ललितपुर — ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चार जना बालकलाई पढाईबाट बञ्चित गरेको छ । शंखमुल धाममा रहेको गुरुकुलमा संस्कृत पढ्ने भनेर बर्दियादेखि काठमाडौं आएका बालकलाई गुरुकुलले भर्ना नगरी फिर्ता पठाएको हो । बालकका आमाबुवाले आफूहरू दलित समुदायको भएकै कारण गुरुकुलले भर्ना नलिएको गुनासो गरेका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका–६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ९ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनार आश्रममा भर्ना हुन आएका थिए । आश्रमको पूर्वस्वीकृतिअनुसार ब्रतबन्ध गरी कपालसमेत मुण्डन गरेर भर्ना हुन पुगेका बालकहरूलाई दलित समुदायका भएको थाहा पाएपछि आश्रमले पढ्नबाट बञ्चित गरेको हो ।
गुरुकुलले सीट संख्या पूरा भएको दाबी गर्दै भर्ना नलिने भनेपनि प्राचार्य तेजप्रसाद भट्टराईका अनुसार हाल गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी छन् । जबकि गुरुकुलको वेबसाइटमै ५० जना विद्यार्थी अध्ययनरत रहेको उल्लेख छ, जसले गुरुकुलको क्षमताअनुसार अझै १३ जना विद्यार्थी भर्ना लिन सक्ने पुष्टि हुन्छ । बालकका बुवा नरेन्द्र सुनारले आफूहरू दलित भएकै कारण आश्रमले भर्ना नलिएको गुनासो गरे ।
‘पहिल्यै भर्ना गर्दैनौँ भनिदिएको भए सजिलो हुन्थ्यो । हामी बर्दियादेखि छोराहरू लिएर काठमाडौं आयौँ । छोराहरूको ब्रतबन्ध र मुण्डन समेत गरियो,’ उनले भने, ‘आश्रममै गइसकेपछि हाम्रो जातथरको सोधीखोजी भयो । हामीले पनि ढाँटेनौँ । दलित समुदायका हौँ भनेर बोलेकै कारण आश्रममा गएर बसिसकेका मेरा छोराहरूलाई घर जाऊ भनेर पठाइदिए ।’
समीर, विराज र भुवेश्वर नरेन्द्रकै छोरा हुन् भने भीम उनका भाइका छोरा हुन् । नरेन्द्र भन्छन्, ‘दलित समुदायमा पुरोहित छैनन्, धर्मकर्म गर्दा समस्या छ, अब त दलितले पनि पण्डित पढ्न पाउनुपर्छ भन्ने लाग्थ्यो । सल्लाह दिनेले उसलाई पण्डित बनाउनुपर्छ, संस्कृत पढाऊ भनेपछि यहाँ पढाउन चाहेको थिएँ ।’ नरेन्द्रलाई आश्रमसँग जोड्ने काम विश्व हिन्दु महासंघका दक्षिण एसिया प्रमुख एवम् समानता अभियानका अध्यक्ष चन्द्रकान्त पौडेलले गरेका थिए । पौडेल पनि आश्रमले बालकहरू दलित समुदायको भएको थाहा पाएपछि भर्ना लिन इन्कार गरेको बताउँछन् ।
‘मसँग आश्रमका अध्यक्ष आफैँले बच्चाहरू भए पठाइदिनुहोला भन्नुभएको थियो । उता गाउँबाट गरिब दलित समुदायका बच्चाहरूले पढ्ने रहर देखाएपछि मैले उनीहरूलाई भर्ना गराउन पहल गरेको हुँ,’ पौडेलले इकान्तिपुरसँग भने, ‘भर्ना गर्न पुगेको दिनसम्म पनि कुनै समस्या थिएन । भोलिपल्ट भर्ना गरिदिने भनेपछि मैले आमाबुवासहित बच्चाहरूलाई आश्रममा छोडेर आएँ । बेलुका केरकार गरेछन् । दलित भएको थाहा भएपछि भोलिपल्ट बिहानै आश्रमबाट निकालिदिए ।’
