प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा चौथोपटक विश्वासको मत पाएका छन् । सोमवार दिउँसो प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको हो । मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिए ।
मतदानमा १५८ सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रचण्डले विश्वासको मत लिएका हुन् । उपेन्द्र यादवको पार्टी जसपा विभाजन भएपछि प्रचण्डले संसदमा चौथोपटक विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई उनको दल माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) अशोक राई पक्ष, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद-३ सांसदले विश्वासको मत दिए ।
संसद बैठक शुरू भएलगत्तै कांग्रेससहित विपक्षी दलहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरूले मानेनन् । बरु वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।
त्यसपछि शुरू भएको बैठकमा पनि कांग्रेससहितका विपक्षी दलहरूले नाराबाजी जारी राखेका थिए । विरोधबीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । त्यसपछि कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।


समाचार


