नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाका लागि आठ दलीय गठबन्धन भएको बताएका छन् । यही फागुन २५ गते हुने निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका साझा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन राष्ट्रपति निर्वाचन अभियान परिचालन तथा संयोजन संयन्त्रद्वारा आज वीरेन्द्रनगरमा कर्णाली प्रदेशसभा सदस्यका लागि आयोजित अभिमुखीकरण कार्यक्रम उपसभापति खड्काले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न सबै दल एकजुट हुनुपरेको बताए ।
अभिमुखीकरणमा उनले पूर्वसभामुखसमेत रहेका नेता पौडेललाई मतदान गर्न आग्रह गरे । उनले राजनीति वा अन्य कुनै पदका कारणले यो लक्ष्यलाई पाँच वर्षसम्म कसैले फेल गराउन नसक्ने जिकिर गरे । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले मुलुकलाई लिकबाट बाहिर जान नदिन सबै दल एक ठाउँमा आउनु परेको बताए । सबै दलको एक्तावद्ध अभियानबाट लिक बाहिर गएको देशलाई बचाएको उनले बताए ।
उपमहासचिव बस्नेतले मुलुकको हित, लोकतन्त्र, संविधान जनताको भावना, परिवर्तनका मूल्य र उपलब्धि बचाउन सबै राजनीतिक दल जुट्न आवश्यक रहेको जोड दिए। फागुन २५ गते राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई बहुमतले विजय गराउन सबै प्रदेशसभा सदस्यलाई उनले बताए । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, माओवादी केन्द्रका कर्णाली प्रदेश सहइन्चार्ज कालीबहादुर मल्ल, कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायतले राष्ट्रपतिका साझा उम्मेदवार पौडेललाई मतदान गरी विजय गराउन अनुरोध गरेका थिए ।