प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ को अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
खरायो वर्षको पावन अवसरमा देशविदेशमा रहेका सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु उनले शुभकामना सन्देशमा भनेका छन् ।
यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्नेगरेको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको चर्चा गरेका छन् । सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको उनले बताएका छन् । हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो शुभकामना सन्देशमा उल्लेख छ ।
नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको उनले बताएका छन् । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो उनले सन्देशमा भनेका छन्, “यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष शुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन्।”
नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल(चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा यो पर्व मनाइने गरेको उनले बताएका छन् । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघरसंस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन्।
ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व भएको बताएका छन्। यस पर्वले नेपालीहरूमा आपसी सदभाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन् ।