आजै रवि लामिछानेले नयाँ नागरिकता लिँदै छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिने बित्तिकै उनी फेरि उपप्रधान तथा गृहमन्त्रीको कुर्सीमा पूर्ववतः पुग्ने चर्चा समेत चलिरहेको छ । समाचार स्रोतका अनुसार शुक्रबार साँझ नै एक ढङ्गको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बसेर गरिएको छ ।
सो समझदारी अनुसार आज आइतबार कार्यालय खुल्नै वित्तकै राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनर प्राप्तिका लागि निवेदन दिने छन् । नागरिकता पाउने वित्तिकै संविधानले दिएको ६ महिने सुविधा प्रयोग गर्दै उपप्रधान तथा गृहमन्त्रीकारुपमा शपथ खानेगरि प्रधानमन्त्रीसँग सहमति भएको उच्च समाचार स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगसँग समन्वय गरी छिट्टै चितवनमा उपनिर्वाचन गर्ने र सोही स्थानबाट फेरि रवि लामिछानेलाई नै जिताएर ल्याउनेसम्मको गठबन्धनको तयारी रहेको जनाइएको छ ।
रवि लामिछानेको नागरिकता प्रकरणमा नै राजनीतिक दाउपेच निकै हाबी भइसकेको हुनाले उनलाई एकैसाथ दुई वटा राहदानी बोकी हिँडेको अभियोगमा थप मुद्दा चलाएर अड्काउने सम्भावना समेत देखिन्छ ।
उनले नेपाली र अमेरिकी राहदानी एकैसाथ प्रयोग गरेको विषयमा अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेका वकिलहरू भने सो मुद्दालाई अग्राधिकार नदिई पाँच वर्ष अड्काउनेगरि राजनीतिक दबाब आउने हो की भन्ने पिरलोमा छन् । उता रवि लामिछानेको नागरिकता प्रकरणमा मुद्दा हराएको भन्दै नारा जुलुस गर्ने र सर्वोच्च तर्फ फर्केर धारे हात लगाउने उनका समर्थकहरूले नै अनेकौँ लफडा र विवादमा पारेर उनको छवि अझ बढी धुमिल्याउने चिन्ता रविका निकटस्थहरूले गरिरहेका छन् ।
रविलाई अहिले सबैभन्दा बढी अप्ठ्यारो उनकै समर्थकहरूबाट छ । उनीहरूको अराजकताले रवि विरोधी माहोलमा झन् घिउ थप्ने सम्भावनाकाबिच सत्ता राजनीतिको जोड घटाउका हिसाब किताबमा समेत रविबारेका निर्णयहरू मिसिनाले रवि र उनको पार्टी रास्वपाको राजनीतिक भविष्यलाई नै चक्रब्युहमा पारेको विश्लेषण गरिँदै छ ।