लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

बाल भविष्यप्रति सचेत बनौं

बालअधिकार हामी सबैको सरोकारको विषय हो। व्यक्ति धनी होस् या गरिब, उद्योगी होस् या श्रमिक, उत्पादक होस् या उपभोक्ता, नीतिनिर्माता वा कार्यान्वयनकर्ता जो सुकै किन नहोस् सबै सबैसँग बालबालिका जोडिन्छन्। बालबालिकाको उज्ज्वल भविष्यप्रति सबैको चासो र चिन्तन अपरिहार्य छ। सबैभन्दा नजिकको अभिभावक आमाबुवा, परिवारका सदस्यदेखि स्थानीय, प्रादेशिक र संघीय सरकार समेत बाल भविष्यप्रति संवेदनशील बन्न जरुरी छ। तर सबै जिम्मेवार बन्न नसक्दा वर्तमान परिदृश्यमा बालअधिकार संरक्षणमा केही समस्या देखिएका छन्। यिनीहरूको समयमै यथोचित सम्बोधन गरी बालमैत्री वातावरणको सिर्जना गर्नुपर्ने हुन्छ।

संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालार्इ परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनिएको छ। तथापि सबै अपाङ्गता भएका व्यक्तिले उनीहरू अनुकूलको शिक्षा प्राप्त गर्न सकिरहेका छैनन्। अन्य सबलाङ्ग बालबालिका सहज तरिकाले विद्यालय शिक्षा प्राप्त गरिरहँदा अधिकांश अपाङ्गता भएका बालबालिका टुलुटुलु हेर्न बाध्य छन्। कसैको अभिभावकले उनीहरूको अध्ययनमा चासो दिंदैनन्, कतिपयले चासो दिएतापनि स्रोत कक्षाको पहुँचमा हुँदैनन् भने कतै क्षमता कम भएको कारण इच्छुक सबैले अवसर प्राप्त गर्न सकिरहेका हुँदैनन्।

बालबालिकाको पहिलो पाठशाला घरलार्इ मानिन्छ त्यसपछि विद्यालय। विद्यालय जस्तो पवित्र सिकाइको थलोमा बालबालिका अधिकांश समय व्यतीत गर्छन्, सिक्ने अभिलाषा बोकेर प्रवेश हुन्छन्। त्यहीं नै दुर्व्यवहारमा परिरहेका घटनाहरू हामी सुनिरहेका छौं। समय–समयमा विद्यालयमा विद्यार्थी शिक्षकबाटै कुटपिटमा परेको तथा दुर्व्यवहार गरेको समाचार सञ्चारमाध्यममा आइरहेका छन्। केही दिनअघि मात्रै पनि विद्यालय जान निस्किएका पोखराका एक जना १३ वर्षीय बालक विद्यालयमा गरिने व्यवहारको कारण पढ्न मन नलागेको भनेर बेपत्ता भएका थिए। शिक्षकले कुटपिट, यौनजन्य दुर्व्यवहारका साथै बलात्कार नै गरेका घटना पनि बाहिर आउनुले विद्यालयभित्र हुने सुरक्षा र विश्वासमाथि आँच आउने गरेको छ।

सम्बन्धविच्छेदबाट एकआपसमा नमिलेका पति–पत्नीलार्इ त छुटकारा मिल्ला तर बाबुआमाको सम्बन्ध टुट्नु बालबालिकाको लागि अभिशाप बन्न पुग्छ। श्रीमान्–श्रीमतीले सम्बन्धविच्छेद गरेपछि उनीहरूका बालबच्चाले उचित स्याहार, सुसार र संरक्षण प्राप्त गर्न सकेका हुँदैनन्। बाबुसँग रहने बच्चाले आमाको र आमासँग रहने बच्चाले बाबुको मायाको अनुभूति गर्न पाउँदैनन्। बाबुआमा दुवैको छत्रछायाँमा हुर्किने, बढ्ने अवसरबाट बालबालिका वञ्चित हुन पुग्दछन्।

अझै कतिपय बालबालिका त कानुनी अधिकारबाट वञ्चित हुनुपर्ने अवस्थाको समेत सिर्जना हुन्छ। यस परिवेशमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा २ मा उल्लेख भएजस्तै आर्थिक व्ययभार त बाबुआमाले व्यहोर्ने अवस्था रहला, तर सोही ऐनको दफा ७ (१) मा उल्लेखित प्रत्येक बालबालिकालार्इ आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुने कुराको सुनिश्चितता हुनसकेको देखिंदैन।

नेपालको संविधान धारा ३९ बालबालिकाको हक अन्तर्गत उपधारा ४ मा कुनै पनि बालबालिकालार्इ कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनेर उल्लेख गरिएको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ (९) मा चौध वर्षमुनिका बालबालिकालार्इ जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रूपमा राख्नुहुँदैन भनिएको छ। तर पनि कतिपय अभिभावकविहीन तथा विपन्न परिवारका बालबालिका जीवन निर्वाहका लागि विकल्पको खोजीमा भौंतारिंदै होटल, रेष्टुरेन्ट, नदी किनारमा बालुवा चाल्ने, माग्ने जस्ता कार्यमा संलग्न हुन पुगेका छन्। कतिपय उद्योगी/व्यवसायीले अभिभावकविहीन वा विपन्न परिवारका बालबालिकालार्इ कम पारिश्रमिक दिएर श्रममा लगाउने गरेका छन्। अभिभावकले बालबालिकाको भविष्यप्रति चिन्तन नगर्दा पनि बालश्रममा बालबालिका आबद्ध भइरहेका छन्।

हाम्रो समाजमा १३, १४ वर्षको उमेरमै किशोरी आमा भएका समाचार पनि सुनिन्छन्। यसको अर्थ बालविवाहको समस्या अझै पनि रहेको छ। स्वरूपमा धेरै परिवर्तन आए तापनि समस्या कायमै छ। पहिले बाबुआमाले विवाह गरिदिने प्रचलन थियो भने अहिले नगन्य संख्यामा मात्र बाबुआमा वा अभिभावकबाट हुन्छन् भने अधिकांश बालविवाह केटाकेटी स्वयं भागेर गर्ने गरेका छन्। एकातर्फ बालविवाह गर्ने बालबालिका आफैं जोखिममा पर्ने हुन्छन् भने अर्कोतर्फ उनीहरूबाट जन्मिने बालबालिका झनै स्वास्थ्यको जोखिममा पर्ने र अपाङ्ग जन्मिन सक्ने अवस्थाको सिर्जना हुन्छ। आर्थिक, सामाजिक, पारिवारिक दायित्व वहन गर्न नसक्दा र स्वास्थ्यमा असर पर्ने भएकोले हिंसा र अस्वस्थताको दुष्चक्रमा बालबालिका (विशेषगरी बालिका) फस्न पुग्छन्।

सुरक्षा अनि संरक्षणको लागि घरपरिवार अनि आफन्त जत्तिको भरपर्दो अरु को नै हुन सक्लान् र ! तर परिवारका सदस्यहरूबाटै असुरक्षित भएका घटनाहरू बाहिरिनुले बालबालिका कहाँ सुरक्षित होलान् भन्ने प्रश्न हामीमाझ तेर्सिएको छ। केही हजुरबा, बा, अंकल, दाइ भनिनेहरू पनि नातिनी, छोरी, बहिनी, दिदीलार्इ दुर्व्यवहार गर्न पछिपरेका छैनन्। हजुरबाको रखबारीमा घरमै छोडेर काममा गएकी आमा बेलुका घरमा फर्केर आउँदा छोरीलार्इ विक्षिप्त अवस्थामा भेट्नुपर्दाको पीडा कस्तो होला ? आफ्नै बाबुले गरेको दुर्व्यवहार अरुलार्इ सुनाउन नसकेर गुम्स्याएर राखेका पीडा केही त बाहिर आउन थालेका छन्, यस्ता अझै कति लुकेका होलान् ? यस्ता यौनजन्य हिंसा, दुर्व्यवहार, जबरजस्ती करणी तथा बलात्कारका घटनाबाट प्रताडित बालबालिकाको अवस्था निकै कहालीलाग्दो छ।

समस्या गरिब र विपन्न परिवारमा मात्र होइन मध्यम तथा सम्पन्न परिवारका बालबालिकामा पनि देखिएको छ। बालबालिकाको रहनसहन र सामाजिकीकरण दिनानुदिन परिवर्तन हुँदै गइरहेको छ। जन्मेदेखि नै मोबाइल, ट्याब तथा ल्यापटपको पहुँचमा रहने यिनीहरू पारिवारिक, सामाजिक र सांस्कृतिक वातावरणमा धेरै घुलमिल हुन सक्दैनन् अर्थात् रुचि राख्दैनन्। संयुक्त परिवारमा बसोबास गर्ने ज्येष्ठ नागरिक समेत एक्लो भएको महसुस गरिरहेका हुन्छन्। सामाजिक सञ्जालमा आबद्ध भएका परिवारका अन्य सदस्य र सामाजिक सञ्जालको भेउ नपाएका वृद्ध बुबाआमा बीच ठूलो पर्खाल खडा हुँदै गएको छ। यसले ज्येष्ठ बुबाआमासँग रहेको ज्ञान, सीप र धारणा पछिल्लो पुस्तामा हस्तान्तरण हुन पाएको छैन।

वैदेशिक रोजगारले रेमिट्यान्स त भित्र्याएको छ तर पनि यसले सामाजिक रूपमा देखिएका असर बाहिर आउन थालेका छन्। परिवारमा अविश्वास बढ्नु, पारिवारिक विखण्डन आउनु, हत्या, हिंसाका घटना घट्नु, अनुत्पादक क्षेत्रमा लगानी बढ्नु, उत्पादनतर्फ नभई उपभोगमुखी शैलीको विस्तार हुनुलगायतका समस्याले बालबालिकामा असर पुर्‍याएको छ। मिहिनेत गरी जीविकोपार्जन गर्ने शैली हराएको छ, कसरी हुन्छ छिट्टै धनी बन्ने होडमा सबै लागिरहेका छन्। यसले कलिलो बालमस्तिष्कमा नराम्रो असर पुर्‍याएको छ। उनीहरूको सिकाइ नै त्यसैगरी निर्देशित भएको छ। ९, १० कक्षा अध्ययन गर्दादेखि नै कुन देश जाने भन्ने मानसिकता बनाएर बसेका हुन्छन् बालबालिका। आफूले भनेको जस्तो नपुग्ने भयो अथवा परिवारमा सामान्य उतारचढाव आयो भने मात्र पनि घर छोडेर हिंड्ने, कुलतमा लाग्ने त कतिपयले आत्महत्या नै गर्ने गरेका घटना पनि घट्ने गरेका छन्।

यी लगायत बालबालिकासँग सम्बन्धित थुप्रै समस्या हाम्रो समाजमा देखिएका छन्। पारिवारिक संस्कार र सामाजिक दायित्व अनि व्यवहारले बालबालिकाको भविष्यलार्इ दिशानिर्देश गर्ने गर्दछन्। उनीहरूलार्इ सदाचार युक्त, सहनशील, धैर्य, कर्तव्यनिष्ठ, सद्गुणी तथा असल बनाउन परिवार र समाजको ठूलो भूमिका हुन्छ। समय गुज्रेपछिको लगाव र पश्चात्तापको कुनै अर्थ रहन्न यसर्थ बालबालिकामा रहेका समस्याको समयमै पहिचान एवं निराकरण गर्दै संवैधानिक र कानुनी हकको प्रत्याभूति गराउन व्यक्ति, परिवार, समाज अनि राज्यस्तरबाट समेत सक्दो प्रयास गरौं।

(लामिछाने हेटौंडा उपमहानगरपालिका नगर कार्यालय हेटौंडाकी प्रमुख महिला विकास अधिकृत हुन्।)


प्रकाशित : २०७९ पुष २७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •