युक्रेन अहिले गम्भीर संकटको सामना गरिरहेको छ । ऊमाथि शक्तिशाली छिमेकी रुसले युद्ध घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्न पठाएका झन्डै दुई लाख सेनासँग युक्रेनी सेना, त्यहाँको नागरिक र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की एक भएर प्रतिरोध गरिरहेका छन् । यो गम्भीर संकटमा जेलेन्स्कीले जनताको नाममा गरेको सम्बोधन र भिडियो सेल्फीहरूले युक्रेनी जनतालाई रुसविरुद्धको प्रतिरोधमा हौसला दिइरहेका छन् ।
वासिंटन पोस्टले हालै प्रकाशित गरेका समाचार अनुसार जेलेन्स्कीको ज्यानमाथि खतरा भएकाले अमेरिकाले सुरक्षित बहिर्गमन गर्न सघाउने प्रस्ताव गरेको थियो । जसलाई उनले अस्वीकार गरिदिए । सामाजिक सञ्जालमा रुसी फौजको आगमनलगत्तै नेताहरू भागेको हल्लाबीच जेलेन्स्कीले एक भिडियो सन्देश पोस्ट गरेर ‘सेना र नागरिक जहाँ छन्, आफू त्यहीँ रहेर देशको स्वतन्त्रताको प्रतिरक्षा गरिरहेको’ जानकारी दिएका थिए ।
जेलेस्की स्वयंले आफू रुसको निशानाको पहिलो नम्बरमा रहेको बताएका छन् । यसका बाबजुद उनले पटक–पटक आफूले देश नछाड्ने दोहोर्यारहेका छन् । जेलेन्स्कीको यो रुपले युक्रेनी जनता र रुसी आक्रमणविरोधी विश्वको मन जितेको छ । युक्रेनभित्र पनि उनको लोकप्रियता उकालो लागिरहेको छ ।
सफल हास्यकलाकार जब राष्ट्रपति बने
सन् २०१९ मा युक्रेनको राष्ट्रपतीय निर्वाचनमा उठ्नुअघि भोलोदिमर जेलेन्स्की युक्रेनका सबैभन्दा चर्चित हाँस्य–कलाकार थिए । चर्चित टेलिशृंखला ‘सर्भेन्ट अफ द पिपुल’मा जेलेन्स्कीले भ्रष्टाचारविरोधी भाषण दिएका कारण देशको राष्ट्रपति बन्न सफल पात्रको भूमिका निभाएका छन् । सन् २०१९ को राष्ट्रपतीय चुनावमा यही देशमा व्याप्त भ्रष्टाचार र त्यसको पृष्ठपोषक अभिजात वर्गविरुद्ध युद्ध छेड्ने नारा दिएर उनले उम्मेदवारी दिए ।
यो नाराले भ्रष्टाचारबाट आक्रान्त युक्रेनी मतदाताको मन जित्न सफल भयो र जसका कारण सो निर्वाचनमा उनले ७३ प्रतिशत मत पाए । योसँगै केही समयअघिका हाँस्य अभिनेता युक्रेनको छैटौँ राष्ट्रपतिमा निर्वाचित हुन सफल भए । ४४ वर्षीय जेलेन्स्कीले दोस्रो कार्यकालका लागि लडिरहेका तत्कालीन राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई पराजित गरेका थिए ।
जेलेन्स्कीको जितबाट सबै खुसी थिएनन् । भूराजनीतिक रूपमा संवेदनशील स्थानमा रहेको मुलुकमा राजनीतिक अनुभव नभएको राष्ट्रपतिको आगमनलाई केहीले असहज मानेका थिए । अझ उनको चुनावी अभियानमा युक्रेनका सबैभन्दा धनीमध्येका एक अर्बपति तथा विभिन्न भ्रष्टाचार आरोप लगेका इगोर कोलोइस्कीको मुख्य लगानी थियो । चुनाव प्रचारका लागि उनले कोलोइस्कीको बुलेटप्रुफ गाडी प्रयोग गरेका थिए । यसले उनको अभिजात वर्गलाई कानुनले कस्ने वाचाप्रति नै प्रश्न गर्नेहरू पनि थिए ।
तर, अर्बपति कोलोइस्कीको कठपुतली नेता हुने आम आशंकालाई उनले पदमा रहँदा प्राइभेट–बैंकको पुनः निजीकरण गर्न आएको दबाबलाई अस्वीकार गरेर आश्वस्त पार्ने प्रयास गरे । सो बैंक निजीकरण हुनुअघि कोलोइस्कीको स्वामित्वमा थियो । त्यसबाहेक उनी सत्तामा आएपछि सरकारी खर्च कटौती गर्ने केही योजना कार्यान्वयन गरे । उनले चुनावमा वाचा गरेअनुरूपको काम नभए पनि युक्रेनी नागरिकहरू उनीमाथि आशाका नजर हेरिरहेकै थिए ।
रुसलाई नचिढ्याउने पश्चिमसँग पनि छिट्टै नजिक नहुने नीति
जेलेन्स्कीको प्रमुख चुनावी नारामा पूर्वी भेगमा जारी द्वन्द्व अत्य गर्ने पनि एक थियो । सन् २०१४ देखि सुरु भएर १४ हजारभन्दा बढी मृत्यु गराएको यस द्वन्द्व समाधान गर्ने प्रयासमा सीमित सफलता मात्र हासिल गरे । कैदी हस्तान्तरण गर्ने, मिन्स्क सम्झौताका थप अंश कार्यान्वयन हुनेबाहेक महत्वपूर्ण उपलब्धि हासिल भइरहेको थिएन । जेलेन्स्की युक्रेनको दक्षिणपूर्वी रुसी भाषा बोलिन क्षेत्रमा जन्मिएकाले उनलाई युक्रेनको एकतामा सो क्षेत्रको महत्व राम्ररी थाहा थियो । त्यसैले उनले रुसलाई धेरै नचिढ्याउने र पश्चिमसँग छिट्टै नजिक नहुने नीति लिएका थिए । तर, यो नीति द्वन्द्व समाधानमा अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकिरहेको थिएन । सन् २०२० सम्म आइपुग्दा चुनावी वाचाहरू अपेक्षाअनुरूप कार्यान्वयन गर्न नसकेकोले मत सर्वेक्षणहरूमा उनको लोकप्रियता निरन्तर खस्किरहेको थियो । तर, पछिल्लो युद्धमा उनले देखाएको नेतृत्वदायी तथा प्रेरणादायी भूमिकाले लोकप्रियता पुनः बढ्न थालेको छ ।
विशेषतः जेलेन्स्कीको दबाब तथा निरन्तरको घच्घचाइले पश्चिमी शक्तिहरू रुसविरुद्ध विगतमा तिनले घोषणा गरेभन्दा कठोर कदम चाल्न थालेका छन् । युक्रेनी राष्ट्रपतिको निरन्तरको प्रयासले गर्दा अमेरिका र युरोपियनले शीघ्रताका साथ रुसलाई एक्लाउने प्रतिबन्ध घोषणा गरेका छन् । अमेरिकाले पहिले रुसी व्यवहारजस्तो हुन्छ सोहीअनुरूप क्रमैसँग प्रतिबन्ध घोषणा गर्ने जनाएको थियो । तर, वासिंटन र उसको मित्रले अहिले पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध घोषणा गर्नेदेखि रुसी केन्द्रीय बैंकलाई डर कारोबारमा रोक लगाउने र रुसका प्रमुख बैंकहरूलाई विश्वव्यापी वित्तीय संजाल ‘स्विफ्ट’बाट निकाल्ने घोषणा गरिसकेका छन् । जर्मनीले यसअघि रुसी प्रतिरोधमा सघाउने हतियार पठाउन अनकनाइ रहेकोमा युक्रेनी सरकारको लगातारको अनुरोधपछि उसले अन्ततः हतियार पठाउने घोषणा गरेको छ । अझ रुसप्रति नरम ठानिने पोल्यान्ड र टर्कीका नेताहरूले समेत रुसविरुद्ध उभिने निर्णय लिएका छन् ।
स्टेजमा तिखारेको कला युद्धमा प्रयोग
गत बिहीबार रुसले आक्रमण गरेदेखि ४४ वर्षीय जेलेन्स्कीले स्टेजमा तिखारेको कलालाई प्रयोग गरेर सामाजिक सञ्जालमा प्रभावकारी रूपमा आफ्नो सन्देश प्रवाह गरिरहेका छन् । केहीले यसलाई उनको छवि व्यवस्थापनका रूपमा पनि हेरेका छन् । जे भए पनि यसले काम गरिरहेको छ ।
सफल हाँस्य भूमिकाको इतिहास भएका जेलेन्स्की अहिले युद्धमोर्चा सम्हाल्ने कमान्डर इन चिफको भूमिका छन् । र उनी यस भूमिकामा धेरैको सोचभन्दा निकै सफल देखिन्छन् । भिडियो सन्देशमा उनी युक्रेनी जनतालाई मात्र होइन, रुसी नागरिकलाई पनि तिनको युद्धउन्मादी नेताबारे आँखा खोल्न आग्रह गरिरहेका हुन्छन् । उनको यही प्रभावकारी रूपमा आफ्नो भनाइ राख्न सक्ने क्षमता नै यस युद्धमा उनको सबैभन्दा ठूलो हतियार भइरहेको छ ।
जेलेन्स्की राष्ट्रपति भएपछि उनका आलोचकहरूले उनको विगतका कारण उनले राष्ट्रपति पदको भार बोक्न नसक्ने आरोप लगाएका थिए । तर, अहिलेको संकटमा हिजो जेलेन्स्कीले कलाकार हुँदा सिकेको सञ्चारको कौशल उनको ठूलो सहयोगी बनेको छ ।
एजेन्सीको सहयोगमा