्ट प्रयोग गर्ने क्रम बढेको देखिन्छ ।’

कार्कीले लोकान्तरसँग थपे, ‘हामीले सिमेन्ट निर्यात थालेको डेढ वर्ष भयो । यो अवधिमा ४० करोड नेपाली रूपैयाँको सिमेन्ट भारत गयो । हामीले वार्षिक ५० करोड भारूको निर्यात गर्ने ‘तार्गेट’ राखेका छौं । अहिले उत्तरप्रदेश र बिहारमा भारतीयभन्दा नेपाली सिमेन्टको ‘डिमान्ड हाई’ छ ।

नेपालको सीमावर्ती भारतीय बजार क्षेत्रमा भारतीय सिमेन्ट १ हजार किलोमिटर टाढाबाट ल्याउनुपर्ने अवस्था छ । जसले गर्दा ढुवानी बढी पर्न जान्छ । भारत जाने नेपाली सिमेन्ट उद्योग सीमानजिकै छन् । अर्घाखाँची सिमेन्ट रूपन्देहीको सियारी गाउँपालिका– २ मैनहियामा सञ्चालित छ । दैनिक ३ हजार २०० समय मेट्रिक टन उत्पादन क्षमता भए पनि नेपाली बजारमा सिमेन्टको माग नहुँदा अहिले १ हजार ५०० सय मेट्रिक टनमात्र उत्पादन भइरहेको कार्कीको भनाइ छ ।

भारतीय बजारमा नेपाली सिमेन्टको मार्केटिङ र बजारीकरण पनि बढिरहको छ । उद्योगीले भारतीय बजारमा पनि नेपाली सिमेन्ट उद्योगको ‘वाल पेन्टिङ’ गर्न थालेका छन् । सर्वोत्तम सिमेन्टले पनि अहिले दैनिक ५०० टन सिमेन्ट निर्यात गरिरहेको छ । पश्चिम नवलपरासीको सुनवलमा सञ्चालित सर्वोत्तम सिमेन्टका महाप्रबन्धक नेत्र घिमिरेले अहिलेसम्म ५० करोडको सिमेन्ट निर्यात गरिएको बताए ।

 

‘हाम्रो उद्योगबाट दैनिक ८ हजारदेखि १० हजार बोरा सिमेन्ट भारत गइरहेको छ’ घिमिरे भन्छन्, ‘गएको साउनदेखि हामीले बेलहिया भन्सार हुँदै सिमेन्ट भारत पठाउन थालेका हौं । हाम्रो सिमेन्ट उत्तर प्रदेश र बिहारका विभिन्न जिल्ला र शहरहरूमा गइरहेको छ ।’ भारतको यूपी तथा बिहारमा सिमेन्ट उद्योग खासै छैनन् । सिमेन्टसँगै नेपालबाट क्लिंकर पनि निर्यात भइरहेको छ ।

५० करोड रूपैयाँसम्म प्रतिवर्ष निर्यात गर्ने सिमेन्ट उद्योगलाई ४ प्रतिशत र त्योभन्दा माथि निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान सरकारले दिन थालेको छ । निर्यात गर्ने उद्योगीलाई अनुदान दिने निर्णय तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । सोही कारण वि.सं.२०७९ साउनदेखि सिमेन्ट निर्यात शुरू भएको थियो ।

पाल्पा सिमेन्टले पनि दैनिक १५० टन सिमेन्ट निर्यात गर्दै आएको छ । पश्चिम नवलपरासीको सुनवल– ११ मा रहेको उद्योगको निर्यात सन्तोषजनक रहेको प्रबन्धक ज्ञानराज शर्माले बताए । आन्तरिक माग धानेर निर्यात गर्न सक्षम देखिएपछि नेपालको सिमेन्ट विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने देखिएको शर्माको भनाइ छ । त्यस्तै बालाजी सिमेन्टले पनि भारततर्फ निर्यात गर्दै आएको छ ।

