पश्चिम एसियामा देखिएको अशान्तिबीच अत्यन्तै नाजुक समयमा उत्तरपश्चिम इरानमा भएको हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम राइसीको निधन भएको छ । इरानले राष्ट्रपति राईसी, विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियान र हेलिकप्टर दुर्घटनामा मारिएका अन्य अधिकारीहरूप्रति शोक मनाइरहेको छ ।
बाँकी विश्वले यस दुखद् दुर्घटनामा आफूअनुकूलको प्रतिक्रिया जनाउँदै परिवर्तित भूराजनीतिक समीकरणको परिणाम र प्रभावलाई नजिकबाट हेरिरहेको छ ।
पश्चिम एसिया क्षेत्रमा देखिएको अत्यन्तै नाजुक समयमा इरानमा यो दुर्घटना भएको छ । विगत सात महिनादेखि इजरायलले गाजामा युद्ध छेडेको छ, जुन इजरायली शहरमा हमासले गरेको आक्रमणबाट शुरू भएको थियो ।
तेहरानविरुद्ध बारम्बार तेल अवीवविरुद्ध लेबनान मोर्चा खोल्न हिजबुल्लाहलाई समर्थन गरेको आरोप लागेको छ ।
गत महिना इजरायल र इरानबीच शत्रुता थप उचाइमा पुगेको थियो । गत महिना जब इरानले इजरायलमा मिसाइल आक्रमण गरेको थियो । ती मिसाइललाई इजरायलले आफ्नो ‘आइरन डोम एरियल डिफेन्स सिस्टम’ले रोकेको थियो ।
इरानले सिरियामा रहेको आफ्नो दूतावासको भवनमा इजरायली लडाकु विमानले गरेको बम विष्फोटको बदलास्वरूप इजरायलमाथि मिसाइल आक्रमण गरिएको जनाएको छ ।
इजरायलले त्यसको जवाफ दिँदै इरानको इस्फाहान प्रान्तमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा आक्रमण गर्यो । जहाँ युरेनियम प्लान्ट पनि रहेको थियो ।
यस पृष्ठभूमिमा इरानी राष्ट्रपतिको मृत्यु हुनेगरी भएको हेलिकप्टर दुर्घटनाले विभिन्न खाले अनुमानको लहर फैलाउने निश्चित छ ।
हालसम्म इरानका सरकारी मिडियामा रिपोर्टहरूले उक्त दुर्घटनालाई ‘दुर्घटना’कै रूपमा उल्लेख गरेका छन् । यसबारे इरानी सरकारबाट आधिकारिक भनाइ अहिलेसम्म आएको छैन ।
इरानले उक्त दुर्घटनाबारे अमेरिका या इजरायलको संलग्नता देखिने भनाइ सार्वजनिक गर्यो भने उक्त क्षेत्र थप अशान्त हुने सम्भावना छ ।
अमेरिकी प्रश्न
इजरायलको बलियो सहयोगी अमेरिकाले रायसीको मृत्युबारे कुनै प्रतिक्रिया दिएको छैन । तर, यसअघि आएको समाचार रिपोर्टहरूमा राष्ट्रपति जो बाइडेनलाई अवस्थाको बारेमा जानकारी गराएको उल्लेख गरिएको छ ।
पछिल्ला केही वर्षमा तेहरानको आणविक नीतिलाई लिएर अमेरिका-इरान सम्बन्धमा महत्वपूर्ण घटनाक्रमहरू देखिएका छन् । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौताबाट पछि हटेका थिए र तेहरानमाथि कडा प्रतिबन्धहरू पुनर्स्थापित गरेका थिए । यसले इरानलाई सम्झौतामा उल्लेखित आणविक सीमा उल्लंघन गर्न प्रेरित गरेको थियो ।
दुर्घटनामा मृत्यु भएका ६३ वर्षीय राइसीले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि भएका आणविक परियोजनासँग सम्बन्धित वार्तामा कडा अडान लिएका थिए ।
रोयटर्सका अनुसार इरानको बढ्दो उन्नत प्रविधिमार्फत् अमेरिकी प्रतिबन्ध झेल्न सकिने राष्ट्रपति राइसीको योजना थियो ।
पश्चिम एसियामा देखिएको पछिल्लो द्वन्द्वले थप तनाब बढाएको छ । इजरायलसँगको बलियो सम्बन्धका बावजुद अमेरिकाले गाजामा युद्धको बढ्दो मानवीय लागतलाई लिएर द्वन्द्वको स्थिति कम गर्न खोजेको छ ।
बाइडेनले इजरायलले गाजा शहर रफाहमा आक्रमण गरेमा इजरायललाई हतियार आपूर्ति रोक्ने धम्की दिँदा इजरायलले तीव्र प्रतिक्रिया जनाएको थियो ।
अन्तर्राष्ट्रिय समाचार प्रतिवेदनहरूले बाइडेन प्रशासनका शीर्ष अधिकारीहरूले क्षेत्रीय युद्ध थप चर्काउन इरानी समकक्षीहरूसँग अप्रत्यक्ष वार्ता गरिरहेको दाबीसमेत गरेका थिए ।
राईसीको मृत्युले यस क्षेत्रलाई थप अस्थिर बनाउने सम्भावना छ । यसमा अमेरिकाले कस्तो कदम लिन्छ, त्यो हेर्न बाँकी छ ।
भारतको स्थिति
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राइसीको निधनले भारत दुखी र स्तब्ध भएको बताएका छन् । ‘भारत-इरान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन उहाँले दिएको योगदान सधैं अविश्मरणीय हुनेछ । उहाँको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना । दुखको यो घडीमा भारत इरानको साथमा छ,’ सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मोदीले भनेका छन् ।
मध्य एसियासँगको व्यापार विस्तार गर्ने उद्देश्यले चाबहार बन्दरगाह सञ्चालन गर्न नयाँ दिल्लीले इरानसँग सम्झौता गरेको एक हप्तापछि राइसीको मृत्यु भएको हो ।
भारतले पहिलोपटक सन् २००३ मा यो योजना प्रस्ताव गरेको थियो तर इरानमाथिको संदिग्ध आणविक कार्यक्रमका कारण अमेरिकी प्रतिबन्धले बन्दरगाहको निर्माण र सञ्चालन सुस्त बनेको थियो ।
यो सम्झौताप्रति अमेरिकाले कडा प्रतिक्रिया जनाएको थियो । भारतीय संसदका राज्य विभागका प्रवक्ता वेदान्त पटेलले इरानसँग व्यापारिक सम्झौता गर्ने जो कोहीले पनि प्रतिबन्धको सम्भावित जोखिमबारे सचेत हुन आवश्यक रहेको टिप्पणी गरेका थिए । उल्लेखनीय कुरा के छ भने भारतको सम्बन्ध इजरायल र इरान दुवै देशसँग राम्रो छ ।


समाचार


