भक्तपुर-भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपाको आव २०७९/०८० को बजेट तर्जुमा सन्दर्भमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिबाट राय सुझाव संकलनसम्बन्धी कार्यक्रमसम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजापतिले नेपाल मजदुर किसान पार्टीले घोषणापत्रमा जाहेर गरेको प्रतिबद्धताअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका कार्यलाई विशेष प्राथमिकतामा राख्दै कार्य गरिरहेको र विगतमा झैं जनताको राय सुझाव संकलन गरी प्राथमिकताको आधारमा बजेट विनियोजन गर्दै जाने बताए ।
उनले नेपाल सरकारले स्थानीय तह निर्वाचनमा मतपत्र छपाई गरेको कारण कागज अभाव भई पाठ्यपुस्तक छपाई गर्न नसकिएको भनी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको भन्दै भृकुटी कागज कारखानालाई कवाडीको भाउमा बिक्री गरी विदेशबाट कागज निर्यात गर्नु विडम्बना रहेको बताए ।
शिक्षाले समाज परिवर्तन गर्ने हुँदा शिक्षा क्षेत्रमा लगानी गर्न कन्जुस्याईं गर्न नहुने भन्दै उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटै शैक्षिक संस्थाका देशका ७२ जिल्लाबाट सात हजारभन्दा बढी विद्यार्थीले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको तथा भनपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरू तुलनात्मक रूपमा राम्रो भए तापनि अझ गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणसम्बन्धी कार्यलाई ‘ख्वप मोडेल’को रूपमा देशैभरि चर्चा परिचर्चा हुनुमा जनप्रतिनिधि तथा कर्मचारीमात्र नभई सम्पूर्ण शिक्षण संस्था र नगरबासीको योगदान अतुलनीय रहेको बताइन् । अन्य स्थानीय तहहरूले शिक्षाबारे भक्तपुरबाट सिक्न खोजिरहेको र यो उपलब्धिलाई निरन्तरता दिंँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सबै शिक्षण संस्थाको साथ र सहयोगको अपेक्षा गरिन् ।
कार्यक्रममा राय सुझाव संकलनको क्रममा प्याब्सन भक्तपुरका अध्यक्ष रमेशचन्द्र श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो ।