सान्ता फे । आफ्ना घरमा चोरी गर्न एआर–१५ राइफल लिएर आएका व्यक्तिले क्षमा माग्दै दुईसय अमेरिकी डलर छाडेर जाने चोरको व्यवहार देखेर अमेरिकाको न्यु मेक्सिको राज्यको एउटा परिवार छक्क परेको छ । घरका परिवार फर्कनुअघि ति चोरले सान्ता फे नजिकको त्यो घरमा वियर खाएको, बेलुकीको खाना पकाएर खाएको, सुतेको र नुहाएको सान्ता फेको प्रहरी विभागले जनाएको छ ।
अचानक घर आइपुगेका परिवारसँग जम्काभेट हुँदा नाम नखुलाइएका ति चोरले तिनीहरुलाई डर धम्की देखाएर कुनै पनि गरगहना र अन्य सामान नलिई त्यहाँबाट क्षमा मागेर हिँडेका थिए । निकै शिष्टतापूर्वक ति चोरले झ्याल फुटाएकोमा माफी माग्दै त्यसको मर्मतका लागि दुईसय अमेरिकी डलर दिएका थिए ।
करिव २० वर्षिय र छ फिट अग्लो चोरले परिवारसँग आफ्नो दुखद कथा पनि सुनाएका थिए । उनले पूर्वी टेक्सासमा आफ्नो परिवारको हत्या भएको र आफूलाई कसैले पछ्याउँदै गरेको तथा सान्ता फे नजिकै आफ्नो कार बिग्रेको बताएका थिए ।
उनले जानेक्रममा आफ्नोे झोला र राइफल त्यहि छाडेर गएका थिए । उनले त्यहाँ १५ डलर जतिको मात्र खानपिन गरी हिँडेको समाचारमा उल्लेख छ ।