नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् । “नेपालका सबै मानिसको नैसङ्र्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ ।
बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कही कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु”, उनले पत्रमा उल्लेख गरेका छन् । शान्ति वार्ताको क्रममा होस् वा संविधान निर्माण क्रममा होस् नेपाली जनताको मानवअधिकार, स्वतन्त्रता, दीगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई आफ्नो लक्ष्य र उद्देश्य बनाउँदै आएको पूर्वसभामुख पौडेलको भनाइ छ ।