विराटनगर । राजनीतिमा जोडिएको तिन महिनामै इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक बाट संसद् छिरेकी थिइन् । २०७९ मसिर ४ गते समापन्न चुनावका बेला मात्रै उनी पाटीमा जोडिएकी हुन् ।
५२ वर्षकी राना मगर संसद् यात्रा तय गर्नुअघि सामाजिक काममा सक्रिय थिइन् । उनी ३३ वर्षदेखि सामाजिक कार्यमा सक्रिय थिइन् ।
उनले कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावक बनेकी थिइन्। उनीहरूको लालनपालन तथा तथा शिक्षा दिने काम पनि गरेकी थिइन्।
उनले दुई हजारभन्दा बढी बालबालिकालाई आश्रय दिएकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष पनि हुन् । उनले विभिन्न जिल्लामा बालगृहसमेत सञ्चालन गरेकी छन् ।
काठमाडौँ, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेकी छन् ।
उनले १० वर्षकी हुँदा मात्रै विद्यालयमा गएकी थिइन् । एकै पटक कक्षा ५ मा उनी भर्ना भएकी थिइन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण इन्दिराले पनि दिएकी थिइन्। २०५३ सालमा स्नातक तहसम्म अध्ययन गरेकी थिइन्।
अशोक फेलो २००५ रहेकी उनी एशिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, लगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरूबाट सम्मानित भइसकेकी छन् ।
उनी अध्यक्ष रहेको बन्दी सहायता नेपाल गैरनाफामूलक, गैरराजनीतिक, एउटा गैरसरकारी सामाजिक संस्था हो ।
काठमाडौंको साँखुमा कच्ची घरबाट शुरू भएको बन्दी सहायता संस्थाद्वारा सञ्चालित विद्यालयमा १२० जना बच्चाहरूलाई पढाउने गरिएको छ । उनले सञ्चालनमा ल्याएको विद्यालयको नाम ‘जुनकिरी स्कुल’ हो।
झापाको खुदनावारीमा बालगृहका लागि करिब दुई बिघा जग्गा खरिद गरी त्यसमा नयाँ पक्की घर बनाई बालगृह स्थापना गरिएको छ । साथै बुट्टाबारीमा डेड कठ्ठा जग्गामा एउटा छुट्टै जुनकिरी पुस्तकालय तथा जुनकिरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह पनि उनले सञ्चालनमा ल्याएकी छन्।