लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नारायणहिटीमा हवन गरेर ‘सतीको श्राप पखाल्ने’ योजना कसको ?

काठमाडौं । देशप्रति निराशाजनक अभिव्यक्ति दिने क्रममा बेलाबखत सुनिन्छ- ‘यो सतीले सरापेको देश हो ।’ चन्द्रशम्शेरले सती प्रथा अन्त्य गरेको धेरै समय भइसकेपछि यो ‘कहावत’ भने चलनचल्तीमै छ ।

के नेपाललाई साँच्चै कुनै सतीले श्राप दिएकी थिइन् ? यसमा इतिहासकारहरुबीच नै विभाजित मत पाइन्छन् । तर ‘श्राप’ आफैंमा कुनै वैज्ञानिक विषय होइन । कसैले श्राप दिँदैमा त्यो लागिहाल्छ भन्ने मान्यतालाई आजको विज्ञानको युगमा कमैले विश्वास गर्छन् ।

यो सन्दर्भ हामीले किन निकालेका हौं भने हालै नारायणहिटी दरवारभित्र एउटा महायज्ञ हुन लागेको थियो, तर कोरोनाका कारण रोकियो । उक्त महायज्ञको ‘थिम’ हो- नेपाललाई कथित ‘सतीको श्राप’बाट मुक्त गर्नु । नेपालमा सतीको श्राप खिल उखेलेझैं उखेल्ने विश्वासका साथ सरकारकै अनुमतिमा यो महायज्ञ गर्न लागिएको थियो ।

महायज्ञका आयोजक दुई संस्था थिए– हजुरलाई नमस्ते परोपकारी संस्था र झापाको श्री सती श्राप मोक्ष धाम । महायज्ञको नाम थियो– सती श्राप मुक्ति श्री शिव शक्ति महायज्ञ ।

कागजी प्रकृया मिलाउने, मुद्दा मिलाउने जिम्मा ‘सती श्राप धाम’ले पाएको थियो भने अन्य व्यवस्थापन मिलाउने जिम्मा ‘हजुरलाई नमस्ते’ ले । नारायणहिटी दरबार संग्रहालयको पूजा कोठामा महायज्ञ गर्न संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले अनुमति दिइसकेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत महायज्ञ लगाउने प्रस्ताव स्वीकृत गरेको थियो ।

महायज्ञको मूल आयोजक समितिले माघ १९ गतेदेखि २९ गतेसम्म महायज्ञ गर्ने तयारी थालेको थियो । ९ दिनसम्म चल्ने महायज्ञ गर्ने साइत संहिताशास्त्री डा. अर्जुनप्रसाद बास्तोलाले र होमहोमादीमा पीएचडी गरेका डा. बाबुराम रिजालले जुराएका थिए ।

महायज्ञको साइतका विषयमा विवाद भएको थियो । आयोजकले माघ २३ पछिको साइत निकाल्न भनेको थियो । तर पण्डितहरुले माघ १९ गते साइत निकालेका थिए । नेपालमा पञ्चाङ्ग समिति छ भनेर आफूलाई जानकारी नरहेको महायज्ञका संयोजक हजुरलाई नमस्ते परोपकारी संस्थाका ताराबहादुर कुँवर बताउँछन् ।

महायज्ञको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वराजा ज्ञानेन्द्रलाई समेत आमन्त्रण गरिएको थियो । उनीहरु आउने निश्चित भने भइसकेको थिएन ।

ओमिक्रोनका कारण जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्य बन्द गर्न आदेश दिएको भन्दै संग्रहालयले अघिल्लो दिन मात्रै महायज्ञ स्थगित गर्न मूल आयोजक समितिलाई आग्रह गरेको थियो ।

यस्तो खालको महायज्ञ पहिलोपटक लगाउन आँटिएको हो । तर पहिलो प्रयास नै असफल भएको छ ।

महायज्ञका संयोजक कुँवर भन्छन्, ‘हामीले अनुमति लिएरै गर्न थालेका थियौं । सरकारले पत्र पठाएपछि अहिलेलाई स्थगित गर्‍याैं।’

कोरोना अलि सहज भएपछि महायज्ञ गरिने उनले बताए । अब गर्दा फेरि विद्धानहरुसँग साइत जुराइने उनले जानकारी दिए ।

महायज्ञ गर्ने विधिविधान विद्धानहरुले जान्ने उनको तर्क छ ।

संयोजक कुँवर भन्छन्, ‘कुन विधिबाट गर्दा फल प्राप्ति हुन्छ । पण्डितहरुले जान्ने कुरा हो । हामीले व्यवस्थापन गरिदिने हो । खर्च र ठाउँ जुटाइदिने हो । उहाँहरुको पारिश्रमिक हामीले दिने हो ।’

उनले थपे, ‘देशमा राम्रो होस, जनताको सुख–शान्तिमा बल पुगोस् भनेर हामीले महायज्ञ गर्न लागेका हौं ।’

देशको लागि केही गरौं भनेर केही व्यक्ति मिलेर खर्च जुटाइएको कुँवरले जानकारी दिए ।

सतीको श्रापका कारण पनि देशमा शुभ अवस्था बन्न नसकेकाले यो महायज्ञ गर्न लागेको कुँवरले बताए ।

उनले व्याख्या गरे, ‘देशमा जताजतै भताभुंग छ । सबैतिर तहसनहस छ । मान्छेहरु अन्यायमा परेका छन् । कोही पनि जनता खुशी छैनन् । यो सबै अवस्था सतीको श्रापका कारण नै उत्पन्न भएको निस्कर्ष निकालेर महायज्ञ गर्न लागेका हौं । सतीको श्रापलाई खिल उखेलेझैं उखेल्ने योजना छ ।’

मोक्ष हुन नसकेका आत्माहरुको मोक्षका लागि पनि यो महायज्ञको आयोजना गरिएको उनले बताए ।

कुँवरले भने, ‘कतिपय मरेका मान्छेहरुको किरिया भएको छैन । १० वर्षे जनयुद्धमा १७ हजार मर्दा कति बेपत्ता भए होलान् । महाभूकम्प, बाढीपहिरोमा परी कति बेपत्ता छन् । कतिलाई बलात्कार गरेर मारेका छन् । कोही आत्महत्या गरेका छन् । कोरोना महामारीबाट मरेकाहरुको अन्तिम संस्कारसहित काजक्रिया भएको छैन । त्यसैले यी सबैको आत्माको मोक्षका लागि महायज्ञ गर्न लागिएको हो ।’

अर्को मितिमा नायणहिटीमा नै महायज्ञ गर्ने उनले बताए । यदि नारायणहिटी नपाइएको खण्डमा हेटौंडामा १८ महिनासम्म महायज्ञ लगाउने उनको भनाइ छ ।

उनले भने,‘यो देशमा सतिले सरापेको भन्छ । त्यसलाई खिल झिकेको जसरी निकाल्ने र सतीको सरापलाई नफालि हुँदैन भनेर लागेको हो । भर्खर यो शुभारम्भ भयो । अब हामी निरन्तर लाग्छौं ।’

यो देशमा राम्रो काम गर्नेलाई ठाउँ नभएको उनले गुनासो पोखे । उनले भने,‘ हामी देशमा सतिको श्राप मुक्त हौ भनेर माग्छौं ।’

महायज्ञ गर्न ५० लाख जति खर्च लाग्ने अनुमान समितिले गरेको थियो । आपसमै साथीभाइबाट पैसा जुटाएर गर्न लागिएको कुँवरले बताए । अन्तिम समयमा आएर स्थगित हुँदा धेरै घाटा लागेको उनको गुनासो छ ।

कुँवरले भने, ‘यहाँ पनि कति सामानलाई पैसा दिइसक्यौं । कति सामान अर्डर गरिसक्यौं । दरबारभित्र रंगरोगन भइसक्यो । एक महिनादेखि हामी खटेका खट्ययै छौं । अलि अगाडि नै निर्देशन दिइएको भए हुन्थ्यो । हिजोसम्म हामी सामान किन्दै थियौं ।’

के हो सतीको श्रापवाला संकथन ?

सतीको विषयमा अध्ययन गरेर पुस्तक निकालेका लेखक सुजित मैनाली ‘सतीको श्राप’ एउटा किंवदन्ती मात्रै भएको बताउँछन् । यसलाई उनले ‘गयगुज्रेको मान्यता’ को संज्ञा दिए ।

सती प्रथा र कथित महायज्ञका विषयमा मैनाली यसो भन्छन्ः-
‘काजी भीम मल्लले देशको लागि राम्रो काम गरेका थिए । राम्रो गर्दागर्दै मारिएपछि उनकी श्रीमतीले सती जाने बेलामा ‘यो देशको भलो गर्नेको कहिले पनि हित नहोस्’ भनेर श्राप दिएकी थिइन् । सतीको श्राप त्यहाँबाट सुरु भएको भन्ने छ । तर, यो किम्बदन्ती हो, इतिहास होइन ।

यसमा दुईवटा कुरा याद गर्नुपर्ने हुन्छ । श्रीमानको मृत्युमा सती जानेलाई असैह्य पीडा हुन्छ । उनीहरु स्वेच्छाले होइन, वाध्यताले कष्टका साथ मर्थे । लौरोले हानेर, अफिम खुवाएर पनि मार्थे ।

अर्को चाहिँ सतीको श्राप सुन्यो भने लाग्छ भनेर विधवालाई आगोमा हालेपछि नगरा,  झ्यालीहरु बजाइन्थ्यो । जयजयकार गरिन्थ्यो । त्यो गरेपछि सतीको आवाज दबिन्छ भनेर हो । उसले चिच्याएको आवाज सुनिँदैन । ‘सती सावित्री’ लाई पोल्दैन भनेर ढाँट्थे । ढाँट्न सजिलो होस् भनेर सतिको श्राप भन्ने अवधारणा दुरुपयोग भएको पाइन्छ ।

सरकारले सतीका नाममा गरिने यस्ता यज्ञलाई प्रोत्साहन गर्न मिल्दैन । यस्ता कर्मकाण्डबाट समाज सुधार हुने पनि होइन । यो सर्वथा अनुपयुक्त हो । जुन धर्मले सतीको हत्या गर्‍यो, त्यही धर्मले ‘मोक्ष यज्ञ’ भनेर अर्को नराम्रो काम गर्न खोजेको छ ।

हिजो हामीले गल्ती गरिएछ भनेर माफी मागेर अबदेखि महिलाविरोधी गतिविधीहरु चालचलन गर्दैनौं र गर्न दिँदैनौं भनेको भए सार्थक हुन्थ्यो ।’  नेपाल प्रेस


प्रकाशित : २०७८ माघ २०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप