काठमाण्डाै – सहकारी संस्थाको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आज पनि सहमति हुन सकेको छैन ।
बिहानैदेखि दुईपक्षीय र बहुपक्षीय छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेको हो । छानबिन समिति बनाउनका लागि कार्यादेश तय गर्न दलहरूबीच हिजै कार्यदल गठनको सहमति भएको थियो । तर कार्यदलले आज पनि कार्यादेश टुङ्गो लगाउन सकेन ।
नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेकै नाम जोडेर अनुसन्धान हुनुपर्ने अडान लिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको नाम उल्लेख हुन नहुने र समस्याग्रस्त सबै सहकारीको एकमुष्ट छानबिन हुनुपर्ने बताएको छ ।
बिहान भएको छलफलमा छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ संलग्न भएको सहकारीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर दिउँसो नेपाली कांग्रेसले आन्तरिक बैठक बसेर रवि लामिछानेकै नाम किटान गरेर अनुसन्धान हुनुपर्ने अडान दोहोर्याएपछि सहमति हुन नसकेको हो ।
दलहरूबीच सहमति हुन नसक्दा आज पनि संसद् बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सरेको थियो तर ४ बजे पनि सहमति हुन नसकेपछि बैठक भोलिसम्मका लागि सरेको हो । लामो समयदेखि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
यसैबीच दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ । जनता समाजवादी पार्टी नेपाल फुटेपछि उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छ । त्यसैले भोलि प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । तर आजसम्म दलहरूबीच सहमति नजुटेकाले भोलि प्रचण्डले विश्वासको मत लिने कार्यसूची नै प्रभावित हुने देखिएको हो ।
प्रधानमन्त्री प्रचण्डले डेढ वर्षको अवधिमा भोलि चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले यसअघि तीन पटक विश्वासको मत लिइसक्नुभएको छ


समाचार