पौडेल आश्रमले जातीय भेदभावकै आधारमा बालकहरूको भर्ना नलिएको दाबी गर्छन् । ‘भन्नलाई आश्रममा धर्म संस्कृति, संस्कार र संस्कृत विद्या पढाउने भनिएको छ । तर, आश्रममा यो जातले पढ्न पाउने, अर्कोले नपाउने भन्ने निच सोच गुरुहरुले राखेको देखियो,’ उनले भने, ‘जातीय भेदभाव धार्मिक कर्ममा पर्दैन, यो त पाप हो । यस्तो पाप गर्नेहरूबाट प्रशिक्षित हाम्रो धर्म शिक्षाले समाजलाई कता लैजाने हो ? म त चिन्तित छु ।’
नरेन्द्र, उनकी श्रीमती जयन्ती र बुहारी कमला सुनार छोराहरु लिएर १८ जेठमा काठमाडौं आइपुगेका थिए । पौडेलले आफ्नै सक्रियतामा २० जेठमा चारै जना बच्चाहरुको ब्रतबन्ध र मुण्डन गरिदिए । जेठ २१ मा आश्रममा भर्ना गर्ने तयारी थियो । त्यो दिन उनीहरू आश्रममा पुगे, तर शनिबार भएकाले त्यो दिन भर्ना भएन । आइतबार भर्ना गर्ने कुरा भयो । बेलुका पौडेल फर्किए । बालक र उनका आमाबुवा आश्रममै बसे । पौडेल निस्किएपछि आश्रममा गुरूहरुले नरेन्द्रहरूमाथि सोधपुछ गरेका थिए ।
कोहीले बच्चाहरूले के सिकेका छन् भनेर उनीहरूलाई सोधपुछ गरे भने कोहीले नरेन्द्रसँग । त्यसक्रममा उनीहरूको थर र जातको विषयमा कुरा उठ्यो । ‘पहिले हामी को हौँ भनेर चन्द्रकान्त सरले भन्नुभएको रहेनछ, हामी आश्रममै पुगेपछि सोधपुछ भयो,’ नरेन्द्रले अघि भने, ‘मैले हामी त दलित हौँ भनेँ । त्यसपछि माहोल फेरियो । भोलिपल्ट बिहानै हाम्रा नानीहरूको भर्ना होइन, यहाँ ठाउँ नै छैन भन्दै भर्ना गर्न नमिल्ने बाहनाबाजी सुरू गरियो ।’
उनीहरूको जात थाहा पाएपछि आश्रमले भर्ना हुने कोटा पूरा भएको भन्दै बाहना निकालेको नरेन्द्रहरूको भनाइ छ । ‘हामी त गाउँबाट आएका, हामीलाई सबै कुरा थाहा पनि थिएन,’ भीमबहादुरकी आमा कमला भन्छिन्, ‘सबै कुरा सित्तैमा हुन्छ, संस्कृत पढेपछि भोलि पुरोहित भएर काम गर्न सक्छ भनेपछि छोरालाई छोड्न आएकी, तर आश्रमले भर्ना नै लिएन ।’
कमलाका श्रीमान् बितिसकेका छन् । केटाकेटीको रेखदेखमा जेठाजु नरेन्द्रले सघाउँछन् । तर, सवारी चलाएर रोजीरोटी जुटाउने नरेन्द्र पनि कोभिड संक्रमणपछि फेरि काममा फर्किन सकेका छैनन् । ‘खेती गरेर खाने जग्गा छैन । जागिर छैन । कमाउने बाटो नभएपछि ठूलो खर्च गरेर नानीहरुलाई पढाउन सकिने रहेन,’ नरेन्द्रले भने, ‘त्यसैले सबैकुरा निःशुल्क हुने, फेरि भोलि पढेपछि पण्डित बन्न सक्ने भएकाले गुरुकुलमै भर्ना गर्न लालायित थियौँ, तर जातकै कारण हाम्रो छोराहरुलाई भर्ना गरिएन ।’ कान्तिपुर