लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

सिँढी चढ्दै अपी हिमाल

दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिकास्थित अपी हिमाल जान सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ। पर्यटकहरूलाई लक्षित गर्दै गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको करिब चार करोडको लगानीमा सो पदमार्ग निर्माण गरिएको हो।

 

 

 

पदमार्गमा जम्मा ८ हजार २४२ खुट्किला (स्टेप) निर्माण हुनेछन्। विगत ३÷४ वर्षदेखि बनिरहेको पदमार्गका ५ हजार सिँढीहरू बनिसकेका छन्। नेपालमा बाइसे र चौबिसे राज्य व्यवस्था रहेका बेला जातर सिंह (राजा)ले सिद्धमकरीमा कोट बनाएर राज्य चलाएका थिए। उक्त कोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र हिमाल आरोहीलाई सजिलो होस् भनेर गाउँपालिकाले उक्त खुट्किलासहितको पदमार्ग बनाएको हो।  पदमार्गको बीचमा पर्ने खात्ती भन्ने स्थानबाट पनि अपीको दृश्यावलोकन गर्न सकिन्छ। अपीको धार्मिक र पुरातात्विक महत्त्वले पनि पदमार्गको अवधारणा आएको बताउँछन्, अपी हिमाल गाउँपालिकाका निवर्तमान अध्यक्ष धर्मानन्दसिंह मन्याल । ‘अझ हिमाल आरोहीका लागि पनि त्यो मार्गले पर्यटकहरूलाई सहज पार्नेछ, उनी भन्छन्, ‘त्यसैमा आन्तरिक र बाह्य पर्यटकहरू जसले हिमाल आरोहण गर्न सक्दैनन्। उनीहरूले खात्ती भन्ने स्थानबाट अपीको दृश्यावलोकन गर्न सक्नेछन्।’

अपी हिमाल–५ को मकरीगाडदेखि वडा–४ को मकरीकोट हुँदै खात्तीसम्म सिँढीसहितको यो पदमार्ग निर्माण हुन लागेको हो। सफा र सुन्दर तरिकाले सिँढीहरू सजाइएका छन्। अहिले त्यसमा पेन्ट लगाउने काम भइरहेको छ। सिँढीहरूमा फरक–फरक रंगको पेन्ट लगाइएकाले पनि पदमार्ग रमाइलो र आनन्दमय भएको छ। पदमार्ग निर्माणमा भीरतर्फ फलामको  रेलिङ लगाइएको छ भने स्थानीय स्लेट (ढुंगा) बिच्छाइएका छन्। रेलिङमा पेन्टिङ र स्लेटहरू मिलाएर बनाइएको सिँढी आकर्षणको केन्द्र बनेको छ।

करीगाडबाट मकरीकोट चढ्न झण्डै तीन घण्टा समय लाग्थ्यो। त्यो पनि भिरालो बाटोमा ढुंगाा खस्ने डर पनि उत्तिकै हुन्थ्यो। मान्छे हिँड्ने उही बाटोमा घोडा खच्चड, भेडाबाख्रा, पशुचौपाया पनि हिँड्ने भएकाले पूरै हिलो र धुलाम्य हुन्थ्यो। तर, अहिले सिँढी निर्माणपछि पशु चौपायाका लागि छुट्टै र मानिसका लागि मनै लोभ्याउने पदमार्ग निर्माण भएको छ। ‘सफा र चिटिक्क परेको पदमार्गले मनै आनन्दित हुन्छ। अझ अपीको काखमा बसेझैं आनन्द आउँछ,’ अपी हिमालका स्थानीय नरहरि ठेकरेले भने, ‘अहिले त बाहिरबाट पनि पर्यटकहरू आउन थालेका छन्।’

अहिलेसम्म ५ हजार सिँढीहरू बनिसकेका छन्। त्यसको लम्बाइ करिब ३ किलोमिटर हुन्छ। १ किलोमिटर निर्माणाधीन छ। ‘यसपालि संघीय सरकारले पनि समपुरक अनुदानबाट ५० लाख बजेट हालेको छ। यसपालि पूरै पदमार्ग निर्माण सकिएला,’ गाउँपालिकाका निवर्तमान अध्यक्ष मन्यालले भने। उनले, वडा–४ र ५ का बासिन्दाको ओहोरदोहोरका लागि पनि उक्त पदमार्ग अविस्मरणीय बन्ने बताए। ‘सबै सिँढीहरू बनिसकेपछि अपी हिमाल गाउँपालिकाका स्थानीयको जीवनशैलीमा पनि परिवर्तन आउँछ र पर्यटनको प्रचुर सम्भावना छ,’ मन्यालले भने।

बाइसे चौबिसे राजाको कोट

पदमार्गको ३ किलोमिटर क्षेत्रमा तत्कालीन बाइसे र चौबिसे राज्यका राजा जातर सिंहको कोट छ। त्यस ठाउँलाई सिद्धमकरी कोट भनिन्छ। अहिले पनि त्यहाँ राजा जातरको दरबारका भग्नावशेषहरू छन्। गाउँपालिकाले जातर सिंहको कोटको पुनर्निर्माण नगरे पनि पहिलो चरणमा त्यो कोटसम्म जाने पदमार्ग निर्माण गरेको हो। ‘बाइसे चौबिसे राज्य हामीले इतिहासमा पढ्थ्यौं। तर, तीमध्येका एक राजाको कोटको भग्नावशेष पाइएको छ,’ मन्यालले भने, ‘त्यसको संरक्षण गरेर त्यहाँसम्म पदमार्ग बन्यो भने त्यो एक सुन्दर पर्यटकीय स्थल बन्न सक्छ। त्यही अवधारणाअनुसार नै सिँढीसहितको पदमार्ग निर्माण सुरु गरेका हौं।’

मन्यालका अनुसार राजा जातरका सन्तानहरू अहिले मार्मामा बस्छन्। मार्माका रस्कोटी सिंहहरूको पुर्खाले मकरी कोटमा राज्य सञ्चालन गरेका थिए। ‘अहिले मार्माका सिंहहरू जातर सिंहका सन्तानहरू हुन्,’ मन्यालले भने, मकरीकोटको विभिन्न किम्बदन्ती रहेका र तीनको दस्तावेजीकरण गरेर संरक्षण गर्न सके। यो एक राम्रो पर्यटकीय गन्तव्य हुनेछ।’

हालसम्म ५ हजार सिँढी निर्माण भइसकेको अपी हिमालका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिंह धामीले बताए। उनका अनुसार मकरीकोट नजिकै जातर सिंह राजाले विश्राम गर्ने ठाउँ छ। गाउँपालिकाले राजाको विश्राम गर्ने स्थानमा घोडाको मूर्ति बनाएर सो स्थानको पहिचान गराइनेछ।

धार्मिक पर्यटनको लक्ष्य

मन्यालका अनुसार सिद्ध मकरीकोटको धार्मिक महत्त्व पनि छ। जातरका परिवार त्यहाँको चमेलिया नदीबाट जल लगेर मकरीकोट नजिकैको मन्दिरमा चढाउँथे। त्यहाँ पितृहरूको बास हुन्छ भन्ने भनाइ थियो। उनी भन्छन्, ‘पदमार्ग निर्माणपछि सबै गाउँपालिकका बासिन्दालाई आफ्नो पितृको सम्झनामा १/१ बिरुवा रोप्ने र त्यो बिरुवामा पितृको जन्मोत्सवको दिन पानी (जल) चढाउने आह्वान गरेका छौं।’

अपी हिमाल–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत् आयोजना निर्माण भइरहेको छ। स्थानीय पर्यटकहरूका लागि त्यो जलविद्युत् आयोजना पनि हेर्ने स्थानका रूपमा विकसित गर्न सकिन्छ। सिद्ध मकरीकोट पदमार्गका बीच–बीचमा खानेपानी धारा, शौचालय, विश्रामस्थल बनाउने योजना रहेको अध्यक्ष मन्यालले बताए।

कसरी पुग्ने सिद्ध मकरीकोट ?

