माघ १६ गते स्कूल स्थापनाको ४८औं वार्षिकोत्सव समारोहमा ७ कक्षामा पढ्ने छात्रा ग्रिष्मा गिरीले उपस्थित अतिथिका लागि अंग्रेजीमा स्वागत भाषण गरिन् । अहिलेका बालबालिकाले अंग्रेजीमा केही शब्द बोल्नु शहरका लागि सामान्य विषय हो तर गाउँको सरकारी स्कूलमा पढ्ने ७ कक्षाकी विद्यार्थीले अंग्रेजीमा भाषण गर्नु सामान्य विषय होइन ।
पश्चिम बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रहेको पौदीटारी आधारभूत विद्यालयकी छात्राले अंग्रेजीमा भाषण गर्दा उपस्थित अभिभावकको अनुहारमा चमक देखियो । सरकारी स्कूलको शैक्षिक गुणस्तरको विषयलाई लिएर बहस भइरहेको समयमा गाउँकै स्कूलले दिएको स्तरीय शिक्षाका कारण केही हदसम्म बसाइँसराइँ पनि रोकिएको छ ।
पर्याप्त स्रोतसाधन भएर पनि होइन, व्यक्तिले दिएको चन्दा र आर्थिक सहयोगका भरमा यो स्कूलले निजी बोडिङमा पढाउन सामर्थ्य नराख्ने विद्यार्थीका लागि पनि स्तरीय शिक्षा दिइरहेको छ । सरकारी दरबन्दीका ७ र निजी स्रोतबाट ७ जना शिक्षक राखेर ८ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको छ । विद्यार्थीको आकर्षण बढ्दो छ ।
बडिगाड गाउँपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद आचार्य पौदीटारी स्कूलले दिएको गुणस्तरीय शिक्षाका कारण बच्चा पढाउने नाममा गाउँ खाली गरेर शहर पस्ने क्रम रोकिएको बताउँछन् । ‘बच्चा पढाउने नाममा गाउँका खेतबारी बाझो बनाएर शहरमा बसाइ सर्ने फेसन पनि छ, गाउँका स्कूलले स्तरीय शिक्षा दिन थाले भने बसाइँसराइँ पनि रोकिन्छ,’ आचार्यले भने, ‘बडिगाड गाउँपालिकाको यस वडालाई शिक्षाको लागि नमूना बनाउँछौं ।’
प्रधानाध्यापक टीकाबहादुर भुजेल समयको मागअनुसार स्कूलले अंग्रेजी माध्यममा पठनपाठन गरिरहेको बताउँछन् । स्कूलमा २३६ जना विद्यार्थी अध्ययनरत छन् । वडाध्यक्ष आचार्यले ३ जना विद्यार्थीको छात्रवृत्तिका लागि वार्षिक ३८ हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छन् ।
पौदीटारी स्कूलमा अध्ययन गरेका लोकान्तर डटकमका सम्पादक विमल गौतम पूर्वाधारका साथसाथै स्कूलले शिक्षाको गुणस्तरलाई बढाउँदै लैजानुपर्ने बताउँछन् । ‘मैले यही स्कूलमा कखरा सिकेर देशविदेशका सञ्चारमाध्यममा काम गर्ने अवसर पाएँ, अंग्रेजी भाषाकै कारण बीबीसीमा काम गर्ने मौका मिल्यो,’ विद्यालय स्थापनाको ४८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गौतमले भने, ‘गाउँको सरकारी स्कूलमा अंग्रेजी माध्यममा पढाइ शुरू गर्नु कम्ती चुनौतीपूर्ण होइन ।’
लामो समय स्कूलमा अध्यापन गरेकी आफ्नी आमाको नाममा गौतमले २ लाख रुपैयाँको ‘मणिकला गौतम अक्षय कोष’ स्थापना गरिदिएका छन् ।
ग्वालीचौरको भानु माविका प्रधानाध्यापक केशव खरेल पौदीटारी स्कूलले यो क्षेत्रमा स्तरीय शिक्षा दिइरहेको बताउँछन् । पौदीटारीबाट आएका विद्यार्थी अन्य स्कूलबाट आएकाभन्दा अब्बल रहेका उनले सुनाए ।
स्कूलले दिइरहेको स्तरीय शिक्षाका कारण अभिभावकहरू सन्तुष्ट रहेका अभिभावक संघका अध्यक्ष नरबहादुर बलामीको भनाइ छ ।
नमूना स्कूलको पर्दा पछाडिका नायक नवीन
पौदीटारी स्कूलको ४८औं वार्षिकोत्सव समारोह चलिरहेको समयमा रामबहादुर कुँवर ‘नवीन’ कहिले मञ्च र कहिले यताउता गरिरहेका थिए । विद्यार्थीलाई खाजा बाँड्न पनि उनै अग्रसर थिए । आफ्नो उमेरका साथीहरू रोजगारीका लागि विदेश या शहर पसे पनि नवीन भने गाउँको स्कूललाई नमूना बनाउन भनेर लागिपरेका छन् ।
स्कूलले २०६९ सालमा अंग्रेजी माध्यममा पढाउन शुरू गरेदेखि नै नवीन कार्यक्रमको संयोजक छन् । विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष ऋषिराम घिमिरे छन् । ‘आर्थिक रूपले सम्पन्न हुनेले आफ्ना बालबालिकालाई बोर्डिङमा हाल्न थालेपछि गाउँका सरकारी स्कूल सुक्न थालेका थिएँ, हामीले सरकारी स्कूलको गुणस्तर बढाएर विद्यार्थी पलायन रोक्नुपर्छ भनेर अंग्रेजी माध्यममा पढाइ शुरू गरेका थियौं,’ नवीनले लोकान्तरसँग भने, ‘अंग्रेजी माध्यममा पढाउने निर्णय त गर्यौं तर जनशक्ति थप्नुपर्ने भयो । अंग्रेजी पढाउन दार्जिलिङबाट शिक्षक ल्याउनुपर्यो ।’
आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई कापी, कलम र झोलाको समेत बन्दोबस्त गर्नुपरेको नवीन बताउँछन् । शुरूमा ३ कक्षासम्म अंग्रेजी माध्यममा पढाउन शुरू गरिएकोमा अहिले ८ कक्षासम्मै अंग्रेजी माध्यममा पढाइ भइरहेको छ । ‘गाउँका बालबालिका पछि स्कूल कलेजमा जाँदा अन्यत्रका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकून् भनेर हामीले अंग्रेजी माध्यममा पठनपाठन शुरू गर्यौं, अहिले पाएको सफलताले हामीलाई आत्मसन्तुष्टि दिएको छ,’ उनले भने ।
स्कूलबाट पढेका विद्यार्थीहरू प्राविधिक शिक्षा लिएर गाउँमा फर्केर जनताको सेवा गरून् भन्ने आफूहरूको उद्देश्य रहेको उनी बताउँछन् । ‘हाम्रो स्कूलमा पढेका विद्यार्थीमध्ये कम्तीमा २ जनाले प्राविधिक शिक्षा पढून् भन्ने हाम्रो चाहना छ । यहीँ पढेको विद्यार्थी इन्जिनीयर बनेर गाउँमा आएर जनताको सेवा गरोस्, पशुको उपचार गर्ने पनि यही पढेको विद्यार्थी होस् भन्ने चाहन्छौं,’ नवीनले भने ।
स्कूलमा अंग्रेजी माध्यमको पढाइ शुरू गर्ने बेलामा विद्यालयकै पूर्व विद्यार्थी र स्थानीय रूपमा सम्पन्न व्यक्तिबाट आर्थिक संकलन गरिएको थियो । ‘यही स्कूलका विद्यार्थी विमल गौतमले ५ वटा कम्प्युटर, प्रोजेक्टर उपलब्ध गराइदिएपछि विद्यार्थीले कम्प्युटर शिक्षाको अनुभव हासिल गरेका थिए, स्कूलको भवन निर्माणका लागि पनि उहाँले सरकारसँग पहल गरेर बजेट पार्न सफल हुनुभयो,’ नवीनले भने ।
अतिरिक्त क्रियाकलापमा पनि अब्बल
सीमित स्रोतसाधनका बाबजुद स्कूलले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै आएको छ । ४८औं स्थापना दिवसको अवसरमा विद्यार्थीले विभिन्न कला प्रदर्शन गरे । शहरका सुविधासम्पन्न स्कूलमा समेत रेकर्ड गरिएको राष्ट्रिय गान सुनाइन्छ तर स्कूलका विद्यार्थीले राष्ट्रिय गान र स्वागत गान गाएर कार्यक्रमलाई जीवन्त बनाए ।
शिक्षक बुद्ध परियारले हार्मोनियम बजाउँदा ८ कक्षामा पढ्ने विद्यार्थीले मादल र बाँसुरी बजाए । पीटीमार्फत स्कूल स्थापना दिवसको आकृति बनाए । शिक्षक कल्पना खरेल शैक्षिक गुणस्तर वृद्धिका लागि दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउँछिन् । ‘हाम्रो स्कूलको उत्पादन राम्रो छ, आगामी दिनमा गुणस्तर वृद्धिका लागि दरबन्दी थप गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन् ।
यूके ट्रस्टको सहयोगमा २ जना बेलायती शिक्षकले गाउँमा बसेर केही समय विद्यार्थीलाई अंग्रेजी पढाए । १० वर्षसम्म २ जना शिक्षकलाई भोलेन्टियर शिक्षक उपलब्ध गराउने सम्झौता भए पनि कोरोना महामारीका कारण शिक्षक बेलायत फर्के । सहमतिअनुसार बेलायती शिक्षकलाई पुनः ल्याउन प्रयास गर्ने स्कूल व्यवस्थापन समितिको तयारी छ ।
स्कूलको ४८औं वार्षिकोत्सव समारोहमा उपस्थित समाजसेवी एवं विश्व प्रसिद्ध कम्पनी योनेक्सका नेपाल प्रमुख राजु बाँस्तोलाले स्कूललाई खेलकुद सामग्री हस्तान्तरण गरे । सोही समारोहमा सम्पादक गौतमले स्कूलको नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरेका थिए ।