सर्लाही, जेठ ३ गते । भारतको कश्मीर पुर्याएर बन्धक बनाइएका मजदुर बिहीबार नेपाल आइपुगेका छन् । सर्लाही, महोत्तरी र धनुषाका ३५ जना मजदुर बिहीबार बिहान सर्लाहीको मलङ्गवा नाका हुँदै नेपाल आइपुगेका हुन् ।
उनीहरुलाई मङ्गलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा उद्धार गरिएको थियो । कानुनी प्रक्रिया पूरा गरी सबैलाई बिहीबार नेपाल ल्याइएको हो । उद्धार गरिएका ३५ मध्ये १२ जना सर्लाहीको ईश्वरपुर नगरपालिकाका युवा रहेका नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।
१२ जना मुसहर (माझी) समुदायका हुन् । आफ्नो नगरभित्रका १२ जनासहित धनुषा र महोत्तरीका समेत गरी ३५ जनालाई नगरप्रमुख आचार्यले मलङ्गवा नाकामै पुगेर स्वागत गर्नुभएको छ । तीन वटै जिल्लाका मजदुरलाई बिहीबार दिउँसो ईश्वरपुर नगरपालिकाले कार्यालयमा ल्याएर सम्मानसहित आ–आफ्नो घर पठाएको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
ईश्वरपुर नगरपालिकाले मजदुरलाई उद्धार गरी ल्याउने कार्यमा अहम भूमिका निर्वाह गरेको भन्दै किन इण्डियाका निर्देशक नवीन जोशी, किन इन्डियाका कन्सुलर सृष्टी विष्ट र लक्ष्मी विष्ट र सामाजिक अभियन्ता सरोज रायलाई सम्मान पत्रसहित सम्मान गरेको छ ।
मजदुरीका लागि भनी भारतको कश्मिर पु¥याइएका मजदुर करिव तीन महिनादेखि बन्धक बनेका थिए । काम लगाइदिने भन्दै कश्मिर पु¥याएपछि आफूहरुमाथि कुटपीट गरी तलब नदिइ डर, धम्की देखाएर बन्धक बनाएर काममा लगाएको उद्धार गरिएका युवाले बताएका छन् ।
सर्लाहीसहित तराई क्षेत्रमा मुसहरसहित आर्थिक रुपमा कमजोर रहेका विभिन्न समुदायका युवालाई ललाइफकाइ भारतमा पु¥याएर निकै कम पारिश्रमिक दिएर अप्ठेरो काममा लगाउने गरिएको छ ।


समाचार


