लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

एउटा चिठी पढेर नेपाल आएकी बेलायती डाक्टर

६६ वर्षीया डा. सेर्ली भन्छिन्ः बिरामीले मलाई भगवान भन्छन् तर म भगवान होइन आमा हुँ

बेलायती स्वयंसेवी चिकित्सक सेर्ली हेउड इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) द्वारा आयोजित स्वास्थ्य शिविरमा मुगु गएकी थिइन्। त्यहाँ उपचारका लागि एक जना किशोरी आइन्।

ती किशोरीलाई फिस्टुला भएको रहेछ। १३ वर्षको उमेरमा बिहे गरेकी उनले एक वर्षपछि नै बच्चा जन्माएकी रहिछन्। रोगी भएपछि श्रीमान–श्रीमतीको सम्बन्ध बिग्रिएछ। किशोरी एक्लै बस्दी रहिछन्। फिस्टुलाले सताएर अवस्था निकै गम्भीर भए पनि छाक टार्न भारी बोक्दी रहिछन्।

डा. सेर्लीका अनुसार ती किशोरीको अवस्था निकै दयनीय थियो।

‘त्यसअघिका शिविरमा पनि फिस्टुलाका केही बिरामी आउँथे। हामी उनीहरूलाई पाटन अस्पताल रिफर गर्थ्यौं,’ डा. सेर्लीले भनिन्, ‘मुगुको शिविरमा आएकी किशोरी काठमाडौं उपत्यका गएर उपचार गर्न सक्ने अवस्थामा थिइनन्।’

शरीरको कुनै अंग वा रक्तनली अर्को अंगमा जोडिएर असाधारण आकार विकास हुनुलाई फिस्टुला भनिन्छ। सामान्य भाषा भन्दा भित्री अंगमा पर्ने अनावश्यक प्वाल। महिलाहरूको योनीमा फिस्टुला हुने कारण धेरै हुन सक्छन्। बच्चा जन्माउने बेला संक्रमण भए, पेटको शल्यक्रिया क्रममा, दुर्घटनामा चोटपटक लागेर वा केही गम्भीर रोगका कारणले फिस्टुला हुन सक्छ। फिस्टुला हुँदा मलाशय वा पिसाबथैलीको बाटो खुल्छ र दिसा-पिसाब अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।

‘मुगुमा भेटिएकी किशोरीमा बच्चा जन्माउँदा भएको जटिलताका कारण फिस्टुला भएको थियो,’ डा. सेर्लीले बताइन्।

गम्भीर अवस्थामा रहेकी ती किशोरी आमालाई देखेपछि उनको मन एक तमासको भयो। यस्तै अवस्थाका अरू बिरामी कति होलान् भन्ने लाग्यो। उक्त घटनाले डा. सेर्लीलाई मध्यपश्चिम क्षेत्रमै फिस्टुला अस्पताल स्थापना गरेर उपचार दिन पाए हुन्थ्यो भन्ने लाग्यो।

अस्पताल त स्थापना गर्ने तर जनशक्ति कहाँबाट ल्याउने! त्यो समयमा स्वास्थ्यसम्बन्धी जनशक्ति र स्वास्थ्य सेवामा कर्णाली क्षेत्र निकै कमजोर थियो। फिस्टुला उपचारको विशेष जनशक्ति हुने त कुरै भएन।

सन् २००८ मा डा. सेर्ली फिस्टुलासम्बन्धी विशेष तालिम लिन आफैं अफ्रिकी मुलुक इथियोपिया गइन्। उनको उद्देश्य एउटै थियो– कर्णालीमा विशेष अस्पताल स्थापना गरेर फिस्टुला पीडित महिलाको उपचार गर्नु।

‘यहाँ जनशक्ति नै थिएन। अस्पताल स्थापना गर्नुअघि फिस्टुलाको उपचार सिक्न आफैं इथियोपिया गएँ,’ उनले भनिन्, ‘छात्रवृत्तिका लागि मैले दिएको आवेदन स्वीकृत हुँदा उपचार गर्न सक्ने भएर आउँछु भनेर खुसी भएँ।’

तालिमबाट फर्केपछि उनले सन् २००९ मै गैरसरकारी संस्था आइएनएफसँग मिलेर त्यति बेलाको मध्यपश्चिम क्षेत्रका सबै अस्पतालमा फिस्टुलासम्बन्धी शिविर चलाइन्। उनका अनुसार उक्त वर्ष फिस्टुलाका दस जना महिला बिरामीको शिविरमै शल्यक्रिया भयो। सन् २०१० मा ११ जनाको शल्यक्रिया भयो।

‘म र मेरो टिमले स्वास्थ्य चौकीहरूमा पुगेर फिस्टुलाबारे जानकारी गरायौं। रेडियोहरूबाट जनचेतनामूलक सामग्री प्रसारण गरायौं,’ सेर्लीले भनिन्, ‘त्यसपछि बिरामीहरू भेट्न आउन थाले। तारन्तार फोन आउन थाल्यो।’

फिस्टुला रोगबारे जानकारी पुगेपछि र उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएपछि डा. सेर्लीको टिम फिस्टुला विशेष अस्पताल स्थापना गर्ने निष्कर्षमा पुग्यो।

विशेष अस्पताल बनाउनुअघि तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग समन्वय गरेर फिस्टुलाका बिरामीको उपचार गर्ने कुरा भयो। तर अस्पतालको क्षमता पुगेन। क्षेत्रीय अस्पताल ५० शय्याको मात्रै थियो।

क्षेत्रीय अस्पतालमा ठाउँ नपुगेपछि टिमले त्रिपाल टाँगेर सुर्खेतमा फिस्टुलाका बिरामीको उपचार सुरू गर्‍यो। त्रिपालभित्र पहिलो चरणमा ७० जना बिरामी आए। तीमध्ये ५६ जनाको शल्यक्रिया गरेको डा. सेर्लीले बताइन्। त्यस बेला उनलाई सहयोग गर्न एकजना चिकित्सक उनकै देश, बेलायतबाट आएका थिए।

फिस्टुला उपचारका लागि विशेष अस्पताल निर्माण गर्न कर्णाली प्रदेश अस्पतालले जग्गा दियो। डा. सेर्लीको सक्रियतामा ‘फिस्टुला उपचार केन्द्र’ नाम राखेर छ करोड रूपैयाँको लागतमा भवन निर्माण भयो। अस्पतालमा हाल १७ शय्या छन्।

फिस्टुला उपचार केन्द्रले २०७५ असोजमा पक्की भवनबाट सेवा सुरू गर्‍यो। कर्णाली प्रदेश अस्पतालको निगरानी तथा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पताल, सुर्खेतको सहयोगमा फिस्टुला उपचार केन्द्रले निरन्तरता पाएको छ। आफूले विभिन्न व्यक्ति र निकायसँग आग्रह गरेपछि सुर्खेतमा फिस्टुला अस्पताल स्थापना गर्न आर्थिक सहयोग जुटेको डा. सेर्लीले बताइन्।

उमेरले ६६ पुग्नै लागेकी डा. सेर्ली स्त्रीरोग विशेषज्ञ हुन्। यो उमेरमा पनि कामका लागि उनको ठोस तालिका छैन। बिरामीको आवश्यकता अनुसार अस्पतालमा खट्छिन्। उनी स्वयंसेवी चिकित्सकका रूपमा नेपाल आएकी हुन्। किशोरवयमा पढेको एउटा चिठीका कारण उनको मन नेपालतिर फर्किएको हो।

उक्त चिठी क्रिश्चियनहरूको एउटा संगठनद्वारा भारतमा सञ्चालित एउटा अस्पतालबाट सेर्लीका आमाबाको नाममा गएको थियो। चिठी त्यही अस्पतालबाट सेवानिवृत्त हुन लागेका एक जना चिकित्सकले लेखेका थिए।

सेर्लीका अनुसार चिठीको मजबुन थियो– बेलायतमा जनसंख्याको तुलनामा पर्याप्त चिकित्सक छन्। भारतको छिमेकी देश नेपालमा डाक्टरको अभाव छ। के तपाईं आफ्नो परिवारबाट कसैलाई नेपाल पठाएर सेवामा लगाउन सक्नुहुन्छ?

सेर्ली त्यो बेला १६ वर्षकी थिइन्। उनले चिठी पढिन्। यसपछि उनको मनमा म डाक्टर पढेर नेपालमा सेवा गर्छु भन्ने विचार उत्पन्न भयो। नभन्दै सेर्लीले मेडिकल शिक्षा पढ्ने अवसर पाइन्। बेलायतबाटै पढाइ पूरा गरेर उनी सन् १९८५ मा स्त्रीरोग विशेषज्ञ बनिन्।

पढाइ पूरा भएपछि उनले नेपाल आउने प्रयास गरिन्, सफल भएन। उनी पाकिस्तान पुगिन्। त्यहाँ तीन वर्ष काम गरिन्।

‘मैले पाकिस्तानमा स्त्रीरोगको उपचारबारे राम्रो अनुभव लिने मौका पाएँ,’ उनले भनिन्।

बेलायत फर्केर उनले फेरि नेपाल आउने प्रयास गरिन्। फेरि पनि असफल भइन्। उनले पाकिस्तान नै जाने सुझाव पाइन्। उनी भने पाकिस्तानमा सेवा दोहोर्‍याउन चाहन्न थिइन्। बरू शिक्षक बनेर पपुवा न्युगिनी गइन् र एउटा मेडिकल कलेजमा आठ वर्ष पढाइन्। उनका अनुसार त्यति बेला पपुवा न्युगिनीको स्वास्थ्य सेवा पनि नेपालको जस्तै कमजोर थियो।

पपुवा न्युगिनीबाट उनी सन् २००२ मा स्वदेश फर्किन्। केही महिना बसिन्, नेपालबारे पढिन्, बुझिन्। स्वयंसेवी चिकित्सकका रूपमा नेपाल आउने सेर्लीको प्रयास सन् २००३ मा सफल भयो। त्यसयता उनी लगातार जसो नेपालमै छिन्।

सेर्ली नेपालमा प्ररम्भिक दिनमा आइएनएफमा स्वयंसेवकका रूपमा जोडिइन्। यसैमार्फत विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा काम गरिन्। पश्चिम क्षेत्रको चिकित्सा जनशक्तिलाई शल्यक्रियाबाट सुत्केरी गराउन सिकाइन्।

‘नेपाल आएपछि सुरूमा डा. न्हुच्छेमान डंगोलसँग मिलेर काम गरेँ। उहाँसँग दुई वर्ष काम गर्दा ७५ वटा शल्यक्रिया गरेँ,’ सेर्लीले भनिन्।

सुरूका केही वर्ष जुम्लामा पनि काम गरिन्। उनी वर्षमा एक पटक जुम्ला पुगेर केही दिन बस्थिन्। स्वास्थ्य शिविर चलाउन मुगु, जुम्ला, गुल्मी, बाग्लुङ लगायत पहाडी जिल्ला पुगिन्। उनले रुकुममा पनि काम गरिन्।

हाल डा. सेर्ली आफ्नै अगुवाइमा स्थापित फिस्टुला उपचार केन्द्रकी निर्देशक छिन्। सेवाबापत आफूले अस्पतालबाट कुनै आर्थिक सुविधा नलिएको उनको भनाइ छ।

‘मलाई नेपालमा जीवन निर्वाह गर्ने खर्च बेलायतबाटै साथीभाइले पठाउँछन्,’ सेतोपाटीसँग उनले भनिन्, ‘मैले यहाँबाट पैसा लिन मिल्दैन। मलाई साथीहरूले गरेको आर्थिक सहयोग पनि डोनेसनजस्तै हो।’

डा. सेर्ली मौका पारेर आफ्नो मातृभूमि बेलायत जान्छिन्। त्यहाँबाट उनी अस्पताललाई आर्थिक सहयोग जुटाउँछिन्। उनले भनिन्, ‘बेलायतमा ठाउँठाउँ गएर नेपालमा आफूले गरेको काम र यहाँको अवस्थाबारे सुनाउँछु। इच्छुकले सहयोग गर्छन्।’

