लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आमनेसामनेका २ टावर : सरकारी अलपत्र, निजीको ‘मालामाल’ कमाइ !

माथिको तस्बिरमा बायाँपट्टि देखिएको दृश्यमा काठमाडौँको सुन्धारामा निर्माणाधीन धरहराको अगाडि उभिएर सेल्फी खिच्दै गरेका काठमाडौँको जोरपाटी बस्ने एकबहादुर श्रेष्ठ हुन् । उनलाई धरहरा चढ्न मन छ, तर धरहरालाई हेरेर अनि यसरी सेल्फी खिचेरै चित्त बुझाउनुपरेको छ ।

धरहरा चढ्न नपाए पनि सम्झनास्वरूप सेल्फी खिचेको श्रेष्ठ बताउँछन् । ‘खै यसमा चढ्न त कहिले पाइने हो थाहा छैन,’ श्रेष्ठले विकास टाइम्ससँग भने, ‘यो सम्झना स्वरूप खिचेको हो ।’

 

श्रेष्ठ मात्र होइन, उनीजस्तै धेरैले धरहरालाई हेरेर मात्र चित्त बुझाउनुपरेको छ । विभिन्न कामले वा घुम्न सुन्धारा आसपास आइपुग्ने सबैले टलक्क टल्किएको धरहरा बाहिरबाट हेर्ने र सेल्फी खिचेर चित्त बुझाउनुपरेको छ ।

सोही फोटोमा दायाँपट्टि देखिएको टावर भने धरहराबाट करिब १ किलोमिटर (मोटरबाटो) दुरीमा रहेको वन्डर्स नेपालले निर्माण गरेको स्काई वाक टावर हो । धरहराभन्दा १ वर्षपछि निर्माण सुरु भएको यो टावर पूर्ण रूपमा बनेर अहिले दैनिक ४ लाख रुपैयाँ हाराहारी आम्दानी गरिरहेको छ । यी २ तस्बिरबाट पनि के प्रष्ट हुन्छ भने सरकारी काममा कति ढिलासुस्ती हुन्छ भनेर । कतै यो ढिलासुस्ती राज्यकोषलाई टाट पल्टाएर निजी क्षेत्र पोस्ने नेतृत्वको दूषित मनसाय त होइन ? शंका गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् ।

०००

२०७२ सालको भूकम्पले पुरानो धरहरा ढलेपछि २०७५ सालमा ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का लागेर नयाँ धरहरा बनाउन थालिएको हो । तर, ५ वर्ष बितिसक्दा पनि सर्वसाधारणले चढ्न पाउने गरी बनिसकेको छैन ।

निजी क्षेत्रले धरहराभन्दा पछि बनाउन थालेका धरहरा जत्तिकै अग्ला र सुविधा सम्पन्न ‘टावर’हरू भने निर्माण सकिएर सञ्चालन भई आम्दानी नै गर्न थालिसकेका छन् । तर धरहरा कहिले बनिसक्छ भन्ने अझै टुंगो छैन ।

२०७६ मंसिर २२ गते शिलान्यास गरी निजी लगानीमा बनाउन थालिएको कमलादीस्थित २३ तले स्काई वाक टावर निर्माण सम्पन्न भएर सञ्चालनमै आइसकेको छ । यसले अहिले दैनिक कम्तीमा ४ लाख रुपैयाँ कमाइरहेको छ । त्यो पनि टावरको टपमा रहेको सिसामा हिँड्न आउनेसँग उठाएको शुल्क मात्रै । त्यहाँ सञ्चालित रेस्टुरेन्ट र अन्य व्यवसायको त हिसाब नै छैन ।

अर्थात् धरहरा बनाउन थालेको १ वर्षपछि बनाउन सुरु गरी निर्माण सम्पन्न भएको स्काई वाक टावरको लागत जम्मा २ अर्बभन्दा कम हो । वन्डर्स नेपालले सञ्चालन गरेको टावरमा गएर अवलोकन गरेको प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिने गरिएको छ । त्यो पनि ३५ मिनेटभन्दा बढी बसेर अवलोकन गर्न पाइँदैन ।

टावरका कर्मचारी सुदीप रोक्काका अनुसार दैनिक सरदर ४०० जना टावरमा चढेर काठमाडौँको दृश्य अवलोकनसँगै पारदर्शी सिसामा हिँड्ने अनुभव गर्न आउँछन् । ‘अझ शनिबार र सार्वजनिक बिदाका दिन त ५०० जनाभन्दा बढी व्यक्तिहरू आउनुहुन्छ,’ रोक्काले भने, ‘नर्मल समयमा अलि कम पनि आउने गर्नुभएको छ ।’

सरदरमा दैनिक ४०० जनाकै दरले हिसाब गर्ने हो भने पनि टावरमा चढ्नेले तिरेको शुल्कमात्रै दिनको ४ लाख रुपैयाँ हुन आउँछ । त्यो हिसाबले १ महिनामा यस कम्पनीले १ करोड २० लाख रुपैयाँ त टावरमा चढ्ने मान्छेबाट मात्र संकलन गरिरहेको छ ।

तर, सो टावरभन्दा १ वर्षअघि नै निर्माण थालिएको धरहरा भने ‘आकाशको फल, आँखा तरी मर’ कै अवस्थामा छ ।

धरहराको काम सकिन अझै १० महिना

धरहराको सुरु ठेक्का सम्झौताअनुसार २०७७ असोज १४ गते सम्पूर्ण काम पूर्ण हुनुपर्ने हो । तर, त्यसयता पनि ५ पटक म्याद थप भइसकेको छ । तर, अझै पूर्ण रूपमा निर्माण सकिएको छैन । धरहरा पूर्ण रूपमा बनिसक्न अझै कम्तीमा १० महिना लाग्ने धरहरा निमार्णको ठेक्का पाएको कम्पनी जिआइइटिसी–रमण जेभीका प्रोजेक्ट म्यानेजर रमेश पौडेल बताउँछन् । ठेक्काको अन्तिम म्याद आगामी साउन मसान्तसम्म छ । तर, साउन २५ गतेसम्ममा ९२ प्रतिशत भौतिक काम सकिने म्यानेजर पौडेल बताउँछन् ।

‘९ महिना म्याद थप हुने प्रक्रियामा छ,’ पौडेलले विकास टाइम्ससँग भने, ‘टावरमा यात्रुचाहिँ अहिले पनि चढ्न मिल्ने अवस्था छ । तर, पूरा निर्माण नसकी टावर मात्रै खोल्नु खतराजनक हुन्छ ।’

पुरानो धरहराको मर्मत, सुन्धारालाई पुरानै अवस्थामा फर्काउने र पानीको बहावलाई प्राकृतिक रूपमा बगाउने काम सम्पन्न गर्नेसमेत गरेर अझै १० महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

‘त्यो निर्माण गर्नको लागि हामीलाई निर्माणको अनुमति आइसकेको छैन,’ म्यानेजर पौडेलले भने, ‘आजसम्म ८८ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । आर्थिक प्रगति अहिलेसम्म ८२ प्रतिशत छ ।’ पुरानो धरहराको मर्मत र सुरक्षा, सुन्धाराको काम बाँकी रहेको र त्यसका लागि सहमति नआएका कारण सकिन समय लाग्ने उनको भनाइ छ ।

‘निर्माण नै नभई उद्घाटन गर्ने कारबाहीको भागीदार हो’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते नै सम्पूर्ण निर्माण नै सम्पन्न भएजस्तै गरेर धूमधामका साथ धरहराको उद्घाटन गरेका थिए । उद्घाटन गरेको अढाई वर्ष पुग्दा पनि सर्वसाधारण भने धरहरा चढेर काठमाडौँ नियाल्न पाएका छैनन् ।

 

ओलीलाई धरहरामा आफ्नो नाम लेखाउने यति मोह थियो कि धरहराको ४२ प्रतिशत मात्र काम पूरा हुँदा उद्घाटन गरेका थिए । निर्माण सम्पन्न नभई उद्घाटन गर्ने ओलीलाई कारबाही गर्नुपर्ने पूर्वधार विज्ञ राजेन्द्र अधिकारी बताउँछन् । सम्पन्न नभई आयोजनाको उद्घाटन गरेर ओलीले ‘प्रचार मोह’ देखाएको अधिकारी बताउँछन् ।

‘सम्पन्न नभएको आयोजना हो भने उद्घाटन किन गरेको ? सरकारी मान्छेले उद्घाटन गरेको हो भने त्यो मान्छेलाई समेत कारबाही गर्नुपर्‍यो,’ अधिकारीले विकास टाइम्ससँग भने, ‘सरकारी संरचनाबाट आम्दानी गुम्यो । त्यो भनेको सरकारी राजस्व हिनामिना गरेसरह हो ।’

ओलीले धरहरा उद्घाटन गर्नु राजनीतिक स्टन्ट मात्र भएको पूर्व–पूर्वाधार सचिव शरद्चन्द्र पौडेल टिप्पणी गर्छन् । ‘त्यो उद्घाटन गरेर राजनीतिक रूपमा के–के न गरेँ भनेर देखाउन खोजेको होला,’ पौडेलले भने, ‘प्राविधिकले यो काम सकियो भनेर सिफारिस नगरीकन कसैले उद्घाटन गर्छ भने त्यो हावादारी कुरा हो । त्यसले कुनै अर्थ राख्दैन ।’

 

प्राविधिकले सकियो नभनी उद्घाटन गर्नेको कुनै औषधि नभएको पौडेल बताउँछन् । ‘कसैले उद्घाटन गर्‍यो भनेर त्यो काम सकिने पनि होइन,’ पौडेलले भने, ‘निर्माण कम्पनीले पैसा पूरै पाउने पनि होइन ।’

किन समयमा बनेन धरहरा ?

आजभन्दा ३ वर्षअघि नै पूरा हुनुपर्ने धरहरा ढिलो निर्माण हुनुमा सरकारको कमजोरी भएको पूर्वाधार विज्ञ अधिकारी बताउँछन् । ‘कन्ट्र्याक्टरलाई काम गर्ने वातावरण र सुविधा दिने हो,’ अधिकारीले भने, ‘यदि ठेकेदारले समयमा काम गर्न सकेन भने त्यो ठेक्का तोडेर नयाँ तरिकाले नयाँ काम गराउँदा लाग्ने खर्च सरकारले निर्माण व्यावसायीबाट असुल गर्न सक्छ ।’

 

काम सुरु हुने र भुक्तानी गर्ने दुवै समय लामो प्रक्रिया पूरा गर्नुपर्ने पौडेलको भनाइ छ । ‘ठेक्का लगाउने प्रक्रियामा सामान्यतः थोरै बोलकबोल गर्नेलाई ठेक्का दिने प्रचलन छ,’ पूर्वसचिव पौडेलले भने, ‘त्यसले गर्दा जसले ठेक्का लिन्छ, त्यसलाई पनि त्यो क्वालिटीको काम गर्न सक्ने अवस्था हुँदैन ।’

सार्वजनिक ठेक्कापट्टामा डकुमेन्टेसन, कार्यान्यवनमा कमी कमजोरी, ठेकेदारलाई राजनीतिक संरक्षण र विधि प्रक्रियाका कारण काममा ढिलाइ हुने पौडेलको बुझाइ छ ।

बेलाबेला आयोजनाको डिजाइन परिवर्तन हुने, समयमा म्याद थप नहुने, समयमा डिसिजन नआउने, साइटमा काम गर्न निर्माण सामग्री र मजदुर उपलब्ध नहुनेलगायत विविध कारणले गर्दा आयोजना समयमा सम्पन्न हुन नसकेको प्रोजेक्ट म्यानेजर पौडेल बताउँछन् ।

‘म्याद थप्दा हामीलाई जति समय थप हुनुपर्ने हो, त्यति भएन,’ पौडेलले भने, ‘२ वर्षको म्याद माग्दा सम्बन्धित निकायले हामीलाई ६ महिना मात्र थप्ने गरेकाले त्यस्तो भएको हो ।’

सरकारीभन्दा निजी क्षेत्र अगाडि

निजी क्षेत्रले स्काई वाक टावर बनाउन थालेको २ वर्षभित्र सक्यो । तर, सरकारले बनाउन थालेको यतिका समयमा पनि धरहरा निर्माण सम्पन्न गर्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री ओलीकै योजनामा धरहरा बन्न थालेको १ वर्षपछि तत्कालीन ओली क्याबिनेटकै उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्काई वाक टावरको शिलान्यास गरेका थिए ।

राज्यको सम्पत्तिमाथि नेतृत्व संवेदनशील नभएकाले निजी क्षेत्रले टावर निर्माण गरिसक्दा पनि धरहरा नबनेको पूर्वधार विज्ञ अधिकारी बताउँछन् । ‘सरकारी संयन्त्र अलपत्र छ । आफूले बनाएको धरहरा अलपत्र हुँदा त्यही सरकारको उपप्रधानमन्त्रीले शिलान्यास गरेको टावरले कमाउन थालिसक्यो,’ अधिकारीले भने ।

हाम्रो सरकारको नेतृत्व गर्नेहरू राज्यलाई टाट पल्टाएर निजी क्षेत्र पोस्न त चाहँदैनन् भन्ने प्रश्न गर्ने ठाउँ काठमाडौँमा एकदम नजिक बनेका यिनै दुइटा टावरले नै दिएका छन् ।

 

यता, स्काई वाक टावरको संरचना र धरहराको संरचनाको तुलना गर्न नमिल्ने निर्माण कम्पनीका म्यानेजर पौडेल बताउँछन् । ‘त्यो एउटा फलामको स्ट्रक्चर हो । चाहने हो भने त्यस्तो संरचना ६ महिनामा खडा हुन्छ,’ पौडेलले भने, ‘धरहराले ४२ रोपनी जग्गा कभर गरेको छ । यसमा गार्डेनदेखि यावत् जिच छन् । त्यसमा कुनै तुलना नै हुँदैन ।’

सरकारी निकायले आफ्नो स्वविवेकमा काम गर्न नपाउने भएकाले पनि सरकारी काममा ढिलाइ हुने पूर्वसचिव पौडेल बताउँछन् । ‘विधायकले बनाएको ऐन, नियम, कार्यविधिलगायत प्रक्रिया हेरेर काम गर्नुपर्ने हुन्छ,’ पौडेलले भने, निजी क्षेत्रलाई त्यो केही गर्नुपर्दैन । उसलाई मन लाग्यो भने आफ्नो इच्छाअनुसार जुनसुकै बेला काम गर्न पाउँछ ।’

निजी क्षेत्रले कसलाई टेन्डर दियो, कति वटालाई ठेक्का दियो, कति पैसामा काम गरायो, त्यो कसैले नखोज्ने, तर सार्वजनिक निकायले गर्ने काममा सबैको सरोकार हुने भएकाले सबै काम पारदर्शी हुनुपर्ने पौडेलको भनाइ छ ।

यदि सरकारी क्षेत्र नियमभन्दा विपरीत गएमा अख्तियार, महालेखापरीक्षकको कार्यालयलगायत संयन्त्रले प्रश्न उठाउने, त्यस्तै परे कारबाहीको भागीदार हुनुपर्नेसम्म हुने पौडेलको भनाइ छ ।

कस्तो छ धरहरा ?

धरहरा टावर बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि २ तलाको भूमिगत संरचना बनिरहेको छ । जमिनमाथि भुइँतलासहित २३ तला गरी समग्रमा २५ तलाको बनेको छ ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुइटा लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । धरहरामा फलामको भर्‍याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तलाबाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२औँ तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ ।


प्रकाशित : २०८० आश्विन ५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप