जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरूले सेनेटरी प्याडमा आत्मनिर्भर बन्ने अठोट लिएका छन ।
अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि उनीहरूले आफनै गाउँबस्तीमा आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेका हुन् । अहिले उनीहरु घरेलु तरिकाले सेनटरी प्याड बनाउदै आएका छन् । उनीहरु बजारदेखि खरिद गरेर लिएको प्याड भन्दा पनि गाउँमै आफैले बनाएको प्याड प्रभावकारी भएको बताउन थालेका छन् ।
सिँजा गाउँपालिकाका लक्ष्मी घर्तिले आफैले सेनेटरी प्याड बनाउन थालेपछि कुनै पनि समस्या नभएको बताउनुभयो । पहिले प्याडको प्रयोग गर्ने बारे जानकारी नहुँदा महिनावारी हुदा समस्या हुने गरेको र अहिले आफ्नै घरमा रहेको साधन स्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेपछि सजिलो भएको महिलाहरूको भनाइ रहेको छ ।
राम्रो र सङ्क्रमण नहुने खालको कपडाको प्याड बनाउने र प्रयोग गरिसकेको प्याड तातोपानीको माध्यमबाट साबुनपानीले धोएर पुनः प्रयोग गर्न मिल्ने गरि बनाउने गरेको महिलाहरूले बताउने गरेका छन् ।