काठमाडौँ । टिकटकमा विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका सेनेगलमा जन्मिएका स्टार खाबे लेम (Khaby Lame) ले ९० करोड अमेरिकी डलर (१ खर्ब ३२ करोड रुपैयाँभन्दा बढी) को ऐतिहासिक व्यापारिक सम्झौता गरेका छन् । यो डिजिटल क्रिएटरको क्षेत्रमा अहिलेसम्मकै ठुलो मनिटाइजेसन मध्ये एक मानिएको छ ।
यो सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने खाबे लेम अब रिच स्पार्कल होल्डिङ्सको नियन्त्रक शेयरधनी (controlling shareholder) बनेका छन् । यसले उनलाई केवल एक क्रियटर साझेदार मात्र नभई आफ्नो ब्रान्डको वरिपरि निर्माण गरिएको व्यावसायिक पूर्वाधारको मालिकको रूपमा स्थापित गरेको छ ।
सम्झौता अनुसार रिच स्पार्कलले आगामी ३६ महिनाका लागि लेमको ब्रान्डसँग सम्बन्धित विश्वव्यापी विशेष व्यावसायिक अधिकारहरू प्राप्त गर्नेछ । यस अन्तर्गत ब्रान्ड साझेदारी र एन्डोर्समेन्ट, लाइसेन्सिङ तथा ई-कमर्स उद्यम, सौन्दर्य सामग्री, सुगन्ध र पोसाक क्षेत्रमा प्रिमियम ब्रान्ड सहकार्य रहेका छन् ।
कम्पनीले यो संरचना पूर्ण रूपमा लागु भएपछि वार्षिक ४ अर्ब डलर सम्मको बिक्री हुन सक्ने अनुमान गरेको छ । यो रणनीति सुरुमा संयुक्त राज्य अमेरिका, मध्य पूर्व र दक्षिण पूर्वी एसियामा केन्द्रित हुनेछ । जसका लागि चीनको अनहुई सिओहेयाङ नेटवर्क टेक्नोलोजीसँग सहकार्य गरिनेछ ।
यस सम्झौताले प्रविधिको प्रयोगमा पनि नयाँ फड्को मारेको छ । अब लेमको एआई-पावर्ड ‘डिजिटल ट्विन’ विकास गरिनेछ । यसले उनको अनुहारको हाउभाउ, आवाज र व्यवहारको ढाँचा प्रयोग गरी बहुभाषिक सामग्री उत्पादन गर्न, भर्चुअल लाइभस्ट्रिमहरू सञ्चालन गर्न र २४ सै घण्टा दर्शकहरूसँग जोडिन मद्दत गर्नेछ ।
खाबे लेम बिना आवाजका, सरल र व्यङ्ग्यात्मक भिडिओका कारण विश्वभर चर्चित भएका हुन् । जसले भाषिक अवरोधहरूलाई तोडेको छ । हाल विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा उनका कूल ३६ करोड (३६० मिलियन) फलोअर रहेका छन् ।


समाचार