भैरहवा भन्सार कार्यालय, बेलहिया (सुनौली)का सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले नेपाली सिमेन्ट सहजरूपमा भारत निर्यात भइरहेको बताए ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपालबाट सिमेन्ट निर्यातको ठूलो सम्भावना भए पनि राज्यले तदारूकता नदेखाएको गुनासो गरे ।

‘भारतमा गुणस्तर प्रमाण चिह्न (आईएसआई) प्राप्त सिमेन्ट खोज्छन्,’ थापाले लोकान्तरसँग भने, ‘आईएसआई प्राप्त गर्नका लागि राज्यले सहजीकरण गरिदिँदैन । चारवटा उद्योगले अहिले निर्यात त गरेका छन्, तर अपेक्षाकृत निर्यात भएको छैन ।’

वार्षिक १५० अर्ब रूपैयाँको सिमेन्ट निर्यात गर्न सक्ने नेपाली उद्योगको क्षमता रहेको भन्दै उनले थपे, ‘त्यो अवस्थामा पुगियो भने नेपालको व्यापार घाटा १० प्रतिशतसम्मले कमी आउँथ्यो ।’

 

अहिले नेपालीको सिमेन्ट उद्योगमा विदेशी लगानी पनि भित्रिएको छ । पूर्वी नवलपरासीमा चिनियाँ लगानीसहित होङ्सी सिमेन्ट उद्योगले उत्पादनको तयारी थालेको छ । नेपालमा सिमेन्ट उद्योगलाई आवश्यक पर्ने पर्याप्त चुनढुंगा भएकाले यसमा विदेशी लगानीकर्ताको आकर्षण छ ।

विदेश निर्यातको आधार तयार भएमा थप लगानीकर्ता आकर्षित हुने देखिन्छ । तर, सिमेन्ट उद्योगीले दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका मुलुकबाट कोइला ल्याउँदा भारतको कोलकाता बन्दरगाह मात्र प्रयोग गर्नुपर्ने बाध्यता छ ।

नेपाली सिमेन्ट उद्योगमा झण्डै ३ खर्ब रूपैयाँ लगानी पुगेको बताइन्छ । राज्यले उद्योगलाई प्रोत्साहन, उद्योग खानीसम्म लाइन पुर्‍याउने काम गरेकाले पछिल्लो सात/आठ वर्षयता नेपाली सिमेन्ट उद्योग राम्रोसँग फस्टाएका छन् ।

नेपालमा सञ्चालित सिमेन्ट उद्योगसँग वार्षिक करिब २ करोड २० लाख टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । बजार नपाउँदा १५ वटा उद्योग बन्द भएको सिमेन्ट उद्योग संघको तथ्यांकमा उल्लेख छ ।

स्वदेशमा सिमेन्टको माग कम भएर उत्पादन कटौती गरेका कारण क्षमताको ५० प्रतिशतभन्दा कम उत्पादन हुँदै आएको व्यवसायीहरू बताउँछन् ।

नेपालभित्र गत वर्षभन्दा चालू आर्थिक वर्षमा सिमेन्टको माग घटेको व्यवसायीहरू बताउँछन् । नेपालको निर्माणको चक्र मन्दीको अवस्थामा छ । चार वर्षअघि नेपाल सिमेन्टमा पूर्णरूपमा आत्मनिर्भर भएको थियो ।

सिमेन्ट उद्योगमा अधिकांश ठूला व्यावसायिक घराना जोडिएका छन् । नेपालमा सबैभन्दा पहिले वि.सं. २०३२ सालमा काठमाडौंको चोभारमा हिमाल सिमेन्ट उद्योग सञ्चालनमा आएको बताइन्छ । त्यसको अहिले ५ दशक बित्न लागेको छ ।

नेपालबाट सिमेन्ट र विद्युत निर्यातको ठूलो सम्भावना रहेको रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा बताउँछन् ।

‘आन्तरिक खपत बढाउने र औद्योगिक उत्पादनको लागत घटाउनेतिर लाग्ने हो भने नेपाली उद्योग फस्टाउने देखिन्छ’ सापकोटाले भने ।


प्रकाशित : २०८० माघ १७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप