लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

धरानका मेयर हर्कको प्रतिप्रश्न– चर्च भत्का कि भत्का भन्छन्, मैले कसरी भत्काउन मिल्छ? (भिडिओ)

राजनीतिक परिदृश्यमा कतै नदेखिने अपत्यारिलो कायाका हर्क साम्पाङले काकाकुल धरानको मुद्दालाई मुख्य नारा बनाई मत माग्दै हिँड्दा सायद कसैले सोचेको थिएन– उनलाई ‘मेयरसाब’ भन्दै कयौँचोटि अभिवादन गर्ने दिन पनि आउनेछ।

सबैलाई चकित पार्नेगरी धरानको मेयर पदमा आसीन हुन पुगेका हर्कले अनौठो छवि निर्माण गरेका छन्। उनी आफूले गर्छु भनेको काममा मरिहत्ते गरेर लागिपर्छन्। श्रम संस्कृतिको नाममा उनले ल्याएको वृक्षरोपण कार्यक्रम र धरानमा पानी ल्याउन गरेको उनको अथक प्रयत्नले त्यसको पुष्टि पनि गर्छ। हर्क भ्रष्टाचार गर्दैनन् भन्ने कुरा उनले विरोधीलाई पनि स्वीकार्न बाध्य पारेका छन्।

जे जसरी हुन्छ, विश्वभर छरिएका नेपालीलाई धरानबाट ध्यान हटाउन नदिन सामाजिक सञ्जालमार्फत हरसम्भव प्रयत्न गरिरहेका हुन्छन्, हर्क साम्पाङ। यो उनी स्वीकार्छन् पनि। श्रमपार्कमा भेटिएका उनी भन्छन्, ‘आज नेपालमा कसैको चर्चा छ त त्यो हर्क साम्पाङको छ। चाहे गाली गरेर होस्, चाहे समर्थन गरेर होस्।’

हर्कले कतिखेर के उट्पट्याङ गर्छन्, प्रक्षेपण गर्न सकिँदैन। यो ‘हर्कको बेपर्वाह शैली’ को ताजा दृष्टान्त उनले निकै प्रचार गरेको भदौ १५ मा गर्ने भनिएको ‘भ्रष्टाचार विरोधी र्‍याली’ स्थगनलाई लिन सकिन्छ।

धरानमा धार्मिक र जातीय दंगा निम्तिने वातावरण निर्माण हुनुमा मेयर हर्कले मुद्दाको संवेदनशीलतालाई बुझेर त्यसको समुचित व्यवस्थापन र मध्यस्थता गर्न नसक्नु पनि एक कारण हो भन्दै विरोध भइरहेको सन्दर्भमा मैले उनलाई भेटेर सुरुमै यसबारे प्रश्न सोधेको थिएँ। यसलाई उनले आफूलाई असफल गराउन रचिएको षड्यन्त्रको रुपमा प्रस्तुत गर्न खोज्दा रहेछन्।

उनी आफ्नै बेपर्वाह शैलीमा उत्तर दिन्छन्, ‘मैले गोरु काटेर खा भनेको हुँ र? यो हेर्ने काम मेरो होइन, प्रहरी प्रशासनको हो।’

मन्दिरको अगाडि चर्च बनाएको प्रसंगमा पनि उनको त्यस्तै जवाफ थियो– ‘मलाई चर्च भत्का भन्छन्। के म न्यायाधीश हुँ र? यो काम न्यायालयको हो, मेरो होइन।’

सामाजिक सञ्जालमा मेयर हर्क इसाई भएकोले उनले क्रिस्चियनहरुलाई काखी च्यापेको भन्दै विरोध भइरहेकोबारे मेरो प्रश्नमा उल्टै उनले अनेक प्रतिप्रश्न गरे। उनले आफूमाथि लागेको इसाई मिसनरीको आरोपबाट यसरी कुरा सुरु गरे :

मलाई उनीहरू (मेरा विरोधी) ले नै क्रिस्चियन बनाइदिए। पास्टर बनाइदिए। त्यति मात्र नभएर क्रुसमा पनि टाँगिदिए। यो कुरा त स्वघोषणा गर्ने कुरा हो। यदि म इसाई भइदिएकोभए मलाई म इसाई हुँ भन्न के को डर हुन्थ्यो? पिण्डेश्वर मन्दिरमा छिरेर मैले जल चढाएको हैन? त्यसको कुरा नगर्नु? यो ट्याङ्कीहरुको शिलान्यासमा बाहुनले मलाई मन्त्रोच्चारण गर्न लगाएको होइन? त्यसको कुरा नगर्नु? म गुम्बामा गएर लामाज्यूहरुको प्रवचन सुनिरहेको हुन्छु। त्यसको कुरा नगर्नु?

इसाई र हिन्दू कसले जितायो भन्ने थाहा हुँदैन। क–कसले भोट दियो, गोप्य मतदान हो। कति पार्टीकै मान्छेले दिए होलान्, कति हिन्दूले दिए होलान्, कति किरातीले दिए होलान्, कति इसाईले दिए होलान्।

उनीहरू मलाई त्यो चर्च भत्का कि भत्का भन्छन्। म अगाडि गएर चर्च भत्काइदिहाल्नुपर्ने रे। भत्काउने नभत्काउने त न्यायालयले निर्णय गर्छ होला नि! न्यायालयले पनि हेर्छ होला राज्यको शासकीय स्वरुप। धर्मसापेक्ष भनेको छ कि धर्मनिरपेक्ष भनेको छ, त्यो पनि हेर्छ होला। धार्मिक स्वतन्त्रता छ कि छैन भनेर हेर्छ होला। यो न्यायालयले निरुपण गर्ने विषय हो। के न्यायाधीश पनि म हो? न्यायालयले गरोस् भनेको खालि मतिर नै फर्काइदिन्छन्। अस्ति अदालत जानुपर्ने होइन? एउटा सार्वजनिक पद धारण गरेको मान्छेले कसैलाई काखा कसैलाई पाखा च्याप्न मिल्छ? उनीहरूको कुरा नसुनेपछि म इसाई भएँ भनि प्रचार गरिँदैछ।

यी सम्पूर्ण कुराहलाई मैले साझा रुपमा हेरिरहेको छु। म मुन्धुमी हुँ। मेरो पुर्खाले जे गरेको छ, त्यो कुरा मान्ने प्रकृतिपूजक हुँ म। यी बिरुवाहरुसँग मेरो अत्यन्त लगाव हुनाको कारण के हो त? यहाँ म किन आइराख्नुपर्ने? नआउँदा पनि हुन्थ्यो होला त। म प्रकृतिलाई पूजा गर्ने मान्छे, प्रकृतिलाई सम्भार गर्ने मान्छे हुँ। त्यस्ता मान्छेलाई उनीहरू के के भन्छन् भन्छन्। यो किन भयो भन्दा उनीहरू मसँग डराएका छन्। यहाँका दलहरु डराएका छन्।

डराउनुपर्ने कारण छ। सबैलाई श्रम गरौँ भन्छु म। फलफूलको बिरुवाहरु रोपिदिएको छु। फलेपछि पैसा तिर्न पर्दैन टिपेर खाने हो। बाटोभरि खुर्सानी रोपिदिएको छु। पाखाभरि फूल रोपिदिएको छु। भाइटीका मनाउन भारतदेखि करौडौंको फूल ल्याएर मनाउने हामी। हाम्रो भित्तापाखामा रोप्दा हुन्छ भन्ने सन्देश दिन मैले २० लाख त सयपत्री फूल मात्रै रोपिराखेको छु। श्रमदानबाटै मैले धरानलाई १५–२० करोडको सम्पत्ति जोडिसकेँ।

 

दलहरुले ३५ वर्षदेखि जोखना हेर्दै चामल सिध्याए। मैले ९८ दिनमा (खानेपानी) ल्याइदिएँ। एक करोड बिरुवा रोप्दैछु। गतसाल ६ लाख रोप्यौँ। चानचुने कुरा हो यो? यो ठाउँमा दुर्व्यसनीहरु सुई हान्दै बस्थे। यहाँ आउन डर लाग्थ्यो। यस्तो ठाउँलाई मैले श्रम संस्कृति पार्क बनाइदिएँ।

धरानलाई म उद्योगसँग जोड्दैछु। उद्योगहरु खोल्दैछु। वातावरण जोगाउनेदेखि लिएर विकासका कुरा गरिरहेको छु। थुप्रा बाटाघाटा बनाएका छौँ। भवनहरु बनेका छन्। तर मैले जे गर्न खोज्यो, त्यसैमा मुद्दा लगाइदिन्छन्।

मैले सबैभन्दा ठूलो काम श्रम संस्कृतिको विकास गरेँ। धरानका मात्र नभएर देशभरिबाट हजारौँहजारको संख्यामा मान्छेहरु धरान ओइरिए। त्यो देखिसकेपछि उनीहरूलाई के भयो भने कथं आउँदो चुनावभन्दा अगाडि यो मान्छेले पार्टी खोल्यो भने त खत्तम हुन्छ। उनीहरू लगलग कामिसके। देख्नुभएन देशभरिका मान्छे जम्मा भएर हर्के मुर्दावाद भन्दै नारा लगाउन थाले। सदभावना र्‍याली भनेर आए। सदभावना र्‍यालीको नारा चाहिँ हर्क साम्पाङ मुर्दावाद रे। कति रमाइलो! म त सानो पदधारण गरेर बसेको मान्छे, भनेपछि मेरो उचाइ कहाँ पुगेको रहेछ भन्ने कुरा मैले बुझ्न पाएँ।

मैले भनिसकेँ, म तीन चुलाको आदर्श, सत्य, न्याय र समानता जप्ने मान्छे हुँ। मैले तीन चुलामा यही तीन मन्त्र देख्छु, सत्य, न्याय र समानता। यही तीन कुरामा अडिएको छ मेरो तीन चुला। यो संस्कृतिले मलाई सिकाएको छ, मैले अरुलाई पनि मान्छेजस्तै सम्मान गर्नुपर्दछ। एउटाको मात्र संस्कृति, अर्काेको संस्कृति होइन? एउटाको मात्र पहिचान अर्काेको चाहिँ पहिचान होइन? एउटाको मात्र धर्म, अर्काेको धर्म होइन?

मैले सत्य, न्याय र समानता नछाड्दासम्म मलाई जेजस्तो डरधम्की देखाउनोस्, त्यसले मलाई छुँदै छुँदैन। सत्य बोल्न छाड्दिनँ। सत्यको पक्षमा हिँड्न छाड्दिनँ। न्यायको कुरा गरिनै रहन्छु। समानताको पक्षमा लडिरहन्छु। हिजो एक्लै लडेर मेयर पदमा आएको मान्छे हुँ। मेरो पछाडि कतिजना हिँडे भन्ने कुरा मैले कहिल्यै गनिनँ। गन्दिनँ पनि। म आफैँ काफी छु। तपाईं कत्रो घरमा बस्नुभएको भन्ने कुराले फरक पार्दैन। तपाईं पनि मान्छे, म पनि मान्छे। मैले संसारलाई हेर्ने दृष्टिकोण यही हो।

यस्तो साझा बुझाइ भएको मान्छेलाई खुइल्याउन खोजिँदैछ तर उनीहरुलाई हम्मेहम्मे परिरहेको छ। जति नै गरोस्, संसारैभरिको मान्छेले हर्क साम्पाङ मुर्दावाद भनेर भनोस्, तर म डगमगाउने छुइनँ। जबसम्म तीन चुला मेरो मनमा रहिरहन्छ, मलाई हुनेवाला केही छैन। यो कुरा पहराको शिलामा लेखिराख्दा पनि हुन्छ।

दोषजति हर्कमाथि?
मैले गोरु काटेर खाऊ भनेको होइन। साथीहरुले काटेर खाए। त्यसमा मेरो भन्नु के छ र? त्यो विषयमा सम्बन्धित निकायले बोलोस् भन्छु। यो त मलाई मुछ्ने काम मात्र हो। यहाँ डेङ्गुको कुरा आयो। रोचक के भयो भने हर्क साम्पाङले कोकाहाबाट पानी ल्याएर खुवायो, अनि डेंगु लाग्यो भनियो। हावामा दुनियाँ टेस्ट पनि गरिहिँडे। त्यसले पनि छोएन।

भरे त डेंगु विराटनगरमा पनि लाग्न थाल्यो। इटहरीमा पनि लाग्न थाल्यो। दार्जिलिङ, सिक्किमतिर पनि लाग्न थाल्यो। त्यतापनि मैले कोकाहाको पानी खुवाएको हो त?

आज ताप्लेजुङमा पहिरो जान्छ, हर्क साम्पाङलाई दोष दिइन्छ। उनीहरूलाई थाहा छैन तर मेरो उचाइ उनीहरूले नै बढाइदिइरहेका छन्। आज नेपालमा कसैको चर्चा छ त त्यो हर्क साम्पाङको छ। चाहे गाली गरेर होस्, चाहे समर्थन गरेर होस्। चर्चा त मेरै चुलिएको छ। कसले गोरु खायो, कसले कुखुरा खायो, किन धेरै खायो भन्नेजस्ता कुरा जोडेर ममाथि प्रहार गरिँदैछ।

म आउनुअगाडि धरानको छवि अर्कै थियो। म आइसकेपछि यसको छवि बदलिएको हो। दुनियाँले चिनेका हुन्। त्यसो भन्दा घमण्डी, अभिमानी भन्छन्। अभिमानी होइन म स्वाभिमानी हुँ। घमण्डी होइन, आत्मविश्वासले भरिएको मान्छे हुँ म। अहिले आएर जसले यो पाखाबारीमा काम गर्छ, त्यो मान्छेलाई दुनियाँभरको मुद्दा लगाएर फसाउने खेल खेलिँदैछ।

तर त्यसले मलाई केही फरक पार्दैन। म ठूलो, गोलो र चिप्लो मान्छे हुँ। गुच्चा जस्तो तर पहाड जत्रो ठूलोे। लेउजस्तो चिप्लो। मेरो खुट्टा समाउन खोज्छ, खुट्टा छैन। आकार सानो हैन। न ठेल्दा जान्छ, न पक्रने ठाउँ छ, न लडाउन सकिन्छ। त्यसैले मलाई नछुनु, नचलाउनु भनेको हुँ।


प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप