लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

रुखको रामकहानी

झण्डै २५०० वर्षभन्दा पुरानो इतिहास रहेको मानिने जिन्को बाइलोबा पाँच दशकअघिसम्म काठमाडौंका सडकमा यत्रतत्र भेटिन्थे । काठमाडौंमै भेटिने यो विरुवाको इतिहास खोज्ने हो भने यस भेगका सबै वनस्पतिभन्दा जेठो रुख हो । यसलाई वनस्पति शास्त्रीहरु डायनोसरको पालादेखि हालसम्म लोप नभएको एकमात्र प्रजातिको रुपमा चिनाउने गर्छन् । तर सडक विस्तारको क्रममा यो रुखलाई सडक किनाराबाट विस्तापित गरियो । अहिले गोदावरीको बोटानिकल गार्डेनमा अस्तित्व रक्षाको लागि संघर्षरत छ, यो प्रजाति ।

साढे २४ करोड वर्षदेखि साढे ६ करोड वर्षको बीचमा पृथ्वीमा डायनोसरको अस्तित्व देखिएको वैज्ञानिक अध्ययनले देखाएको छ । त्यसदेखि हालसम्म मानव विकासमा ठूलाठूला क्रान्तिहरु भए । तर जिन्को एउटा त्यस्तो वनस्पति रहृयो, जसले डायनोसरकै पालादेखि हालसम्म पनि आफ्नो अस्तित्व जोगाउन सफल भयो । राष्टि्रय हर्बेरियम तथा वनस्पति प्रयोगशालाका प्रमुख सुभास खत्री नेपालमा पाइने कुल वनस्पतिहरुमध्ये जिन्को बिलोबा नेपालको हालसम्म भेटिएको सबैभन्दा जेठो वनस्पतिको प्रजाति मान्छन् ।

गत साता बेलायतको क्यामि्रज विश्वविद्यालयमा स्थित बोटानिकल गार्डेनको प्रवेशद्वारमा रहेको ‘न्युटनको स्याउको रुख’ तुफानमा परेर ढल्यो । गार्डेनका क्युरेटर डा. स्यामुअल ब्रोकिङटनले बीबीसीलाई बताए अनुसार ६८ वर्ष पुरानो यो रुखको साइनो न्युटनको गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्तसँग सम्बन्धित छ । यो न्युटनकालीन रुख त होइन तर यसले सोही समयको आभाष दिलाउने गरेकोले यसलाई विशेष मानिन्थ्यो ।

विश्वको इतिहासमा स्याउको रुखसम्बन्धी रोचक किस्साहरु छन् । ३ वटा ‘एप्पल’ले संसारमा क्रान्ति ल्याए भन्ने भनाइ पनि चर्चित छ । एउटा एडमको एप्पल, जसबाट मानवको अस्तित्वमा क्रान्ति आयो । दोस्रो न्युटनको ‘एप्पल’ जसबाट गुरुत्वाकर्षण सम्बन्धी नियमले विज्ञानमा क्रान्ति ल्यायो । तेस्रो स्टिभ जब्सको ‘एप्पल’ जसले अहिले विश्वको प्रविधि दुनियाँमा क्रान्ति ल्याइरहेको छ । तर गत महिना सोही स्याउको एउटा प्रतिरुपको दुखद् अवसान भयो ।

रुखको पर्यावरणसँग सम्बन्ध

माघ तेस्रो साता पृथ्वी राजमार्ग अन्तर्गत् शुक्ला गण्डकी नगरपालिकामा एउटा अग्लो सिमलको रुख काटिएको विषयले राष्टि्रय स्तरमा चर्चा पायो । यो सिमलको रुखमात्रै थिएन । सोही रुखको सिरानमा गिद्धको अन्डासहितको गुँड थियो । त्यो सिमलसँगै पर्यावरणीय सन्तुलन जोगाउने गिद्धको घर भत्किएको थियो । उसको मातृत्व खोसिएको थियो ।

चराहरुको घर नै रुख हो । त्यसैमाथि पनि गिद्धहरु प्रायः सिमलको रुख बाहेक अन्त बस्दैनन् । शान्त ठाउँ मन पराउने गिद्धलाई अग्लो सिमलको सिरान नै प्यारो लाग्छ । त्यसैले सिमलसँगै त्यहाँ गिद्धको बासस्थान खोसिएको थियो ।

रुखले साँच्चिकै चराचर जगतलाई नै मातृत्व दिने गर्छ । खानको लागि फल, सुरक्षाको लागि डाँठ र हावाको लागि पात । रुखका कुनै पनि चिज हामी र पर्यावरणका लागि अनावश्यक छैनन् । दाउरा, घाँस, काठपात, फलफूलको अविरल स्रोत मात्र होइन, यो त हावा, पानी, पर्यावरण र समग्र जीवनकै एउटा अभिन्न अंश हो । यसले चराचर जगतलाई नै आफ्नो मातृत्वमा संरक्षित गरेको छ ।

 कति बाँच्छन् रुखहरु ?

विशेषगरी गर्मी ठाउँमा पाइने सालको सम्बन्धमा एउटा रोचक भनाइ छ, सय वर्षसम्म बडा, अर्काे सय वर्षसम्म खडा र अर्काे सय वर्षसम्म लडा । अर्थात् यो १०० वर्षसम्म बढ्दो क्रममा हुन्छ, २०० वर्षसम्म त्यसको वृद्धिदर कम हुन्छ तर खडै रहन्छ । ३०० वर्षसम्म यसलाई लडाउँदा पनि बाँचिरहन्छ ।

रुखको आयु कति हुन्छ भन्ने प्रश्नको झट्ट उत्तर दिन गाह्रो छ । यसलाई हामी मान्छेको जीवनसँग पनि दाँज्न सक्छौं । हावापानी, खानपान र हुर्काइको अवस्थाको आधारमा जापानी र नेपालीको उमेर अन्तर हुन सक्छ । नेपाली-नेपाली बीचमै पनि यसमा भेद देख्न सकिन्छ । त्यसरी नै रुखको आयु पनि प्रजाति र हावापानीका आधारमा निर्धारण हुने वन तथा वातावरण मन्त्रालय अन्तर्गत्को रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. दिपक खराल बताउँछन् ।

अमेरिकाको हृविलर पिकमा पाइने प्रोमेथियस नामक वनस्पति झण्डै ५००० वर्षसम्म अस्तित्वमा रहेको दाबी गरिन्छ । दक्षिण पश्चिम इङ्ग्ल्याण्डको साभरनेक वनमा ११०० वर्ष पुरानो बिग बेली ओक प्रजातिको रुख अहिले पनि अस्तित्वमा छ । हेस्टिङ्सको युद्धको समयमा हुर्काइएको बिग बेली ओकले ब्ल्याक डेथ, अँग्रेजी गृहयुद्ध, औद्योगिक क्रान्ति र दुईवटा विश्वयुद्ध जस्ता भयानक मानवीय विपत्तिलाई पन्छाएर अहिलेसम्म बाँचेको छ । तर सोही भेगमा क्याम्बि्रज विश्वविद्यालयभित्रको ६८ वर्ष पुरानो रुख सामान्य दैवी विपत्तिमै ढल्यो । त्यसैले रुखको उमेर वातावरण र प्रजाति अनुसार फरक हुन्छ भन्ने कुरालाई पुष्टि गर्छ ।

डा. खरालका अनुसार रुखको आयुलाई बायोलोजिकल र टेक्निकल गरी २ भागमा विभाजन गर्न सकिन्छ । वायोलोजिकल रोटेसन अफ एजले कुनै वनस्पतिको वृद्धिदर रोकिएपछि पनि त्यो जीवितै रहने कुरालाई जनाउँछ भने टेक्निकल रोटेसन अफ एजले वनस्पतिको वृद्धिदर कति वर्षसम्म हुन्छ भन्ने कुरालाई संकेत गर्छ । उदाहरणको लागि सालको टेक्निकल रोटेसन अफ लाइफ १५० वर्षको छ भने पनि रुख ३०० वर्षसम्म बाँच्न सक्छ । तर यसमा वृद्धिदर शून्य हुन्छ । त्यसैले नेपालमा अहिलेसम्म पाइएको मध्ये बायोलोजिकल रोटेसन अफ एजको आधारमा ४०० देखि ५०० वर्ष पुराना रुखहरु समेत अस्तित्वमा छन् भन्न सकिन्छ ।

कसरी पत्ता लगाइन्छ रुखको आयु ?

