नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ ।
मंगलबार दिउँसो काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा छापा मारेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी फरार छन् ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई टेलिफोन गरेर आफैँ प्रहरीसमक्ष उपस्थित हुने बताएका रायमाझी त्यसपछि फरार भएका हुन् ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रूपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन । गृहस्रोत भने उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंका रहेको बताउँछ ।
पूर्वमन्त्री रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको गृह स्रोतले बताएको छ । त्यति मात्र नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि रायमाझीलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।
यसअघि गत बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार मध्याह्न प्रहरीलाई फोन गरेर आफैँ गिरफ्तारी दिन आउने बताएका थिए । बिहीबार दिउँसो २ बजे गिरफ्तारी दिन आउँछु भनेका रायमाझी त्यसपछि फरार छन् । गत बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडे पनि राति ९ बजेपछि माेबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए ।
रायमाझीले भैरहवाबाट काठमाडाैं आउन गत बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेका थिए ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले गत बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ ।


समाचार


