लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

क्यान्सरका भुक्तभोगी स्वयंसेवी

क्यान्सरका भुक्तभोगी स्वयंसेवी हुन्, कर्ण शाक्य। जसले  चुरोटको हरेक खिल्लीमा अन्तःशुल्क  लगाउने  अवधारणा ल्याए। फलस्वरूप, क्यान्सर अस्पताल निर्माणमा सघाउ पुग्यो।

क्यान्सरका कारण छोरीले १९ वर्षमै ज्यान गुमाइन्। छोरीको शव बोक्नुको पीडाको घाउमा खाटा नबस्दै अर्को दुःखदायी क्षण आयो। पत्नीलाई क्यान्सर भएको पुष्टि भयो। पत्नीलाई पनि क्यान्सरले चुँडेपछि झन् शोकाकुल भए।  एक्लो महसुस गरे।

उनी हुन्, ८३ वर्षीय कर्ण शाक्य। १८ वर्षमा उनले पिता गुमाए।  उनको जीवनमा सन्  १९८७  एउटा अकल्पनीय  मोड आयो। केही महिनाको अन्तरालमा छोरी र  श्रीमतीको क्यान्सरबाट निधन भयो। ‘आफूले जन्माएकी कल्कलाउँदो उमेरकी छोरीका शव बोक्नुपर्छ भने त्योभन्दा अर्को पीडा हुन सक्दैन,’ छोरीलाई अल्पायुमै  गुमाउनुको पीडा पोख्छन्, उनी। ३७ वर्षअघि  नेपालमा क्यान्सरको भरपर्दो उपचार थिएन। उनले दुई वर्षसम्म उपचारका लागि विभिन्न मुलुक भौतारिरहें। यो विस्मृतिलाई  भनिरहन उनलाई अहिले पनि सकस हुन्छ।

त्यतिमात्र कहाँ हो र ? उनी स्वयंलाई प्रोस्टेट ग्रन्थीको पहिलो चरणको क्यान्सर पुष्टि भयो । त्यति हुँदा पनि उनले हरेश खाएनन्। प्रोस्टेट क्यान्सरविरुद्ध जुध्दै पनि १५-२० वर्ष बाँच्न सकिने रहेछ भन्दै आशावादी भए। अन्ततः अप्रेसन गरेपछि उनी तँग्रिए।

३७ वर्षअघि क्यान्सर शब्द सुन्दा नै धेरै डराउँथे। त्यसैले परिवारका सदस्यहरूलाई क्यान्सरले चुँडेको बारेमा गुपचुप राख्न अरूले सुझाएका थिए। जुन सुझावलाई उनले नकारात्मक सोचको उपज ठाने। ‘साथीभाइ र आफन्तले  नलेख्न सुझाएका थिए। तर, मलाई  आफ्नो कथाव्यथालाई जनसमक्ष राख्नैपर्छ जस्तो लाग्यो,’ शाक्य भन्छन्, ‘भुक्तभोगी स्वयंसेवीले भोलि कसले के भन्ला भनेर सोच्दै सोच्दैेन। त्यहीँ भएर त्यहीबेला नै सरकारी पत्रिका गोरखापत्र र द राइजिङ नेपालमा क्यान्सरको कथाव्यथा छपाएँ ।’ छोरीको फोक्सोको क्यान्सरबाट ज्यान गएको थियो। श्रीमतीलाई पाठेघरको मुखको क्यान्सर भयो। भारत, थाइल्यान्ड, सिंगापुर पुर्‍याए। तर, क्यान्सरले बियोग बनाएर छोड्यो।

शाक्यको मनमा बियोगको घाउ त थियो नै। त्यससँगसँगै जोश पनि थियो। केही गरुँ न भन्ने भावना गढेको थियो। उनले शोकलाई शक्तिमा रूपान्तरण गरे। पीडाले प्रेरणा दिएपछि क्यान्सरविरुद्ध जुध्ने प्रण गरे।  समाजसेवी बन्न  स्वयं कुनै पीडा भोगेकै हुनु पर्दैन। तर, क्यान्सरका सबालमा  उनी भुक्तभोगी स्वयंसेवी हुन्।

शाक्यले २०५३ सालमा अध्यक्षका रूपमा क्यान्सर नेपाल अर्बुद्ध रोग निवारण संस्थाको (नेपाल क्यान्सर रिलिफ सोसाइटी) नेतृत्व गरेका थिए।

एक पैसाबाट अस्पताल

एक पैसाले पनि कहीँ क्यान्सर अस्पताल बन्छ ? शाक्यले  यो प्रश्न धेरै झेले। यो एक पैसामा अस्पताल बनाउने सोच उनको मस्तिष्कमा  स्वतः फुरेको होइन। ‘आदिकवि भानुभक्त आचार्यलाई घाँसीले आँखा खोलिदिएका थिए। मलाई गाउँकी महिलाले बाटो देखाइदिइन्,’ शाक्यले सम्झिए ‘कास्कीको घान्द्रुकमा बसेर सुस्ताउँदै लालुपाते हेरिरहेको थिएँ।  डोको बोकेकी  एक  महिला मेरै छेउमा बसिन्। उनले लगालग चुरोट तानिन्।  प्वाक्क बोलें। कति चुरोट खाएको, बहिनी ? ’

