इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन् । सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ ।
तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, नेपाल–सभ्यताको निर्माण–पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य–पक्षहरूको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकायहरू चुकिरहेका छन् । इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ ।
मन्दिरै–मन्दिरको शहरको उपमाबाट चिनिएको काठमाडौं उपत्यकामा के–कति पुरातात्विक सम्पदा छन्, कति जोगिएका छन्, कति लापरबाह अवस्थामा छन् वा कति नामेट भइसके भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् ।
यही टिठलाग्दो अवस्था अहिले विद्यमान छ । नेपाल पहिचानका अनेक आधारहरुमध्ये एक सांस्कृतिक सम्पदा पनि हो । सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ । नेपाली पहिचान झल्काउने सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो ।
देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ ? तर अवस्था त्यस्तो छैन । काठमाडौं उपत्यकाका अधिकांश सांस्कृतिक सम्पदाहरु जिर्ण र बेवारिसे छन् । कतै फोहोरै फोहरे त कतै पानी आउने परम्परागत ढुंगे धाराहरुलाई संरक्षणको साटो बेन्चहरु राखेर छोपिएको छ ।
फुटपाथका पसलहरुले सम्पदा परिसर छपक्कै छोपिएको छ । सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्रीहरु झुन्ड्याइएको छ भने सम्पदा वरपर सजावटका लागि राखिएका गमलाहरु फुटेर मानिसलाई गिज्याइरहँदा समेत त्यसको संरक्षण गर्न कोही जागरुक बनिरहेका छैनन् ।
मन्दिर परिसरमै पार्किङ छ, जसले बोल्न नसक्ने सम्पदाहरुलाई हेपिरहेको भान दिलाउँछ । अझ भनौ पार्किङले सम्पदा छोपिएको छ । नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरुको संरक्षण गर्न समेत सरकार लाचार छ । सम्पदा ढाक्नेगरी जताततै ढुंगा, बालुवा, गिटीह थुपारिएको छ ।