नेपालमा स्वयंसेवी चिकित्सकका रूपमा काम गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको डा. सेर्लीको भनाइ छ। फिस्टुला उपचारका लागि अस्पताल आएका महिलाले निको भएर फर्किँदा उनलाई ‘भगवान’ नै ठान्छन्।

‘फिस्टुला भएर तड्पिँदै आएका बिरामी हाँसिलो अनुहार लिएर घर फर्किँदा मलाई असाध्यै खुसी लाग्छ,’ उनी भन्छिन्, ‘उनीहरू मलाई तपाईं भगवान हो भन्छन्। तर उनीहरूलाई म भगवान होइन, आमा हुँ भन्छु।’

डा. सेर्लीका अनुसार निको भएर गएकालाई अस्पतालले एक वर्षसम्म तीन–तीन महिनामा फोनबाट फलोअप गर्छ। कुनै समस्या भएको थाहा भए थप उपचारका लागि बोलाउँछ। केन्द्रमा आउने सबै बिरामीले निःशुल्क उपचार पाउँछन्। बिरामी र एकजना कुरुवाको खाना, बास र यातायात खर्च अस्पतालले बेहोर्छ। बिरामी अर्को अस्पतालमा पठाउनु पर्‍यो भने पनि केन्द्रले नै खर्च बेहोर्ने डा. सेर्लीले बताइन्।

अस्पताल स्थापना भएयता फिस्टुलाका पाँच सयभन्दा बढी बिरामीले सेवा लिएका छन्। तुलनात्मक रूपमा बिरामी आउने दर घट्न थालेको छ।

बेलायतमा जस्तै नेपालमा पनि कुनै दिन फिस्टुलाको समस्या शून्य हुने अपेक्षा सेर्लीको छ।

‘अहिले नेपालमा मातृ मृत्युदर र फिस्टुलाको समस्या धेरै कम भएको छ,’ उनले भनिन्, ‘मलाई आशा छ, एक दिन मेरो देश बेलायतजस्तै नेपालमा पनि फिस्टुलाको बिरामी संख्या शून्य हुनेछ।’

नेपालमा स्वास्थ्य सम्बन्धी जनचेतना बढ्दै जाँदा अस्पतालमा बच्चा जन्माउने क्रम बढेको र यसबाट फिस्टुला र मातृ मृत्युदर घटेको उनको ठहर छ। जनचेतनासँगै सडक, सवारीसाधन, एम्बुलेन्स, मोबाइल फोन लगायतको स्वास्थ्य सेवामा पहुँच बढेको पनि उनले बताइन्।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार डा. सेर्लीले प्रदेश अस्पताललाई पनि सहयोग गरेकी छन्। यो जिल्ला अस्पताल हुँदादेखि नै उनले सहयोग गरिरहेकी डा. खड्काले बताए।

‘उहाँ (डा. सेर्ली) नेपाल आएको धेरै लामो समय भयो,’ खड्काले भने, ‘सिनियर स्त्रीरोग विशेषज्ञ भएकाले गाह्रोसाह्रो पर्दा हामी उहाँलाई नै बोलाउँछौं। कहिल्यै नाइँ भन्नुहुन्न।’

उनका अनुसार फिस्टुला उपचार केन्द्र नेपालमा यस प्रकारको पहिलो र एक मात्र अस्पताल हो। यो केन्द्र कर्णाली प्रदेश अस्पतालकै मातहत रहने गरी हस्तान्तरण हुने पनि डा. खड्काले बताए।

करिब दुई दशकदेखि नेपालमा महिलाको स्वास्थ्य सुधारका लागि स्वयंसेवामा लागेकी डा. सेर्ली चाँडै स्वदेश फर्किने सोचमा छिन्। दुई वर्षभित्र फर्किने योजना बनाएकी उनको घरमा आमा मात्र छिन्।

‘अब मेरी आमालाई मेरो आवश्यकता छ, उहाँ ९० वर्षकी हुनुभयो,’ डा. सेर्लीले भनिन्, ‘घरमा आमा मात्रै हुनु हुन्छ, मैले आमाको सेवा गर्नुपर्छ।’

बेलायत गए पनि मौका पारेर नेपाल आउजाउ गरिरहने उनको सोच छ ।


प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •