लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चलचित्र विकास बोर्ड खुलेपछि नेपाली सिनेमा ओरालो लाग्यो : नीर शाह

काठमाडौं- नीर शाह नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध व्यक्तित्व हुन्। उनले दर्जनौं चलचित्रहरूमा अभिनय गरे। इतिहास र आख्यानमाथि ‘वसन्ती’, ‘सेतो बाघ’ र ‘वासुदेव’जस्ता मौलिक फिल्म निर्देशन गरेका उनी गीतकार पनि हुन्। शाहले ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास’ सेसनमा सिनेमा क्षेत्रमा आएको परिवर्तन र आफ्नो भोगाइबारे दिएको अभिव्यक्तिको सम्पादित अंश:

एकजना ठूल्ठूला गाला भएका प्रोड्युसर थिए। म गीत लेख्थें, शम्भुजित संगीत गर्नुहुन्थ्यो। हामी शभ्भुजितकहाँ थियौँ। ती प्रोड्युसर पनि आउनुहुन्थ्यो। हामी एउटा चकटीमा बस्थ्यौँ। उहाँ ४ वटा चकटी हालेर बस्नुहुन्थ्यो। म शम्भुजितलाई भन्थें-‌ हेर्नुस् जित बाबु। अहिले यी प्रोड्युसरको गाला हप्प परेको छ। सिनेमा सकिने बेलासम्म जोडिएर आउँछ।

उहाँको सिनेमामा मैले पनि काम गरेँ। उहाँले पैसा दिनुभएको थिएन। डबिङ सकिएपछि दिन्छु भन्नुभयो। डबिङको बेलासम्म आइपुग्दा मलाई उहाँको वाचा पूरा हुन्छ जस्तो लागेन। ‘तपाईंले पेमेन्ट नगरी डबिङ गर्दिनँ,’ मैले भनेँ। उहाँले डबिङभन्दा अगाडि एउटा खाम ल्याएर देखाउनुभयो। खाम सेतो थियो। त्यसपछि मैले डबिङ गरेँ।

डबिङ सकेर बाहिर आएपछि टेबलको खाम खोलेँ। खाममा एउटा पर्चा रहेछ। पर्चामा लेखिएको रहेछ, ‘ सरी दाइ, आज मिलाउन सकिनँ।’

त्यसपछि उहाँ कता हराउनुभयो।निकै समय भेट भएन। शम्भुजितको पनि पारिश्रमिक लिन बाँकी रहेछ। एकदिन हामी दुवै उहाँलाई खोज्दैखोज्दै गयौँ। उहाँसँग भेट भयो। गाला वारपार हुने स्थितिमा पुगिसकेको रहेछ। देख्नेबित्तिकै उहाँले भन्नुभयो, ‘दाइ तातो भात खान पाए हुन्थ्यो। २ हजार दिनुहोस् न।’

‘के हो भाइ। हामी त हाम्रो पारिश्रमिक लिन आएको,’ मैले भनेँ। शम्भुजितले ‘दाइ भात खान दिऊँ’ भन्नभयो। मसँग ५ सय थियो, शम्भुजितसँग ३ सय। जम्मा ८ सय उहाँलाई भात खान दिएर हामी फर्कियौँ। त्यसपछि आजसम्म उहाँको अनुहार देख्न पाइएको छैन। यस्ता घटनाहरू दोहोरिरहन्छन्।

उहाँले के गर्नुभयो भने फिल्ममा २ रुपैयाँ दिनुपर्ने मान्छेलाई ८ रुपैयाँ दिनुभयो। २ रुपैयाँ दिनुपर्ने मान्छेलाई चाहिँ त्यति पनि दिनुभएन। तपाईंहरू सुन्नुहुन्छ नि- फलानोलाई यति पैसा दिइयो भनेर। त्यस्तै फलानोलाई उहाँले अनावश्यक रुपमा पोस्नुभयो। तर एउटा प्राविधिकको श्रमचाहिँ सोस्नुभयो। यस्ता निर्माता यो देशमा बिलाएर जाउन्, मेरो हार्दिक प्रार्थना छ।

अब नेपालको राष्ट्रिय चलचित्रमा हिजो र आजको फरकको विषयमा कुरा गरौँ। पहिलाका चलचित्रकर्मीहरूले हाम्रो कथामा सिनेमा बनाउन सकिन्न भन्ने मान्यता राख्थे। सिनेमा बनाउने कथा हाम्रा वरिपरी छैनन् भन्ने मान्यता राख्थे। यदि कसैले आफ्नो कथामा सिनेमा बनाउने प्रयत्न गर्यो भने उसले सिनेमा बनाएको हैन भन्थे।

अहिले अभूतपूर्व परिवर्तन भएको छ। अहिलेको पिढीले हाम्रो सिनेमा हाम्रै कथामा बनाउन सक्छौँ भन्ने मान्यतामाथि दृढ विश्वास राख्नुभयो। सिनेमा त सिधै मन र मस्तिष्कसँग जोडिएको छ। नेपाली फिल्ममेकरको माइन्डसेटमा जुन अभूतपूर्व परिवर्तन देखिएको छ, त्यही नै हिजो र आजको सिनेमामा देखिएको परिवर्तन हो। मैले धेरै संघर्षपश्चात् वसन्ती, सेतो बाघ, वासुदेवजस्ता सिनेमा बनाएँ।

सिनेमा बनाउँदा अनावश्यक कुरामा दबाब झेल्नुपर्यो।

रियालिजमको कुरा गर्दा दर्शकले सिनेमाको कथामा घटेको घटना आफ्नै जीवनमा घटेको होस् भन्ने चाहले हेर्छन्। उनीहरू त्यो सिनेमाको पात्रमा घुस्ने प्रयत्न गर्छन्। यहीँ आएर रियालिजमले ठूलो अर्थ राखेको हो। जति जति मानवीय संवेदनशीलतासँग नजिक हुन खोज्यो, त्यसका लागि बढी मानव हुनपर्यो। बढी मानव हुन बढी प्राकृतिक हुनुपर्यो। जति धेरै प्राकृतिक र मानव हुन सक्यो त्यसले टोटालिटीमा ह्युमन इमोसनलाई बढी सशक्त रुपमा प्रिजेन्ट गर्छ।

रियालिस्टिक फिल्मलाई कुनै देशमा छिट्टै रुचाए होला कुनै देशमा ढिलो। तर ढिलोचाँडो रुचाउने कुरा त्यही हो। अन्तत्वगोत्वा सिनेमेकर्सहरूले सिनेमालाई सकेसम्म नजिक राखेर देखाउने प्रयत्न गर्नेछन्। त्यो भोलिको सिनेमा हो।

अनरियालिस्टिक अप्रोच विस्तारै हराउँदै जान्छन्। कृतिमता विस्तारै हराउनु भनेको रियालिजमले बढी प्रभाव पार्दै जानु हो।

रियालिजमलाई नै आधार बनाएर प्रिजेन्ट गर्दा के कस्ता पीडा भोग्नुपर्छ निर्माताले भन्ने कुराको जानकार म पनि हुँ। मैले त्यसो गर्न पनि खोजें नगर्न पनि खोजें। त्यसो गर्दा पनि नगर्दा जस्तो हुन सकेन। त्यसो नगर्दा पनि गर्दा जस्तो हुन सकेन।

दर्शकको मनोविज्ञानलाई हेर्दा मेकरले कहाँ गएर बुझ्नुपर्छ भने ‘सिनेमा इज अ आर्ट विथ हाइयस्ट एमाउन्ट अफ अमर्सियल पोटेन्सियालिटी’ हो। आर्ट विथ हाइयस्ट एमाउन्ट अफ कमर्सियल पोटेन्सियालिटी भएका कारण नै यो विशाल उद्योगका रुपमा स्थापित हुन सकेको हो। शिवले तान्डव नाचेको कालदेखि अहिलेसम्मको कालमा आइपुग्दा कलाले विविध रुप ग्रहण गरेको छ। यसले अभिव्यक्तिको माध्यमलाई सुधार गरिरहेको छ। यो आर्टसँग कोही पनि छुट्टिन सक्दैन।

सिनेमा कस्तो हुनुपर्छ भनेर अलमलिनु पर्दैन। तर राज्य पक्षको कुरा गर्दा चाहिँ चिमोटिरहन्छ। निश्चित रुपले राज्यले चलचित्र उद्योगलाई सघाउँथ्यो।*विसं २०४२देखि ०५८सम्म राज्यले नेपाली चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो। मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो।

प्रसिद्ध निर्देशक तुलसी घिमिरेको फिल्म ‘लाहुरे’ भृकुटीमण्डपको हाइभिजन हलमा चलेको थियो। यसको प्रदर्शन व्यवस्थापन नेपाल टेलिभजनले गरेको थियो। त्यतिबेला म नेपाल टेलिभिजनसँग जोडिएको थिएँ। त्यो सिनेमाले नेपाल राष्ट्र बैंकबाट ३३ लाख रकम मनोरन्जनवापत् पाएको थियो।

हलमा सिनेमा देखाएवापत् पाउने पैसा छुट्टै थियो। २ वर्षमा एउटा फिल्म बन्ने कालखण्डबाट १ वर्षमा ७० वटा फिल्म बन्न सक्ने स्थितिमा पुगेको त्यसकै कारण हो। ७० प्रतिशत हिन्दी फिल्मले ओगटेको नेपाली फिल्मबजार २० प्रतिशतमा पुग्नु र नेपाली फिल्मको सेयर ८० प्रतिशतमा उक्लनुको मूल कारण पनि एउटै हो।

त्यसलाई बन्द गर्न चलचित्रकर्मी साथीहरूले ०५८ सालमा एउटा सम्झौता गर्नुभयो। राज्यकोषबाट पाउने सबै इन्सेन्टिभलाई बन्द गराउन लगाएर चलचित्र विकास बोर्डको माग गर्नुभयो।

विकास बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो। विकास बोर्ड स्थापना भएदेखि नेपाली फिल्मको ओरालो यात्रा पनि सुरु भयो।

अहिले हिन्दी फिल्म हलमा देखाएर जति पैसा कलेक्सन हुन्छ, त्यसबाट पाएको रकमबाट विकास बोर्डका कर्मचारीले तलब पाउँछन्। अध्यक्षले पाउने ६२ हजार ३ सय ‍८८ रुपैयाँ हिन्दी सिनेमा देखाएवापत् प्राप्त गरेको रकम हो। अब यो भन्दा धेरै के भनौं?

यसलाई हाम्रा चलचित्रकर्मी साथीहरूले नै बिगार्नुभएको हो। पुन: यसलाई स्थापना गर्ने हो भने नेपाली सिनेमा लयमा फर्कन्छ। अन्यथा नेपाली सिनेमा प्रोड्युस गर्ने कुनै न कुनै स्थान त हुन्छ।

तर स्थान नेपालचाहिँ हुँदैन।


प्रकाशित : २०८० भाद्र १६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप