पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सौर्य एयरलाइन्सले पहिलो पटक रात्रिकालीन उडान गरेको छ।
सौर्यले बुधबार राति ९: ५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडान भरेको हो। सौर्यको यो रात्रिकालीन उडान सेडुअल उडान भने नरहेको विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए।
दिउँसोको उडान मौसमका कारण ढिला हुँदा सौर्यले राति उडान भरेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए। काठमाडौंबाट बुधबार राति ३३ जना यात्रु लिएर उडेको विमान राति ९ बजे पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
पोखराबाट ४७ जना यात्रु लिएर राति ९:५ मा पहिलो पटक काठमाडौंका लागि रात्रिकालीन उडान भरेको पनि गौतमले जानकारी दिए। सौर्यको बिहीबार राति रात्रिकालीन उडानको सेडुअल नरहेको पनि विमानस्थल प्रमुख गौतमले जानकारी दिए।
विमानस्थल फागुन ११ गते बिहीबारदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको थियो। विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार भएको थियो।
विमानस्थलमा इन्स्ट्रमेन्ट प्लाइट रुल्स लागू भएसँगै रातिको समयमा पनि सहज रूपमा उडान र अवतरण गर्न सकिने गरी तयार भएको हो।
फेब्रुअरी २३ देखि यो प्रणालीबाट विमान उडान र अवतरण भइरहेको छ। आइएफआर प्रणालीको परीक्षण गरेपछि फागुन ११ गतेदेखि पूर्ण रूपमा आइएफआर प्रणालीबाट जहाजले उडान र अवतरण सुरु भएको थियो।
यो प्रणाली लागु हुनु अघिसम्म पोखरा विमानस्थलमा बिहान मौसम अनुसार ६ बजेदेखि दिउँसो ५:३० बजेसम्म मात्र उडान हुँदै आएकोमा अब भने १८ घण्टा सम्म उडान हुने गरी विमानस्थल तयार भएको छ।
यो प्रणाली लागु भएसँगै बिहान ६ बजेदेखि राति १२ बजेसम्म १८ घण्टा जहाज उडान भर्न सक्ने गरी तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गौतमले बताए।
१८ घण्टा नै सेवा दिन सक्ने अवस्था रहे पनि जहाज उडानको चाप कम भएकाले आवश्यक्ता अनुसार बढाउने गरी अहिलेलाई भने राति ९ बजेसम्म उडान हुने विमानस्थले जनाएको छ।
यो प्रणाली (आइएफआर) पूर्ण यान्त्रिक भएकोले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सहज र सुरक्षित रहने प्राधिकरणले जनाएको छ।
यो सेवा सुरु सँगै रात्रिकालीन उडान र अन्तर्राष्ट्रिय उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भए पनि अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुन्छ भन्ने अझै एकिन भएको छैन्।
रात्रिकालीन उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयार भए सँगै बुद्ध एयरले (मार्च ९) फागुन २५ गतेदेखि रात्रिकालीन सेवा सुरु गर्ने बताएको छ।
बुद्ध एयरका मार्केटीङ डाइरेक्टर रुपेश जोसीले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने पनि जानकारी दिएका छन्। बुद्धले पोखराबाट काठमाडौं, नेपालगञ्ज र भद्रपुरमा रात्रिकालीन उडान गर्ने गरी तयारी गरिरहेको जोसीले बताए।