मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोककी शान्ति (सानु) गुरुङले आफ्नो ऊर्जाशील सात वर्ष इजरायलमा बिताइन् । सन् २००९ मा इजरायल गएकी उनी २०१५ मा आफ्नै गाउँ फर्किएकी थिइन् ।
केयर गिभरमा इजरायल गएकी उनी मासिक दुई रुपैयाँ कमाउँथिन् । इजरायलमा उनले वृद्धवृद्धाको हेरचाह गर्ने काम गर्थिन् ।

सात वर्ष इजरायलमा बिताएकी सानु अहिले भने आफ्नै माटोमा पौरख गर्न थालेकी छिन् । उनले घरमै नर्सरी स्थापना गरेकी छन् । इजरायलमा गरेको संघर्षले यही केही गर्न आट आएको उनले बताइन् । ‘त्यतिकै समय खेर नफाल्ने भनेर नर्सरी थालेको हुँ,’ उनले भनिन्, ‘म अहिले केही नगरी बस्न नसक्ने भएकी छु । यो चाहिँ मलाई इजरायलले नै बनाएको हो ।’
थोरै लगानीमा उनले नर्सरीको स्थापना गरेकी छिन् । करिब अढाइ/तीन लाख रुपैयाँमा लगानीमा नर्सरी स्थापना गरेको उनले बताइन् ।
लगानी बढाउँदै लैजाने उनको योजना छ । हाम्रो समाजमा एक जनाले कमाउने र अरूले गफ गरेर समय बिताउने चलन छ । उनी भने एक जना कमाउने अनि परिवारका अन्य सदस्यले बसेर खाने चलनको विरोध गर्छिन् । सबैले मेहनत गरे मात्रै देश बन्ने उनको भनाइ छ । ‘म गएकै देश पनि स्थापना भएको लामो समय भएको रहेन छ । उसले विकासमा कति छिटो फड्को मारेको छ । हामी चाहिँ परिश्रम गर्दिनौं अनि कसरी विकास हुन्छ ? उनले भनिन् ।
नर्सरीले दुई/चार पैसा आम्दानीसँगै आत्मसन्तुष्टि मिलेको उनले बताइन् । देखासिकी गर्ने बानीले नेपालीहरू पछि परेको उनको भनाइ छ । ‘इजरायलका मानिसहरू मेहनती हुन्छन् । काम गर्नेहरूलाई रेस्पेक्ट पनि गर्छन् । यहाँ त काम गर्नेलाई इज्जत गर्दैन नि,’ उनले भनिन्, ‘पारिश्रमिक पनि राम्रो दिँदैन । यता चाहिँ काम गर्नेलाई इज्जत गर्छन् र राम्रो पारिश्रमिक पनि दिन्छन् ।’
उनले तिहारका लागि लक्षित गरेर सयपत्री फूलसमेत रोपेकी थिइन् । १५० रुपैयाँमा फूलको माला बनाएर बेच्ने गरेको उनले बताइन् । आफूले उत्पादन गरेका फूलका माला तेह्रथुम धनकुटा तथा स्थानीय बजारमै खपत भएको उनले बताइन् । ‘३ सय मालाको अर्डर आएको थियो,’ उनले भनिन् ।
उनले पहिलो पटक सयपत्री फूल रोपेकी हुन् । अर्काे वर्ष धेरै उत्पादन हुनेगरी रोप्ने उनको योजना छ । सयपत्री फूलको खेती गरेको जग्गामा धान लगाएको भए ५ हजार पनि आम्दानी हुन मुस्किल पर्ने उनको भनाइ छ ।
उनी नर्सरीको काम एक्लै गर्छिन् । घरको काम भ्याएर नर्सरीको काम गर्ने गरेको उनले बताइन् । घरसँगै नर्सरी भएकाले सबै काम आफैंले गर्ने गरेको उनले बताइन् । उनलाई श्रीमान लोकेन्द्रले पनि सघाउने गरेका छन् । सानुका श्रीमान् लोकेन्द्र पनि मोरङकै सलकपुरमा कुखुरा पालन गर्छन् ।


समाचार