चुरोट छोड्न गाह्रो भएको जवाफ फर्काइन्। उस्तै परे दिनकै दुई÷तीन बट्टा चुरोट खाने उनले सुनाइन्।  ती बहिनीको जवाफले उनको बुद्धिको बिर्को खुल्यो। क्यान्सर अस्पतालका लागि चुरोटमा एक पैसा अन्तःशुल्क उठाउने सोच फुर्‍यो। तुरुन्तै उनले अन्नपूर्ण बेस क्याम्प जाने पूर्वनिर्धारित योजना रद्द गरे। खुसी हुँदै झरे। जनकपुर पुगे। जनकपुर चुरोट कारखानाबाट तथ्यांक लिए। मुलुकभर दैनिक पाँच करोड चुरोट खिल्ली खपत भइरहेको जानकारी पाए।

‘प्रतिखिल्ली एक पैसा उठाउँदा पनि दैनिक पाँच लाख उठ्ने रै छ,’ उनले सुनाए,‘ यसले कसैलाई पनि बेफाइदा छैन। चुरोट खानेलाई मतलवै छैन। राज्यलाई पनि बोझै भएन। वर्षको त झन्डै १८-२० करोड पो उठ्ने रैछ।’ एक पैसा भन्या केही पनि होइन भन्ने निष्कर्षमा पुगेपछि उनले अभियानलाई अघि बढाए। ‘एक-दुई रुपैयाँ बाटोमा देख्यो भने पनि बच्चा वा भिखारीले समेत टिप्न छोडिसक्यो,’ शाक्य थप्छन्, ‘प्रतिखिल्ली एक पैसा अन्तःशुल्क उठाउँदा कसैलाई पनि अप्ठेरो हुँदैन। बरु, राम्रै हुन्छ भन्ने लाग्यो।’

त्यो बेला मुलुकमा दैनिक पाँच करोड खिल्ली चुरोट उत्पादन भइरहेको थियो। त्यसले नेपालीलाई क्यान्सर रोग निम्त्याइरहेको थियो। त्यसको उनले मेसो पाए। एक पैसाबाट क्यान्सर अस्पताल बनाउन सकिने लामो प्रस्तावना तयार पारे। जुन  ३२ पेजको बन्यो। उनले सांसदहरूका घरदैलोमा पुगे। कतिपय सांसदलाई  आफ्नो प्रस्तावना सुनाए। सांसदमा बोल्न आग्रह गरे।  कांग्रेसका नेता डा. शशांक कोइरालालाई कन्भिन्स गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष पुग्ने बाटो खुल्यो। ‘तपाईंलाई के भन्ने मन छ। पाँच मिनेटमा भनिहाल्नुस् । मलाई अर्को ठाउँमा जाने काम छ,’ प्रधानमन्त्री कोइराला हतारिँदै बोले।   सम्झिँदै शाक्यले भन्छन्, ‘हजुरको समय पाउँ। २० मिनेटको समय दिनु भए जुनसुकै बेला आउँछु, हजुर।’ शाक्यको कुरा सुनेर मुसुक्क हाँस्दै कोइरालाले  उनका कुरा सुने। हुन्छ जानुस् भनेर कोइरालाले आश्वासन दिए।

तर, शाक्य विश्वस्त थिएनन्। उनी अमेरिकामा ग्र्याजुएसन गरिरहेको छोरासँग  बोस्टनमा थिए। राति २ बजे उनको टेलिफोनको रिङ बज्यो। छोरीले  सुनाइन्, ‘ड्याडी तपाईंको सपना साकार भयो। बजेट भाषणमा चुरोटमा अन्तःशुल्क लाग्यो।’ उनले खुसी हुँदै फ्रिज खोले। स्याम्पेन घटघट पिए। ‘जीवनको परम सुखमध्येको क्षण थियो त्यो,’ उनले सम्झिए, ‘सिमलको भुवाझैं माथिमाथि उडेको जस्तो अनुभूति भयो।’ प्राप्त हुनु र आनन्दको अनुभूति हुनुमा फरक रहेको शाक्य सुनाउँछन्। चुरोटमा लागेको अन्तःशुल्कले आनन्दको अनुभूति दिलायो।

समस्याको समाधान वा विकल्प छ भने पनि एकोहोरिएर लाग्नुपर्ने शाक्य बताउँछन्। ‘ क्यान्सरका सबालमा  धेरै प्रश्न गरें। प्रश्न किन गरें भने समाधान वा विकल्प ठम्याएको थिएँ,’ शाक्यले सुनाए, ‘गर्न सकिन्छ भन्ने चुरो कुरो थाहा भएकाले आशावादी भइरहें। कर्मयोगीले दिमागको प्रयोग गर्नुपर्छ।’ कुनै बेला चुरोटका अम्मली शाक्य  स्वयम् भने चुरोटसँग सम्बन्धविच्छेद गरेका छन्।

शाक्यको एक पैसाको अवधारणा कार्यान्वयनपछि राज्यले करोडौं अन्तःशुल्क उठाइरहेको छ।  जसले भरतपुर र भक्तपुर क्यान्सर अस्पतालको निर्माण  र सञ्चालनमा सहयोग पुगेको छ। जहाँ क्यान्सरका  विशेषज्ञ डाक्टरहरूले सेवा दिइरहेका छन्। क्यान्सरका  बिरामीले समयमै उपचार गरेर आयु लम्ब्याउन सफल भएका छन्। एक पैसा अवधारणाको कार्यान्वयन  क्यान्सर उपचार र जनचेतनामा  कोसेढुंगा सावित भएको छ।


प्रकाशित : २०८० माघ २०, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप