रगतमा पाइने तर शरीरका लागि काम नलाग्ने तत्व युरिक एसिड हो । यसलाई न्यून, सामान्य र उच्च गरी तीन मात्रामा वर्गीकरण गरिन्छ । युरिक एसिड सामान्य रहँदा कुनै हानि गर्दैन तर मात्रा बढेमा शरीरमा समस्या देखिन सक्छ ।
युरिक एसिड शरीरमा कसरी उत्पन्न हुन्छ ?
शरीरमा प्युरिन भन्ने रसायन हुन्छ, जुन मेटाबोलिज्मको प्रक्रियामा टुक्रिंदा (ब्रेकडाउन) रगतमा यो एसिड निस्कन्छ । प्रोटिन आहारमा पाइने प्युरिन मेटाबोलिज्मपछि उत्पन्न हुने विकार तत्व हो । प्युरिन सामान्यतया हाम्रो शरीरले बनाउँछ र केही खानामा पनि पाइन्छ ।
युरिक एसिड सामान्यतया रगतमा घुलेर बसेको हुन्छ । त्यसलाई मिर्गौलाले छानेर पिसाब मार्फत शरीरबाट बाहिरिन्छ । तर मिर्गौलाले राम्रोसँग छान्न नसकेपछि पिसाबबाट बाहिरिन सक्दैन । फलस्वरुप, यसको निरन्तर वृद्धि भई ‘हाइपरयुरिसेमिया’को समस्या देखिन सक्छ । ‘हाइपरयुरिसेमिया’ भन्नाले शरीरमा युरिक एसिडको मात्रा अत्याधिक बढ्नु हो । जसले शरीरका अंगहरुमा क्षति पुर्याउन सक्छ ।
कति मात्रा सामान्य ?
महिला र पुरुषमा युरिनको स्तर फरक-फरक हुन्छ । रगत वा पिसाब परीक्षण गर्दा महिलामा युरिक एसिडको मात्रा १.५ देखि ६.० सम्म (मिलिग्राम प्रति डेसिलिटर) आउँछ भने यो सामान्य स्तर मानिन्छ । यता, पुरुषमा २.५ देखि ७.० (मिलिग्राम प्रति डेसिलिटर)सम्म सामान्य स्तर हो ।
महिला र पुरुषमा २४ घण्टाको पिसाब परीक्षणपछि २५० देखि ७५० मिलिग्राम स्तर देखिन्छ भने पनि सामान्य भन्न सकिन्छ । यद्यपि, कहिलेकाहीं प्रयोगशाला अनुसार शून्य वा एक-दुई संख्यामा घटबढ हुनसक्छ । तर यो संख्या भन्दा अलि धेरै माथि आएमा युरिक एसिड बढेको बुझिन्छ ।
कारण
युरिक एसिड उच्च हुने ठोस कारण स्पष्ट रूपमा यही हो भन्न सधैं सकिने अवस्था हुँदैन । यद्यपि, वातावरण र वंशाणुगत कारणलाई यो बढ्नुमा जिम्मेवार मानिन्छ ।
अन्य भनेको मेटाबोलिक सिन्ड्रोम, अत्याधिक मदिरा पिउनु, उच्च रक्तचाप, मधुमेह भएकामा पनि युरिक एसिड बढ्ने सम्भावना बढी हुन्छ ।
वंशाणुगत कारणले गर्दा युरिक एसिडको मेटाबोलिज्ममा असर गर्नाले सो एसिड फाल्न नसक्दा बढ्छ । त्यस्तै, प्युरिन भएका खानेकुरा तथा पेय जस्तै, रातो मासु, केही समुन्द्री खाना, च्याउ र प्रशोधित खानेकुराको बढी सेवनले पनि एसिडको मात्रा बढाउन सक्छ ।
पेयमा सबै प्रकारका मदिराले बढाउन सक्छ ।
रक्तअल्पता, रक्त क्यान्सर भएका बिरामी र केही औषधिको लगातार सेवनले पनि सो एसिड बढाउन सक्छ । मिर्गौला खराब भएकामा पनि पिसाबमा क्रियटिनिन बढेसँगै युरिक एसिड पनि बढ्दै जान सक्छ ।
मांसपेशी कुनै कारणवश क्षति भएमा बढ्न सक्छ । गर्भावस्थामा उच्चरक्त चाप र छारेरोग भएमा पनि एसिडको स्तर बढ्न सक्छ । ट्युमरको लागि केमोथेरापी लिंदा पनि कसैमा युरिक एसिडको मात्रा उच्च हुनसक्छ ।
युरिक एसिड वृद्धि हुँदा देखिने समस्या
यसको वृद्धि भएमा सबैभन्दा पहिला जोर्नीमा गएर बस्छ । जसले जोर्नीको संरचना र कार्यमा दखल दिई त्यही समस्या गराउँछ । र, जोर्नी दुख्ने र पोल्ने गर्छ ।
त्यस्तै, एसिडको मात्रा रगतमा एक सीमासम्म बढ्छ । र, त्यो सीमा कटेपछि थिग्रिएर ’क्रिस्टल’ (मणिभ) का रूपमा परिणत हुन्छ, जसलाई हामी पत्थरी भएको बुझ्छौं ।
यस्ता ’क्रिस्टल’ हातखुट्टाका टुप्पा, घुँडाका जोर्नी लगायतमा एसिड जम्न पुग्छ । जुन भागमा जम्छ त्यही भाग सुन्निने, रातो हुने, पोल्ने र दुख्ने लक्षण देखा पर्छन् । लक्षण देखिने प्रक्रियालाई युरिक एसिड बढेको भनिन्छ ।
लक्षण
उच्च वा कम युरिक एसिडको स्तर भएको व्यक्तिमा सधैं लक्षणहरू नदेखाउन सक्छ । कुनै व्यक्तिमा लामो समयसम्म सामान्य मात्राभन्दा बढी मात्रा नदेखिएसम्म लक्षणहरू देखा पर्दैन । युरिक एसिड बढ्दा देखिने लक्षणहरु यस्ता हुन्छन् ।
– जोर्नी दुख्नु र सुन्निनु
– जोर्नीको छालाको रङमा परिवर्तन देखिन सक्नु
– खुट्टाको बूढी औंला सुन्निनु वा दुख्नु
युरिक एसिडकै कारण पत्थरी बनेमा देखिने लक्षण
– ढाड दुख्नु
– पटक-पटक पिसाब आउनु
– पिसाबमा अनौठो खालको गन्ध हुनु र कहिलेकाहीं रगत देखिनु
– रिंगटा वा बान्ता हुनु
– कोखा दुख्नु
युरिक एसिडको मात्रा कम हुँदा देखिने लक्षण
– युरिक एसिड स्तर उच्चको तुलनामा स्तर न्यून हुनुको जोखिम सामान्य छ । युरिक एसिडको मात्रा कम भएका व्यक्तिले सामान्यभन्दा बढी पिसाब फेर्न सक्छन् । यस्तोमा पर्याप्त पानी नपिउँदा डिहाइड्रेसन हुन सक्छ ।
पहिचान तथा उपचार
युरिक एसिड परीक्षणका लागि केही मात्रामा पिसाब र रगतको नमुनाबाट लिइन्छ । यदि अन्य रोगको कारण युरिक एसिड बढेको शंका लागेमा अन्य परीक्षण पनि हुनसक्छ ।
सबैभन्दा पहिला लक्षणअनुसारको यसको उपचार गरिन्छ । साथै, एसिडको स्तर बढेर दुखाइ बढिरहेको छ भने दुखाइ निवारक र स्तर घटाउने औषधि दिइन्छ ।
युरिक एसिडको स्तर दीर्घकालीन रुपमा बढेको अवस्थामा यसलाई सन्तुलनमा राख्ने औषधिका साथै एसिडको मात्रा बढाउने उच्च प्रोटिन आहार कम खानुपर्छ । जस्तै- माछामासु, मदिरा, च्याउ, गालेको अचार, गेडागुडीहरु कम खानुपर्छ । यसको मतलब खाँदै नखानु भन्ने होइन । ठिक्क मात्रामा चिकित्सकको सल्लाहमा खानेकुरा खान सकिन्छ । युरिक एसिड बढ्न नदिन वा कम गर्न प्रशोधन नगरिएका वा कम प्रशोधित आहार तथा रेसादार फाइबरयुक्त खानेकुरालाई बढी जोड दिनुपर्छ ।