स्पष्ट अभिलेख छैन भने रुखको आयु पत्ता लगाउन त्यति सहज भने छैन । तर केही वैज्ञानिक विधिहरु छन्, जसले रुखभित्र देखिने गोलाकार रेखाहरुको आधारमा त्यसको उमेर पत्ता लगाउन सकिन्छ ।

रुखको विकास हुँदै जाँदा हरेक वर्ष एउटा गोलाकार रेखा थपिँदै जान्छ । यस्ता रेखाको आधारमा त्यसको उमेर पत्ता लगाउने गरिन्छ । यसमा पनि दुई फरक विधिको प्रयोग गरिन्छ । कतिपयले रुखलाई बीचबाट प्वाल पारेर त्यसको व्यासको आधारमा रुखको आयु पत्ता लगाउने गर्छन् । तर यस्तो गर्दा रुखमा क्षति पुग्ने भएकोले यसको वैकल्पिक विधिलाई धेरैले अपनाउने गर्छन् ।
कस्ता वनस्पति धेरै बाँच्छन् ?

वनस्पति प्रयोगशालाको तथ्यांक अनुसार नेपालमा ५००० भन्दा बढी फूल फुल्ने प्रजातिका रुख पाइन्छ । त्यसमध्ये तराई भेगका साल, सिसौ जस्ता रुख लामो समयसम्म बाँच्छन् । सालको बायोलोजिकल आयु औषतमा २०० वर्षसम्म भए पनि वनको व्यवस्थापन गर्ने बेलामा ८० वर्ष पुगे पुगेपछि काट्दा त्यसबाट बढी उत्पादन लिन सकिन्छ भन्ने मान्यता राखिन्छ । त्यसपछि त्यसको ग्रोथ हुँदैन र त्यत्तिकै निष्कृय हुन्छ भन्ने मान्यता राखिन्छ । सल्ला प्रजातिमा पनि ठाउँ अनुसारको उमेर फरक देखिन्छ ।

खोटेसल्लाको बायोलोजिकल आयु ४० वर्ष मानिन्छ । उच्च पहाड र हिमाली क्षेत्रमा गोब्रे सल्ला खोटेसल्लाभन्दा केही वर्ष धेरै बाँच्छ । ५० देखि ६० वर्षपछि त्यसको वृद्धि कम हुँदै जान्छ । पहाडी भेगमा बर, पिपल र समी जस्ता रुखहरु धेरै बाँच्छन् । त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा देवदार, धुपी, गुराँस जस्ता वनस्पतिहरु लामो समय बाँच्ने गर्छन् ।

साललाई १०० वर्ष भने जस्तै पश्चिम नेपालमा देवदारलाई ‘ हजार वर्ष खडी, हजार वर्ष पडी र हजार वर्ष सडी’ भन्ने भनाइ छ । तर यो गति लामो समय नबाँचे पनि औषतमा यसको पनि आयु ४०० को हुने वनस्पति विज्ञहरु बताउँछन् ।

नेपाल खुला विश्वविद्यालयमा अध्यापनरत डा. मीना बोहोरा रुख विरुवाको जन्म, वृद्धिदर र मृत्युको शृंखला रोचक रहेको बताउँछिन् । यस्ता विरुवाको आयुलाई मौसम परिवर्तन र पर्यावरणीय परिवर्तनले पनि असर गर्ने गरेको उनी सुनाउँछिन् । अहिले सिमलको रुखसँगै पर्यावरणीय सन्तुलनमा जोखिम बढ्दै गएको उनी सुनाउँछिन् । शिवपुरीका वनस्पतिबारे अध्ययन गरेकी उनी पर्यावरणीय असन्तुलन बढ्दा शिवपुरी निकुञ्जमा खस्रु जस्ता वनस्पति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छिन् ।

फरेस्ट एक्सनको बुलेटिन ‘हाम्रो वन सम्पदा’मा शंकरप्रसाद दाहाल र ओम प्रकाश देवको आलेखमा उल्लेख भए अनुसार नेपालमा १८२२ प्रजातिका ढुसी, ४६५ प्रजातिका झ्याउ, ६८७ प्रजातिका एल्गी, ५२ प्रजातिका चरा, ६४० प्रजातिका पुतली, १८२ प्रजातिका माछा पाइन्छ । जसमा उल्लेख भए अनुसार फूल फुल्ने प्रजातिहरू मध्ये ५७० प्रजातिका वनस्पतिहरु जडीबुटीको रुपमा प्रयोग गरिन्छन् ।


प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •