आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकले सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका दलले नीति तथा कार्यक्रमलाई समर्थन गरे । नीति तथा कार्यक्रम पारित गर्न प्रतिनिधि सभाको बैठक शनिवार राति अबेरसम्म चलेको थियो ।
छलफल सकेर संशोधनलाई निर्णयार्थ पेश गरेपछि सभामुख देवराज घिमिरेले राति साढे ९ बजे नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए । विपक्षी दलले मतविभाजन नमागेका कारण ध्वनी मतबाटै सरकारका नीति तथा कार्यक्रम बहुमतले पारित भयो ।
शुक्रवार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेपनि नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका कारण शनिवार मात्र नीति तथा कार्यक्रम पारित भएको हो । शनिवार बसेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिएपछि संसद अवरोध हटेको थियो ।
त्यसअघि संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाहिर कर्मकाण्डी भनेर आरोप लगाइएपनि सरकारका नीति तथा कार्यक्रमले मुलुकका समस्या समाधान गर्ने दावी गरे । राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । जेठ १५ गते संसदमा बजेट पेश गर्नुअघि संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक दायित्व छ ।
यसैबीच प्रतिनिधि सभाको अर्को बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि तय भएको छ ।


समाचार


