लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘चाइना कार्ड’को तरङ्गबिच भारतीय अधिकारीको दौडधुप बढ्यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने तयारीसँगै नेपालमा भारतीय अधिकारीहरूको गतिविधि बढ्न थालेको छ ।

नेपालस्थित भारतीय दूतावासदेखि अन्य एजेन्सीहरू पछिल्लो समय निकै सक्रिय भएका छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको सक्रियता पनि बढेको छ । उनी विभिन्न दलका नेताहरूसँग उच्चस्तरीय भेटघाट गरिरहेका छन् ।

भारतीय राजदूत श्रीवास्तवले मंगलबार बिहान नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्री ओली र सभापति देउवाबिच सोमबार साँझ भएको भेटघाट भएको थियो । ओली र देउवाबिचको भेटमा छलफल भएको विषय बाहिर नआउँदै भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेट गरेका हुन् ।

भारतीय जनता पार्टीका नेता विजय जोली सोमबार नेपाल आएका छन् । उनले काठमाडौँमा राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

भाजपामा नेपाल मामिलाका जानकार मानिएका उनी नेपाल पटकपटक आइरहन्छन् । भाजपामा विदेश विभाग प्रमुख रहिसकेका उनलाई हाल पार्टीले कुनै जिम्मेवारी भने दिएको छैन ।

स्रोतका अनुसार उनलाई पार्टीले नै नेपाल पठाएको हो । उनी विभिन्न दलका नेता तथा अन्य शीर्ष व्यक्तिहरूसँग भेटघाट गर्ने उद्देश्यले आएको बताइएको छ ।

 

त्यस्तै, भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद पनि नेपाल आएर फर्किसकेका छन् । सीमा सुरक्षा बैठकका लागि उनी कात्तिक ३० गते काठमाडौँ आएका थिए । उनले नेपाल बसाइका क्रममा विभिन्न पक्षसँग भेटघाट गरेका छन् । मंसिर २ गते बैठक सकेर उनी स्वदेश फर्किसकेका छन् ।

बुधबार भारतीय आर्मीका चिफ उपेन्द्र द्विवेदी नेपाल आउँदैछन् । नेपाली सेना प्रमुख अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । द्विवेदी पाँच दिनसम्म नेपालमा रहने बताइएको छ । नेपाली सेनाले उनलाई ‘गार्ड अफ अनर’ दिनेछ । त्यसपछि उनले उच्चस्तरीय भेटघाट गर्नुको साथै पोखरालगायतका ठाउँको भ्रमण गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने गरी तयारी भइरहेको छ । भारतले औपचारिक भ्रमणको निमन्त्रणा नदिएपछि उनी चीनको निमन्त्रणा स्वीकार गर्दै बेइजिङ जान लागेका हुन् ।

माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री ओलीमाथि ‘भारतविरुद्ध चाइना कार्ड प्रयोग गरेको’ आरोप लगाएका छन् । यद्यपि एमाले पार्टीले त्यसको खण्डन गरेको छ ।

देशकै प्रमुख प्रतिपक्षी दलका नेताले यस्तो गम्भीर आरोप लगाएकै समयमा भारतीय अधिकारीहरू नेपालको मामिलामा चनाखो हुन थालेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई लिएर विभिन्न दलका नेतासँग छलफल गर्ने, चीनसँग हुन सक्ने सम्भावित समझदारी र सम्झौताकोबारे चासो राख्न थालेको स्रोत बताउँछ ।

सोमबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भएको भेटघाटमा चीन भ्रमणको एजेण्डाको बारेमा छलफल भएको जानकारी अनौपचारिक माध्यमबाट प्रवाह भएको छ । बीआरआई परियोजनालगायत चीनसँगका विभिन्न सीमा नाका खुला गर्ने, यातायात तथा विभिन्न आयोजना निर्माणको एजेण्डा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा रहने बताइएको छ ।

यद्यपि कांग्रेसले बीआरआईको विषयमा सहमति जनाउन सकिरहेको छैन । बीआरआई परियोजना अनुदानमा आएमात्र स्वीकार गर्न सकिने कांग्रेसको अडान छ । यस विषयमा कांग्रेस र एमालेबिच सहमति जुट्न सकेको छैन । यही परिस्थितिमा भारतीय एजेन्सीहरूको दौडधुप बाक्लिएको हो ।


प्रकाशित : २०८१ मंसिर ५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप