कपिलवस्तुमा अवैध रूपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थामा थिए ।
मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् ।
यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कतिपय उद्योग पनि सञ्चालनमा छन् ।
त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए ।
शिवराज नगरपालिकामा रहेका ११ वटा, विजयनगर गाउँपालिकामा रहेका दुईवटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेका एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।