लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हाँसका लागि खोलामा सेवार खेती

भरतपुरको मेघौलीकी चमेली चौधरी आजभोलि दिनहुँजसो चारो खोज्न बजारतिर होइन, घर नजीकैको बेतरी खोलातिर जान्छिन्। दुई बाटा जति सेवार उखलेर ल्याउँछिन् र हाँसलाई खुवाउँछिन्। ३५ वर्षीया चमेली भन्छिन्, “हाँसको मुख्य आहारा नै खोलाबाट ल्याउने सेवार हो।”

चमेलीले ३० वटा हाँस पालेकी छन्। सेवारबाटै चाराको जोहो हुन्छ। उनीसँगै छरछिमेकीले पनि हाँसपालन गर्दै आएका छन्। सबैले पालेका हाँसको आहारा खोलाकै सेवार हो।

स्थानीय बासिन्दालाई वन्यजन्तुबाट जोगाउन र हाँसपालनमा लागेका महिलालाई सघाउन मेघौली मध्यवर्ती उपभोक्ता समितिले बस्तीसँगैको खोलामा सेवार रोपेको हो। निकुञ्जभित्रको खोलाबाट बीउ ल्याएर बेतरी खोलामा सेवार सारिएको मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरी बताउँछन्।

बेतरी खोलाबाट ल्याएको सेवार चाराका लागि काट्दै चमेली चौधरी।

यो खोला राप्ती-बेतरी, राधाकृष्ण र मालिका सामुदायिक वन हुँदै बग्छ। तीनै सामुदायिक वनको तीन ठाउँमा सेवार सारिएको छ। हाँस पाल्ने स्थानीयले खोलाबाटै सेवार ल्याउने गरेको अध्यक्ष मायाराम बताउँछन्। “जे लिन जंगल जाने हो, त्यही कुरा समुदायमा खेती गरिंदा जोखिम र दुर्घटना कम हुँदो रहेछ,” उनी भन्छन्।

सेवार लिन निकुञ्जभित्र जाँदा धेरै पटक स्थानीय बासिन्दा वन्यजन्तुको आक्रमणमा परेका थिए। कति पटक त निकुञ्जका कर्मचारीसँग झैझगडा भएको मायारामले देखेका छन्। त्यही भएर हाँसलाई खुवाउने दाना बराबरको काम गर्ने यो झारलाई सामुदायिक वनमा लगाउन अग्रसर भए उनी।

खोलामा सेवारको बीउ सारेपछि बिस्तारै फैलिंदै गएको छ। बेतरी खोलामा अधिक फस्टाएको छ। खुला ठाउँ हुँदै बगेको खोलाका अन्य खण्डमा पनि सेवार विस्तार भइरहेको उनी सुनाउँछन्। “घाम लाग्नेभन्दा पनि छाया पर्ने खोला क्षेत्रमा धेरै र छिटो फैलिंदो रहेछ,” मायाराम भन्छन्।

अहिले मेघौलीका २२ परिवारले हाँस पालेका छन्। उनीहरू सेवार टिप्न दैनिकजसो खोलामा जान्छन्। यसले सजिलो भएको चमेली चौधरी सुनाउँछिन्। “अहिले हाम्रो समय पनि बचेको छ, ज्यानको डर पनि छैन,” उनी भन्छिन्।

बेतरी खोलामा लगाएको सेवार।

चितवनमा बसोबास गर्दै आएका थारू समुदायले हाँसलाई पहिल्यैदेखि नै सेवार खुवाउँथे। चितवनमै जन्मेहुर्केका मायाराम चौधरीले बाबुबाजेको पालादेखि नै हाँसलाई सेवार खुवाएको सुनेका थिए। “खोलाबाट सेवार ल्याएर हाँसलाई खुवाउँदा फस्टाएछ, त्यसपछि त सबैले खुवाउन थालेछन्,” मायाराम भन्छन्, “अहिले त सबैले हाँसलाई सेवार खुवाउन थालेका छन्।”

२०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बनेपछि खोलामा गएर सेवार ल्याउनु गैरकानूनी भयो। त्योभन्दा पनि सेना र कर्मचारीलाई छलेर निकुञ्ज छिर्दा वन्यजन्तुको आक्रमणमा परिने डर उस्तै हुन्थ्यो। “गाउँलेलाई निकुञ्ज नजाओ भन्दा मान्दैनन्। पुरानो बानी छुट्न गाह्रो हुने नै भयो,” मायाराम भन्छन्, “जंगली जनावरको आक्रमणमा पर्ने डर हुन्थ्यो, सधैं।”

मानव-वन्यजन्तु द्वन्द्व रोक्न र संरक्षण प्रभावकारी बनाउन बेतरीका १० घर र अन्जनाघोलका १२ परिवारलाई हाँसपालनमा सघाइएको तराई भूपरिधि कार्यक्रमका क्लस्टर इन्चार्ज प्रेम पौडेल बताउँछन्। सहयोगबाट कसैले चल्ला हाले, कसैले खोर बनाए, कसैले हाँसपालनलाई चाहिने सरसामान किने।

त्यही सहयोग अन्तर्गत मेघौली मध्यवर्ती उपभोक्ता समितिको क्षेत्र अन्तर्गतका सामुदायिक वनमा सेवार पनि सारिएको हो। यसले स्थानीय बासिन्दालाई फाइदा भएको पौडेल सुनाउँछन्। “बोझो जस्तै एक पटक रोपेपछि सरर्र फैलिने सेवार खोलामा फस्टाउँदा दानाको खर्च जोगियो,” उनी भन्छन्, “यसले खोला पनि संरक्षण भएको छ।”

खोला सरसफाइ गर्दा सेवार पनि फस्टाउने गरेको छ। जसले गर्दा महिला समूहले समय समयमा खोला सफाइ गर्दै आएको छ। यसले खोला संरक्षणमा पनि सहयोग पुगेको स्थानीय चमेली चौधरी बताउँछिन्।

सेवारको चारो खाँदै हाँस।

अहिले पश्चिम तराईका थारू समुदायमा हाँसलाई सेवार खुवाउने चलन व्यापक बनेको छ। समुदायको रैथाने ज्ञान पनि संरक्षण हुने, जीविकोपार्जनमा पनि सघाउ पुग्ने भएकाले सेवार खेतीसँगै हाँसपालन प्रवर्द्धन गरिएको विश्व वन्यजन्तु कोषकी आरती रायमाझी बताउँछिन्। “स्थानीय बासिन्दा जे चिजबिज लिन निकुञ्ज जाने गर्छन्, त्यही कुरा गाउँठाउँमा खेती गरिंदा संरक्षणसँगै वैकल्पिक आयआर्जन पनि भएको छ,” रायमाझी भन्छिन्।

अहिले मेघौलीवासीले हाँस पालेर आर्थिक लाभ पनि लिइरहेका छन्। उनीहरूले स्थानीय प्रजातिको कालो हाँसे पालेका छन्। हरेक परिवारले कम्तीमा २० वटा हाँस पालेको महिला समूह अध्यक्ष चमेली चौधरी बताउँछिन्।

हाँस नबिक्ला भन्ने पीर छैन। मेघौलीमा भएका होमस्टे सञ्चालक घरमै हाँस लिन आउँछन्। भाले हाँसे दुई हजार रुपैयाँ र पोथी हाँस एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ।

चमेलीका श्रीमान् फर्निचरको काम गर्छन्। त्यसले घरखर्च चलाउन र दुई सन्तानलाई  विद्यालय पठाउन कठिनाइ भइरहेको थियो। हाँसपालनले दैनिकी चलाउन पनि सजिलो भएको उनी सुनाउँछिन्। “सन्तानलाई पढाउन र मीठोमसिनो खान पाइएको छ,” उनी भन्छिन्, “हाँस बढाउँदै लगेका छौं, भोलिका दिनमा राम्रै होला!”

 


प्रकाशित : २०८१ जेष्ठ ८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप