पोखरा । स्थानीयको अवरोधका कारण ५ दिनदेखि नउठेको पोखरा महानगरको फोहोरमैला आइतबारदेखि उठाउन थालिएको छ ।
शनिबार राति परेको भारी वर्षाले फोहोर सडकभरि छरपष्ट बनाएको थियो । सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि आइतबार बिहानैदेखि डोजरको सहयोगमा मुख्य बजार क्षेत्रका फोहोर उठाइएको छ । तर, ल्यान्डफिल साइट क्षेत्रका स्थानीयको अवरोध जारी रहेकाले संकलित फोहोर त्यहाँ नलगेर हाललाई गाडीमै राखिएको महानगरले जनाएको छ ।
स्थानीयसँग अझै वार्ता नमिलेकाले फोहोर संकलन गरेर गाडीमै राखिएको महानगर सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् । ‘सडकका फोहोर आजैदेखि उठाउन सुरु भयो । तर, त्यो गाडी लामेआहाल पुगेको छैन,’ उनले भनिन्, ‘सबै फोहोर उठिसकेको छैन । केही मुख्य क्षेत्रको सडकमा फालेको फोहोरमात्रै उठाइएको हो ।’
शाखा प्रमुख बरालका अनुुसार आइतबार पोखराका न्युरोड, नयाँबजार, पृथ्वीचोक, चिप्लेढुंगालगायत मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोरमात्रै उठाइएको हो । आइतबार बिहान ४ गाडी फोहोर संकलन गरिएको छ ।
संकलित फोहोर अस्थायी ल्यान्डफिल साइटमा कहिले व्यवस्थापन गरिन्छ भन्ने अझै टुंगो नलागिसकेको महानगरले जनाएको छ । असन्तुष्ट स्थानीयसँग छलफल जारी रहेकाले फोहोर लामेआहाल पुग्न अझै केही दिन लाग्ने महानगरको भनाइ छ । ‘फोहोर लामेआहाल पुर्याउन हामी प्रक्रियामै छौं, समन्वय गरिराखेका छौं, टुंगिएको छैन,’ बरालले भनिन् ।
६ महिनाका लागि अस्थायी रुपमा फोहोर फाल्ने, फोहोर बिसर्जन गरिसकेपछि माटोले पुर्नेलगायत सहमति भए पनि लागू नभएको भन्दै स्थानीयले बुधबारबाट फोहोर फाल्न रोक लगाएका छन् ।
पोखरा महानगरले पोखरा महानगरपालिका वडा नम्बर ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । पोखरा महानगर सरसफाइ शाखाका अनुसार महानगरले दैनिक दुई सय टन फोहोर व्यवस्थापन गर्दै आएको थियो ।
महानगरले यसअघि पोखरा–१४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिना अघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।
ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।