लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बाबुको नागरिकता नहुँदा संकटमा हिरन्मईको क्रिकेट करिअर

काठमाडौं । दमक–५, झापाकी १५ वर्षीया हिरन्मई रायलाई सानैदेखि क्रिकेट मोह भरिदिने उनकै बुबा विरेन हुन् । आफू जान्ने भएपछि सन्दीप लामिछानेलाई प्रेरणा मानेर हुर्किएकी हिरन्मईले जेठ पहिलो साता युगाण्डाविरुद्धको ऐतिहासिक घरेलु शृंखलामा राष्ट्रिय टिमबाट खेल्ने सपना पनि पूरा गरिन् । पुरुष राष्ट्रिय टोलीका कप्तान सन्दीपको जस्तै हिरन्मईको लेगस्पिन जादूले पाँच टी–२० शृंखलाको पछिल्लो दुई खेल नेपालको पक्षमा आयो ।

प्रदेश १ को यू–१९ टोलीबाट पहिचान बनाएकी हिरन्मईले क्रिकेटको सपना पूरा गर्न एसईई परीक्षा त्यागिन् । पढाई रोकिएपनि क्रिकेटमा लागेकोमा बुबा वीरेनलाई सन्तुष्टि नै मिलेको थियो । छोरीलाई क्रिकेटर बनाउने विरेनको सपना पूरा भएको एक महिना नवित्दै परिवारमा ठूलो सन्नाटा छाएको छ । आफ्नो नागरिकता नभएकै कारण छोरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेश भ्रमणबाट वन्चित हुनुपरेको खबरले वीरेनलाई बेचैन बनाएको छ ।

असार ३ देखि ११ गतेसम्म हुने एसीसी महिला टी–२० छनोट खेल्न नेपाली टोली मलेसिया जानु पर्नेछ । तर दुई टी–२० अन्तर्राष्ट्रियमा गरेको प्रदर्शनबाटै टिमको मुख्य सदस्य बनिसकेकी हिरन्मईको कागजी प्रक्रिया नपुगेका कारण नेपाल क्रिकेट संघ (क्यान)ले मलेसिया जाने अन्तिम टिम घोषणा गर्न सकेको छैन ।

बाबु/आमाकै नागरिकता नहुँदा स्वभाविक प्रक्रियाबाट हिरन्मईको मलेसिया प्रस्थान सम्भव छैन । ट्राभल डकुमेन्टका लागि क्यानले राखेको प्रस्ताव राष्ट्रिय खेलकुद परिषद (राखेप), खेलकुद मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा पुगेर रोकिएको छ ।

ट्राभल डकुमेन्ट नबाउन सरकारले सहयोग नगर्ने हो भने उनले एसीसी महिला टी–२० छनोट गुमाउने अवस्था बन्छ । क्यानले भने नेपाली महिला लेगस्पिनमा ‘हिरा’ बन्नसक्ने हिरन्मईको प्रतिभा जोगाउन हरसम्भव प्रयास भइरहेको बताएको छ ।

पहिचानकै अभावमा राष्ट्रिय टिमबाट खेल्न नपाउने हो कि भन्ने त्रासले १५ वर्षीया हिरन्मई मानसिक रुपमा विक्षिप्त छिन् । ‘कागजपत्र नमिलेर खेल्न नपाएको भन्नु हुन्छ । मलाई धेरै केही थाहा भएन,’ राष्ट्रिय टोलीको क्याम्पमा प्रशिक्षणरत हिरन्मई भन्छिन्, ‘देशको लागि खेल्ने अवसर थियो, खोइ के भयो ?’

 

हिरन्मईका बुबा ५५ वर्षीय विरेन राय २०३६ सालमा १२ वर्षको उमेरमा भारतको पश्चिम बंगाल, जल्पाइगुढीबाट नेपाल आएका हुन् । उनले बताएअनुसार गाउँमा प्रसाईं थरका छिमेकी थिए । उनीहरु जग्गाजमिन बेचेर नेपाल आउँदा वीरेन पनि आए । सानै उमेरमा परिवार छाडेर हिँडेका विरेन झापा छोडेर अन्त कतै गएका छैनन् ।

झापामै कृषि र घर बनाउने मिस्त्रीको काम गरेर उनले जीवनका उर्जाशील ४ दशकभन्दा लामो समय व्यतीत गरे । आमाबुबा जीवित रहुन्जेल कहिलेकाहीँ घर (भारत) जाने गरेका थिए । २०६१ सालमै उतै गएर अनिमासँग विहे गरेर नेपाल फर्किए । २०६३ साल चैतमा विरेन र अनिमाबाट जुम्ल्याहा छोरी जन्मिए–हिरन्मई र हिरन्वती ।

उनीहरुको जन्मदर्ता दमक नगरपालिका–४ मा छ । ‘पहिला खेतीपातीको काम गर्थेँ । जसको खेती गर्‍यो त्यसैकोमा बस्यो । पछि घर बनाउने मिस्त्रीको पनि काम गरेँ । छोराछोरी हुर्कँदै गएपछि खर्च बढ्न थाल्यो । खेतीपानी र मिस्त्रीको कामले पुग्न छाडेपछि साथीभाइको सल्लाहमा सानो दोकान खोलेर बसेको छु,’ विरेनले आफ्नो विगत स्मरण गरे, ‘योभन्दा अगाडि नागरिकताको आवश्यकता पनि परेन । आफैंले बनाउन खासै सोधीखोजी पनि गरिएन । लामो समयसम्म नेपालमै बसिरहन्छु भन्ने निश्चितता पनि थिएन ।’

वीरेनसँग भारतीय नागरिक पहिचान हुने कागजपत्र पनि छैन । भन्छन्, ‘सानैमा घर छाडेर हिँडेको । उताको बारे केहि थाहै भएन ।’ दुवै देशको नागरिक प्रमाणित गर्ने कागजपत्र नहुँला दमकमा बस्दै आएको राय परिवार अहिले ‘अनागरिक’ बनेको छ ।

बुढेसकालमा ठूलो आशा राखेकी छोरीलाई अगाडि बढ्न भइरहेको अड्चनको मुख्य कारक पनि आफ्नो नागरिकता नहुनु भएको थाहा पाउँदा वीरेनको मन अमिलो भएको छ ।

अहिले नभए अर्कोपल्टसम्म त केही न केही उपाय निस्किहाल्छ नि भनेर सम्झाएका छन् । तर अझै आश मारेका छैनन् । क्रिकेट संघका अधिकारीमार्फत छोरीको कागजपत्र पूरा गर्न प्रयास गरिरहेको आश्वासन पाएका छन् । ‘म त श्रमिक मान्छे हो । मलाई कानूनबारे केही थाहा पनि छैन । ठूलाबडा मान्छे चिनेको पनि छैन । तर छोरीले क्रिकेट खेलिरहन पाइदिए हुन्थ्यो जस्तो लाग्छ । कसैले सहयोग गरिदिए यो गरिबको भलाई हुन्थ्यो,’ उनी भन्छन् ।

वीरेन दमक–५ मा चिया पसल चलाएर गुजरा बसेका छन् । छोरीले क्रिकेट खेलेको मन पराउने विरेनलाई अहिलेसम्म एउटा ब्याट र बल समेत किनदिन सकेका छैनन् । आर्थिक रुपमा कमजोर भए पनि उनको प्रतिभा रोकिएको थिएन ।

झापाको प्याट्रियोटिक क्रिकेट एकेडेमी दुई वर्षदेखि हिरन्मईको करिअर विकासका लागि सहयोग गरिरहेकै थियो । ‘एउटा बलसम्म किन्ने पैसा छैन । आजसम्म एउटा ब्याट र बल पनि किनेर दिन सकेको छैन । क्लबले एकजोडी भेस्ट र जुत्ता दिएको थियो । एकवर्ष भयो त्यही लगाएर खेलिरहेकी छन्,’ वीरेन भन्छन्, ‘धेरै पढाउन नसके पनि एउटा इलममा लागेकी थिई, अब राम्रो हुन्छ कि भन्ने सोचेको थिएँ । तर भाग्यले पनि ठगेको हो कि !’

प्रदेशस्तरीय क्रिकेट खेलाडी हिरन्मईलाई प्रशिक्षक जगत टमटाले नै सिनियर टिममा ल्याएका हुन् । उनलाई यू–१९ प्रतियोगिता खेलेको हेरेर उनलाई सिनियर टिमको प्रशिक्षणमा बोलाइएको थियो । युगाण्डविरुद्धको शृंखलामा नेपालले लगातार तीन खेल हारेकोमा हिरन्मईले डेब्यू खेलमै जित दिलाएकी थिइन् ।

अहिले नेपाली महिला क्रिकेट टिमकी प्रमुख लेगस्पिनर रहेकी उनी नै खेल्न जान नपाए नेपाली टिमलाई घाटा लाग्ने प्रशिक्षक टमटाले बताए । ‘उनी टिमलाई एकदमै चाहिने खेलाडी हो,’ उनले भने, ‘खेल हेरेर छानेर ल्याएको थिएँ । उसले आफूले अफूलाई प्रमाणित पनि गरेको हो । यस्ता क्षमतावान खेलाडीले यस्ता कारणले खेल गुमाउन नपरोस् भन्ने मेरो चाहना हो । सरकारले यसबारे विचार गर्नुपर्छ ।’

राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीले एउटा क्षमतावान नेपाली नागरिकले नागरिकताकै कारण खेल्न नपाउने कुरा स्वयम् खेलाडीका लागि निकै ठूलो निराशा हुने बताइन् । ‘१५ वर्षकी नानीलाई तिमीले यो कारणले खेल्न पाएनौ भनेर कसरी बुझाउनु ?’ रुविना भन्छिन्, ‘ उ जन्मेको नेपालमा हो र एउटा यस्तो खेलाडी हुन्, जसले टिममा प्रमुख खेलाडीको भूमिका निभाउँछ भनेपछि राष्ट्रकै लागि खेल्ने मान्छेलाई राष्ट्रले पनि न्याय गरिदिए हुन्थ्यो ।’


प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •