सुर्खेत: कर्णाली प्रदेशमा २१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन एचपिभी खोप दिन लागेको हो ।
माघ २५ गतेदेखि कर्णालीका १० वटै जिल्लाका १४ वर्षमूनिका २१ हजारभन्दा बढी बालिकालाई उक्त खोप दिन लागिएको हो ।
कर्णालीका विद्यालय जाने २० हजार ४ सय ८४ बालिका र विद्यालय नजाने ९ सय १६ जनालाई खोप दिइने छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार माघ २५ गतेदेखि सुरु गरि वैशाखसम्म दिइने छ ।
सुरुमा दैलेख र जाजरकोटबाट सुरु गरिने अभियान सल्यान र रुकुममा २७ गते संचालन हुने छ।
सुर्खेतमा फागुन १ गते, कालीकोट र मुगुमा ४ बाट सुरु हुने छ । यस्तै जुम्ला र हुम्लामा फागुन अन्तिममा हुने छ भने डोल्पाले वैशाख पहिलो सातादेखि सुरु गर्ने निर्देशक डा. रबिन खड्काले बताए ।
खोप लागउने बालिकाहरु सुर्खेतमा ५३ सय ४८, दैलेखमा ३४ सय ३२ कालीकोटमा १८सय १३, सल्यानमा २३ सय २१, जाजरकोटमा २६ सय ११ जना रहेका छन् । यस्तै रुकुम पश्चिममा १८ सय ५०, जुम्लामा १३ सय ४१, हुम्लामा १४ सय १५, मुगुमा ७१५, डोल्पामा ५०२ जनालाई एचपिभी खोप दिइने भएको छ ।
स्वास्थ्य निर्देशक खड्काले अघिल्लो वर्षको खोपको कभरेज ९० प्रतिशत भएको बताए । सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारणको लक्ष्य राखिएको छ । ‘यो खोप निकै प्रभावकारी देखिएको छ,’ उनले भने, ‘करिब पाँच प्रतिशतले खोप लगाउन छुटेको थियो यो वर्ष तोकिएको सबै बालबालिकोले लागाउन पाउने छन् ।’
किन १० देखि १४ वर्ष उमेर तोकियो ?
नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ । चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।
एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन । त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ ।’
‘१४ वर्षभन्दा मुनिका यौनिक गतिविधिमा सक्रिय हुँदैनन् । त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ ।’
परोपकार प्रसूति गृहकी स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. स्मिता राईको अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धुमपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिंदा हुनेगर्छ। ‘एचपीभी विरुद्धको खोप लगाएपछि शरीरमा एन्टिबडी बन्ने हुँदा क्यान्सरको जोखिम कम हुन्छ,’ उनले भनिन् ।
चिकित्सकका अनुसार योनीबाट गन्हाउने पानी आउनु, रक्तस्राव हुनु, पेट दुख्नु र महिनावारी सकिएका महिलामा समेत रगत देखिनु पाठेघरको मुखको क्यान्सर लक्षण हुन् । चिकित्सकको अनुभवमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी ग्रामीण भेगका महिलामा देखिने गरेको छ । परिवार नियोजनका साधनको न्यून प्रयोग र स्वास्थ्य परीक्षणको दायरामा नआउँदा दुर्गम क्षेत्रका महिला बढी प्रभावित हुने गरेका छन् ।
डा. राईले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूमा यो समस्या बढी देखिएको बताइन् । अधिकांश महिला अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गरेका छन् । ‘ग्रामीण क्षेत्रका महिलाहरूमा क्यान्सर परीक्षणबारे जानकारीको कमी र स्वास्थ्य संस्थाको सीमित पहुँचका कारण समस्या बढी छ,’ उनले भनिन् ।
एचपीभी खोप कति सुरक्षित?
एचपीभी भाइरस संक्रमणअघि नै खोप लगाउँदा क्यान्सरबाट ९० प्रतिशतसम्म सुरक्षा प्राप्त हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही बताउँछन् । डा. शाहीका अनुसार ९ देखि १४ वर्षको उमेर समूह खोपका लागि सबैभन्दा उपयुक्त हो। ‘यस उमेरका बालबालिकामा यौन सम्पर्क नहुने हुँदा भाइरस प्रवेश गर्नुअघि नै खोप लगाउन सकिन्छ,’ उनले भने । तर शरीरमा एकपटक भाइरस प्रवेश गरिसकेपछि भने खोपले संक्रमणमुक्त बनाउन नसक्ने उनको भनाइ छ । विभिन्न अध्ययनहरूले ९ देखि २६ वर्ष उमेर समूहका महिलामा खोपको प्रभावकारिता उच्च देखिएको छ । ‘पाठेघरको मुखको क्यान्सरले भयावह रूप लिइरहेकाले महिलालाई अकालको मृत्युबाट बचाउन यौन सक्रिय हुनुअघि नै खोप दिनु जरुरी छ,’ डा। शाही भन्छन् । खोपले पाठेघरको मुखको क्यान्सरका साथै गुद्वार, घाँटी र जननेन्द्रियमा क्यान्सरबाट समेत सुरक्षा प्रदान गर्छ । चिकित्सकहरूले समयमै परीक्षण र उपचार गरिएमा यो क्यान्सर निको हुन सक्ने तर जनचेतनाको कमीका कारण धेरै बिरामी जटिल अवस्थामा मात्र उपचारका लागि आउने गरेको चिकित्सक बताउँछन् ।


समाचार