दार्चुलाको अपी हिमाल–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत् आयोजना निर्माणस्थलकोे अवलोकनपछि सिद्ध मकरीकोट पदमार्ग चढ्न सकिन्छ। गाउँपालिकाले पदमार्ग निर्माणसँगै मकरीकोटमा प्रवेशद्वार निर्माण गरेको छ। प्रवेशद्वारमै मन्दिर र विश्रामस्थलहरू पनि छन्। सिद्ध मकरीकोट चढ्ने बित्तिकै मकरीकोटबाट अपी हिमाल, सैपाल, जेठी बहुरानी जस्ता हिमशृङ्खलाहरूको दर्शन गर्न सकिन्छ भने अपी हिमाल गाउँपालिकाको अधिकांश बस्ती सहजै देखिन्छ। त्यस्तै, प्राकृतिक छटा, मनोरम दृश्यावलोकन गर्न सकिन्छ। रैथाने फूल बिरुवा जनावर यहाँका आकर्षण हुन्।

३ करोड ९० लाख खर्च

सिद्ध मकरीकोटको सिँढीसहितको पदमार्ग निर्माण सुरु भएको चार वर्ष बितिसक्दा हालसम्म सिँढी निर्माणमा ३ करोड ९० लाख खर्च भइसकेको अपी हिमालका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण धामीले बताए। मकरीगाडमा १० मेगावाटको विद्युत् आयोजना र गाउँपालिकाले पदमार्ग निर्माणसँगै मकरीकोटमा प्रवेशद्वार निर्माण गरेको छ। प्रवेशद्वारमै मन्दिर र विश्रामस्थलहरू पनि छन्।

स्थानीयहरूलाई पनि सुविधा

पदमार्ग निर्माण हुनुअघि मकरीगाडदेखि मकरीकोट चढ्न निकै कष्टकर बाटो थियो। पुरानो बाटोमा ७ ठाउँमा बसेर मकरीकोट चढ्न सकिन्थ्यो। अहिले २ ठाउँमा आराम गर्ने बित्तिकै सहजै पुग्न सकिन्छ। वृद्धवृद्धाका लागि पनि हिँड्न सहज भएको अपी हिमाल गाउँपालिकाका स्थानीय नरहरि ठेकरेले बताए।

  •     पदमार्गमा ८ हजार २४२ खुट्किला निर्माण गरिने
  •     हालसम्म ५ हजार खुड्किला सम्पन्न
  •     करिब ४ करोड लगानी हुने
  •     ३ करोड ९० लाख खर्च भइसकेको
  •     ३ किलोमिटरको पदमार्गको १ किलोमिटर निर्माण हुन बाँकी

अहिले खुट्किला र रेलिङसहितको पदमार्ग निर्माणपछि पर्यटकलाई मात्र नभई स्थानीयलाई समेत आवतजावतमा सहज भएको अपी हिमाल–४ का स्थानीय लक्ष्मणसिंह बोहराले बताए। ‘पुरानो बाटो निकै जोखिम थियो। पहिरो र ढुंगा खस्ने डर हुन्थ्यो भने अहिले निर्माण गरिएको पदमार्गले यात्रुलाई सुरक्षित अनुभूति गराएको छ। हिँड्नलाई सजिलो हुने र समय पनि कम लाग्ने भएकाले यो पदमार्ग आकर्षक बनेको छ,’ उनले भने। अपी हिमाल गाउँपालिकासम्म जानेहरू सिद्ध मकरीकोट पदमार्गमा फोटो खिचाएर मात्रै आउने गरेको दार्चुलाबाट अपी हिमाल पुगेका पत्रकार शंकरसिंह धामीले बताए । उनले भने, ‘एकतर्फबाट चमेलिया नदी र अर्कोतिर मकरीगाड खोलाको हावाका साथमा यी सिँढी उक्लिन बहुत आनन्द आउँछ। दायाँबायाँ खोलाका झरना, तल पारी बगर खण्डेश्वरी सडक र निर्माणाधीन मकरीगाड जलविद्युत् आयोजनाको अवलोकन, पदमार्गका सिँढीबाट गर्न सकिन्छ। यसरी सिद्ध मकरीकोट पदमार्ग पर्यटकका लागि मुख्य आकर्षण बनेको छ।’

पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्मका जिल्लाहरूमा दार्चुला विकट जिल्ला हो। अझ त्यसमा पनि अपी हिमाल गाउँपालिका झनै दुर्गम ठाउँ हो। तर, सो गाउँपालिका आफैंमा एक साँस्कृतिक मनोरम पर्यटकीय क्षेत्र पनि हो। दार्चलामा अपी हिमाल गाउँपालिकाभन्दा माथि कुनै गाउँ छैन। त्योभन्दा माथि कुनै बस्ती छैन।

दुई दशकपछि अपीमा आए विदेशी

नेपालमा द्वन्द्वकाल सुरु भएपछि दार्चुलाको अपी हिमालमा कुनै पनि विदेशीहरू आएनन्। दुई दशकपछि पहिलोपटक युरोपियन मुलुक चेक गणतन्त्रका ८ जना र (२ नेपालीसहित) १० जनाको टोली दार्चुला पुगेको छ।  यसअघि २०५५÷५६ सालअघि मात्रै विदेशी नागरिक अपी आरोहणका लागि आउने गरेका थिए। पछिल्लो समय अपी नाम्पा संरक्षण क्षेत्र गठन भएपछि विदेशी नागरिक अपी हिमाल क्षेत्रमा घुम्न तथा जंगली जनावरको अध्ययन अनुसन्धानका लागि पनि आउने गरेका छन्। अझ पछिल्लो समय आरोहणको अनुमति लिएर विदेशी टोली दार्चुला आउने गरेको अपी नाम्पा संरक्षण कार्यालय दार्चुलाले जनाएको छ।

अपी हिमालको उचाइ ७ हजार १३२ मिटर रहेको छ। अपी हिमालकै कारण गाउँपालिकाको नाम पनि त्यही राखिएको हो। अपी नाम्पा संरक्षण क्षेत्रभित्र अपी हिमालबाहेक ६ हजार ७५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाललगायतका उच्च हिमश्रृखला छन्।

हजारौं पर्यटक घुम्न आउने सम्भावना बोकेका पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग, आवश्यक भौतिक पूर्वाधार अभावलगायतका कारण विदेशी पर्यटक पर्याप्त आउन नसकेको जिल्ला समन्वय समितिका पूर्व प्रमुख करवीर सिंह कार्कीले बताए।

विगत ७ वर्षको अवधिमा करिब १२० विदेशी पर्यटकले अपी नाम्पा क्षेत्रमा प्रवेश गरेका छन्। यहाँ पर्यटकको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरिपूर्ण भए पनि यातायातको असुविधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभावलगायत कारणले पर्यटक अपी नाम्पा क्षेत्रमा पुग्न सकेका छैनन्।

नयाँ जनप्रतिनिधि पनि सक्रिय

अपी हिमाल गाउँपालिकामा यसपालि नयाँ जनप्रतिनिधि आएका छन्। यसअघि माओवादीबाट मन्यालले जितेका थिए भने अहिले एमाले जितेको छ। नयाँ जनप्रनितिहरूले पनि सिद्ध मकरीकोट पदमार्गलाई थप आकर्षक बनाउने बताएका छन्। सिद्ध मकरीकोट पदमार्गका बीच–बीचमा खानेपानी धारा, शौचालय, विश्रामस्थल बनाउने योजना अझै अधुरा छन्।

यो वर्षबाटै पदमार्गको दायाँबायाँ वृक्षरोपण गरिने कार्यक्रम छ। निर्माणाधीन पदमार्गलाई खात्तीमा प्राकृतिक रूपमा निर्माण भएका तालतलैयाको दर्शन गर्नेगरी पदमार्ग खात्तीसम्मै पुर्‍याउने योजना छ। यस्तै नेपालकै उच्च क्षेत्र समुद्री सतहबाट २ हजार ५ सय मिटर उचाइमा खात्ती खेल मैदान छ। जहाँ हरेक वर्ष खेल हुने गरेका छन्। चारैतिर डाँडाकाँडा र प्राकृतिक दृश्यहरूका काखमा अवस्थित उक्त खेलमैदान पनि उत्कृष्ट देखिन्छ। यो मैदानलाई पनि थप सुन्दर बनाउने योजना गाउँपालिकाको छ।


प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •