लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ऐलानी जग्गाको निस्सा वितरण

कैलालीको पूर्वी पहाडी मोहन्याल गाउँपालिकाले सातै वडाबाट ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको छ। गाउँपालिकाका ७ वटै वडाबाट स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको हो। कैलालीको विकट गाउँपालिकाका रूपमा रहेको मोहन्यालको अधिकांश जग्गा ऐलानी छ। त्यहाँका स्थानीयहरू ऐलानी जग्गाको जग्गाधनी पुर्जा नहुँदा घरनक्सा पास, बैंकिङ कारोबार र बिक्री वितरण गर्न नपाउने जस्ता समस्या झेल्दै आएका थिए।

गाउँपालिकाका उपाध्यक्ष कमल साउँदले राष्ट्रिय भूमि आयोगको अनुसूची २ बमोजिम वडा कार्यालयबाटै ऐलानी जग्गाको निस्सा वितरण सुरु गरिएको बताए। गाउँपालिकाले वडा कार्यालयमा भूमि आयोग र गाउँपालिकाको टोली परिचालित गरी निस्सा वितरण गरिरहेको छ। ‘विकट पालिका भएको हुनाले यहाँका अधिकांश भू–भाग ऐलानीमा पर्छन्’ उपाध्यक्ष साउँदले भने। ‘अनुसूची २ को अनलाइन फाराम भरेपछि लगत आउँछ र निस्सा दिने गरेका छौं, यही निस्साको आधारमा नापी टोलीले जग्गा नापजाँच गरेर पुर्जा वितरण गर्छ।’ उपाध्यक्ष साउँदका अनुसार गाउँपालिकाले जग्गा नापजाँचका लागि वडा नं. ७ को कुइनेबाट ‘कोर्डिनेट प्वाइन्ट’ राख्न सुरु गरिएको बताए। ‘यही प्वाइन्टलाई आधार मानेर जीपीएस मेसिनबाट जग्गाको नापजाँच हुनेछ’ उपाध्यक्ष साउँदले भने। ‘पालिका नै विकट भएको हुनाले प्वाइन्ट राख्नका लागि मात्रै दुई महिना बढी समय लाग्ने देखिन्छ, त्यसपछि हामी पुर्जा वितरणको काम सुरु गर्नेछौं।’ स्थानीयहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको पुर्जा नहुँदा थुप्रै समस्या भोग्दै आएका थिए।

कुइनेका ताराप्रसाद अधिकारीले जग्गाको निस्सा वितरण सुरु गरिएकोमा खुसी व्यक्त गरे। ‘वर्षौंदेखि हामीले भोगचलन गर्दै आएको जग्गा बिक्री गर्न सकिएको छैन, केही कारोबार गरौं भने ऐलानी जग्गा बैंकले राख्दैन, निकै समस्या झेल्दै आएका थियौं’ अधिकारीले भने । ‘निस्सा वितरण सुरु भएको सुनेर खुसी लागेको छ, अब चाँडै जग्गाको पुर्जा पाउनेमा आशावादी छौं।’ कर्णाली नदीको कुइने क्षेत्रमा पक्की पुल निर्माण भएर सहरको रूपमा विकास हुन सक्ने कुइने क्षेत्रमा बनाइएका पक्की घरको नक्सा पास नहुँदासमेत स्थानीयहरू आक्रान्त थिए। कचालीका स्थानीय रमेश माझीले निस्सा आएर जग्गाको पुर्जा पाएपछि घरनक्सा पास हुने विश्वास बढेको बताए। ‘सानोतिनो कारोबार गरौं, बैंकबाट ऋण लिनका लागि समेत घरनक्सा, जग्गाको पुर्जा चाहिने।

हामी अधिकांशसँग न पुर्जा छ, न घरनक्सा पास’ माझीले भने ‘गाउँपालिकाले निस्सा वितरण सुरु गरेपछि ढिलोचाँडो जग्गाको पुर्जा पाइन्छ कि भन्ने लागेको छ।’ कुनैबेला बाइसेचौबिसे राज्यमध्येको धुलिकोट राज्यको मुकाम रहेको मोहन्यालको राजकाँडा क्षेत्रमा समेत ऐलानी जग्गा छ। वि.सं. १५९३ देखि झन्डै ४ सय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको ऐतिहासिक क्षेत्र राजकाँडामा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। राजकाँडामा रहेको ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवालगायतका अवशेषहरूको संरक्षण, पर्यटकीय गन्तव्यको विकास लागि समेत निस्सा वितरणले सहयोग पुग्ने स्थानीयहरू बताउँछन्।


प्रकाशित : २०७९ फाल्गुन १४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप