सुनसरी । जेनजी विद्रोहपछि आफू मात्रै प्रधानमन्त्री बन्न योग्य पात्र रहेको दाबी थियो, हर्कराज राई(साम्पाङ)को । धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका साम्पाङले जनश्रमदानबाट धरानवासीलाई पानी खुवाए । भलै त्यसको विभिन्न खाले टीकाटिप्पणी हुन्छ ।
त्यही जनश्रमदानबाट साम्पाङले ख्याति कमाए । अहिले प्रतिनिधिसभा चुनाव अगाडि श्रम संस्कृति पार्टी खोलेर त्यसको अध्यक्ष छन् । प्रधानमन्त्री बन्न नपाएका साम्पाङ चुनावबाट प्रतिनिधिसभाको सांसद भने चुनिएका छन् ।
मुलुकभर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को लहर चल्दा सुनसरी–१ बाट साम्पाङ ३५ हजार ७४१ मत बटुल्दै जित निकाल्न सफल रहे । उनी आफू एक्लै चुनाव जितेका छैनन्, हालसम्म उनको श्रम संस्कृति पार्टीले तीन सिट जितिसकेको छ ।
उनीबाहेक भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राईले चुनाव जितेर प्रतिनिधिसभाको टिकट काटिसकेका छन् । अब नजर समानुपातिक तर्फको गणनामा छ । राष्ट्रिय पार्टी कहलिन उनको पार्टीले देशभरको सदर मतको कम्तीमा तीन प्रतिशत हासिल गर्नुपर्ने छ ।
साम्पाङ आफ्नै फरक विद्रोही शैलीका कारण परिचित छन् । ०७९ को स्थानीय तह निर्वाचनमा उनले ‘धरानको खानेपानी समस्या समाधान गर्ने’ एक सूत्रीय एजेन्डा बोकेर चुनाव लडेका थिए । धरानवासीले उनलाई जिताए पनि ।
पछि श्रमदान अभियानमार्फत ४२ किमी टाढाको कोकाहा खोलाबाट दैनिक १० लाखदेखि ११ लाख लिटर खानेपानी धरानका उपभोक्ताका धारामा झार्न सफल भए । विदेश बस्ने र लाहुरे समुदायबाट आर्थिक सहयोग संकलन गरेर सर्दु खोला किनारमा आकर्षक श्रम पार्क निर्माण पनि गरेका छन् ।
पछि खानेपानीको परियोजना माग गर्दै उनले संघीय सरकारको ढोका चहारे । त्यस क्रममा उनी धरानबाटै खाली गाग्री बोकेर सिंहदरबार पुगेका थिए ।
फेसबुकमा साम्पाङका लाखौँ फलोअर्स छन् । त्यहीँ उनी छिनछिनमा अभिव्यक्ति दिइरहन्छन् । ती अभिव्यक्तिकै कारण उनीमाथि सामाजिक सञ्जालमा तिखो आलोचना पनि हुने गर्छ । सञ्चारमाध्यमसँगका अन्तर्वार्तामा पनि उनी आफ्नै शैलीले ठाडो अभिव्यक्ति दिने गर्छन् ।
साम्पाङको पृष्ठभूमि
कलाकार बन्ने सुरमा ०६४ मा साम्पाङले आफ्नै शब्दमा ‘मिसिङ हर्ट’ नामको लोक आधुनिक म्युजिक एल्बम निकालेका थिए । तर उनी साङ्गीतिक बजारमा जम्न सकेनन् । त्यसपछि उनी कहिल्यै धरानका भाषा सेन्टरमा अंग्रेजीका शिक्षक बने, त कहिले इराकदेखि अफगानिस्तानतिर वैदेशिक रोजगारी हिँडे ।
विद्रोही र जिद्दी स्वभावका साम्पाङले आफ्नो उपनाम नै ‘क्रान्ति’ राखेका थिए । वैदेशिक रोजगारबाट फर्केपछि विद्रोही स्वभावलाई मुखरित गर्न समाजमा देखिएका बेथितिविरुद्ध सडकमा एक्लै आन्दोलन गर्न थाले ।
असन्तुष्ट धराने जनताले उनको विद्रोही आवाजलाई साथ दिए । यसैको नतिजामा उनी नेपाल फर्किएको तीन वर्षमै धरानको मेयर जितेका थिए । अहिले प्रतिनिधिसभाको सांसद नै बनेका छन् ।
आफ्नै शैली
४३ वर्षीय साम्पाङले पछिल्लो चुनावी घोषणापत्रमा ‘हर्कवाद (प्रकृति-संस्कृति-प्रविधि)’ दर्शनका प्रणेता र व्याख्याता आफै भएको दाबी गरेका छन् । उनी पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देखि नयाँ भनिएका रास्वपा, उज्यालो नेपाल पार्टी र तिनका नेताको खुला आलोचना गर्छन् ।
रास्वपाका नेताहरूलाई ‘विदेशी एजेन्ट’ भनेर सबैभन्दा बढी आलोचना गर्नेमा साम्पाङ एक हुन् । उनी रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को जमेरै आलोचना गर्छन् ।
तर, उनी जुन संसद्मा प्रतिनिधित्व गर्दै छन्, त्यहीँ रास्वपा दुई तिहाइको मतसहित पुग्दै छ । बालेनको नेतृत्वमा सरकार बन्ने पनि निश्चित भइसकेको छ ।
त्यसैले अब रास्वपाका नेता र उसको सरकारमा संसद्मा सानै दल भए पनि साम्पाङको शैलीले निम्त्याउने विवाद कस्तो हुन्छ ? धेरैको प्रतीक्षा बनेको छ ।

साम्पाङले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्विकार्नपर्छ । तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ ।’ बालेनलाई लक्षित गर्दै उनले थप अगाडि लेखेका छन्, ‘नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन ।’
यस क्रममा बालेनले आइतबारै साम्पाङको अर्को स्टाटसमा कमेन्ट गरेर आफूले उनलाई धेरै माया गर्ने प्रतिक्रिया दिएका छन् । ‘तपाईँलाई सधैँ माया थियो । छ र रहन्छ । तपाईँ र धरानलाई सधैँ माया छ,’ बालेनले लेखेका छन् ।
साम्पाङको विद्रोही रवैया संसद्मा पनि रास्वपाको बालेन सरकारप्रति कडा रूपमा देख्न सकिने अड्कलबाजी भइरहेको छ ।


समाचार


